बजारमा केराको मूल्य प्रतिदर्जन २०० नाघेपनि किसानले अझै ५० रुपैयाँमै बेच्नुपरेको गुनासो गरेका छन् ।
What you should know
परासी — अहिले बजारमा केराको मूल्य प्रतिदर्जन १ सय ५० देखि २ सयसम्म पुगेको छ । बजारमा केराको मूल्य बढे पनि किसानले भने भाउ नपाएको गुनासो गरेका छन् ।
पश्चिम नवलपरासीको दक्षिणी भेगमा व्यवसायिक केरा खेती हुँदै आएको छ । कहिले रोगको प्रकोप, कहिले केरा बिक्री नभएर बगानमा नै कुहिने अवस्थाको सामना गरेका किसान अहिले राम्रो मूल्य पाउने आशामा रहेका थिए । यहाँ अहिले पनि ३५ देखि ५० रुपैयाँ प्रतिदर्जनमा मात्र ठूला व्यवसायीले खरिद गरिरहेका छन् ।
प्रतापपुरका सन्तोष कोहिरीले करिब २ बिगाहामा केरा खेती गरेका छन् । उनको मुख्य आम्दानीको स्रोत नै केरा खेती हो । ऋण लिएर खेती गरेका उनी भारतबाट केरा आयात रोकिएपछि उचित मूल्य पाउने आशामा थिए । तर अहिले बजारमा भइरहेको बिक्रि मूल्य र उनले आफूले पाएकाे मूल्यले छक्क परेका छन् ।
बजारमा १ सय ५० देखि २ सय रुपैयाँ पर्ने केरा खरिद गर्न आउने व्यापारीले उनलाई भने मुस्किलले ५० रुपैयाँ दर्जन मात्र मूल्य दिएका छन् । ‘बजारमा केराको मूल्य हामीले बिक्री गर्ने भन्दा चार गुणा बढी छ । तर , किसानले यस अगाडि पाउने मूल्य मात्र पाएको अवस्था छ,’ कोहिरि ले भने, ‘ बिचौलियाले तीन गुणा भन्दा बढी नाफा पाउने किसानलाई उचित मूल्य दिन आनाकानी गरेका छन् ।’
जिल्लाको प्रतापपुर र सुस्तामा केरा उत्पादनको जोन क्षेत्र तोकेको छ । तर, जोन क्षेत्रमा नै किसानको पीडालाई भने राज्यले सम्बोधन गर्न नसकेको केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए । ‘बजारमा मूल्य बढ्दा किसानले उत्पादन गरेको बस्तुको पनि मूल्य बढ्नु पर्ने हो । तर, किसानलाई अघिल्लो वर्षकै मूल्य दिएर बिचौलियाले नाफा कमाउने काम भयो,’ यादवले भने,‘कृषि क्षेत्रमा बिचौलिया मुक्त बनाउने तर्फ ध्यान दिनुपर्यो ।’ जिल्लामा करिब २ हजार बिगाहामा केरा खेती हुँदै आएको छ ।
उखु खेती गर्दै आएका यस क्षेत्रका किसान चिनी उद्योगले समयमा नै भुक्तानी नदिएपछि केरा खेतीतर्फ लागे पनि उचित मूल्य नपाउँदा निराश हुनुपर्ने अवस्था रहेको यादवले बताए।
