९ महिनामा सवा २ खर्बको निर्यात, १४ खर्ब ९० अर्ब रुपैयाँको आयात

गत वर्षको तुलनामा आयात १३.८२ प्रतिशत र निर्यात १८.४६ प्रतिशतले बढे पनि कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा मात्र १३.०१ प्रतिशत छ।

वैशाख ७, २०८३

सीमा तामाङ

Exports worth Rs 2.25 trillion, imports worth Rs 1.49 trillion in 9 months

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षको हालसम्म १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । चालु आर्थिक वर्षको ९ महिनामा २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

भन्सार विभागका अनुसार १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १३.८२ र निर्यात १८.४६ प्रतिशतले वृद्धि भएको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.०१ प्रतिशत छ भने आयातको हिस्सा ८६.९९ प्रतिशत छ । 

साउन-चैतमा सबैभन्दा बढी डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, फलामजन्य वस्तु, खाना पकाउने ग्यास, स्मार्टफोन, डाइमोनियम हाइड्रोजन फस्फेट, सुन, फर्टिलाइजर ग्रेडलगायत आयात भएको छ ।

कुल १ खर्ब ३ अर्ब ३१ करोड रुपैयाँको डिजेल, ९६ अर्ब ७२ करोड रुपैयाँको कच्चा भटमासको तेल, ५० अर्ब ३९ करोड रुपैयाँको पेट्रोल, ४२ अर्ब ६२ करोड रुपैयाँको फलामजन्य वस्तु, ४१ करोड ६४ लाख रुपैयाँको खाना पकाउने ग्यास, ३३ अर्ब ८२ करोड रुपैयाँको स्मार्टफोन, २४ अर्ब ८ करोड रुपैयाँको डाइमोनियम हाइड्रोजन फस्फेट, २३ अर्ब ५० करोड रुपैयाँको सुन, २२ अर्ब ३८ करोड रुपैयाँको फर्टिलाइजर ग्रेड आयात भएको छ ।  

निर्यात हुने वस्तुमा प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, सूर्यमुखीको बिउ र तेल, पाम तेल, ब्लीच नगरिएका फेब्रिक र जुट, अन्य फेल्टजन्य सामाग्रीलगायत छन् ।

विभागका अनुसार ९० अर्ब ७१ करोड रुपैयाँको प्रशोधित भटमासको तेल, १० अर्ब ७० करोड रुपैयाँको अलैंची, ७ अर्ब ४४ करोड रुपैयाँको गलैंचा, ६ अर्ब ९४ करोड रुपैयाँको सूर्यमुखीको बिउ र तेल, ५ अर्ब ९ करोड रुपैयाँको पाम तेल, ४ अर्ब ७९ करोड रुपैयाँको ब्लीच नगरिएका फेब्रिक र जुट, ३ अर्ब ९६ करोड रुपैयाँको अन्य फेल्टजन्य सामाग्री निर्यात गरिएको छ । 

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully