पानीको बोतल र जारको मूल्य बढाउने महासंघको निर्णय, आयोगको आपत्ति

पश्चिम एसियामा जारी तनावका कारण पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थको ४० प्रतिशतले मूल्य बढेपछि उपभोक्ता भने थप आर्थिक भारमा पर्ने भएका छन् ।

वैशाख ६, २०८३

सीमा तामाङ

Commission objects to Federation's decision to increase prices of water bottles and jars

What you should know

काठमाडौँ — पश्चिम एसियामा जारी तनावका कारण पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थको ४० प्रतिशत मूल्यवृद्धि भएपछि नेपाल पानी उद्योग महासंघले बोतल र जारको मूल्य समायोजन गर्ने भएको छ । महासंघले शनिबार विज्ञप्ति जारी गर्दै उद्योगीहरूलाई हाल कच्चापदार्थ तथा सञ्चालन लागतमा भएको मूल्यवृद्धिको अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गरी बिक्री वितरण गर्न आग्रह गरेको हो । 

पश्चिम एसियामा जारी तनावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुँदा त्यसका सहायक उत्पादनहरु पनि प्रभावित भएको छ । पानी उद्योगमा प्रयोग हुने बोटल, क्याप, र्‍यापिङ रोल, जार, जार क्याप लगायत कच्चा पदार्थहरूको ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।

कच्चा पदार्थ महँगो हुँदा जार एवं पानीको बोतलको मूल्य बढी हुने भए पनि पानीको मूल्य वृद्धि नहुने महासंघका अध्यक्ष विक्रम लिम्बू चेमजोङ बताउँछन् । तर, उपभोक्तालाई भने पानीको मूल्यवृद्धि भएको अनुभूति हुनेछ । 'जार र बोतलको मूल्य बढ्ने हो, पानीको होइन, तर उपभोक्ताले मूल्य पानीको तिर्ने हुँदा पानीको मूल्य बढेको अनुभव भने पक्कै हुन्छ,' उनले भने ।

पानीमा प्रयोग हुने कच्चा पदार्थ आयात गर्न तीन महिनादेखि प्रतित पत्र (एलसी) नखुलेको र मुलुकमा कच्चा पदार्थ मौज्दात नगन्य मात्रामा रहेकोसमेत महासंघले जनाएको छ । 'नेपाल पानी उद्योग महासंघ सम्पूर्ण सदस्य उद्योगीहरूलाई हाल कच्चा पदार्थ तथा सञ्चालन लागतमा भएको मूल्यवृद्धिको अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गरी बिक्री वितरण गर्न अनुरोध गर्दछ,' विज्ञप्तिमा उल्लेख छ ।

‍तर, महासंघले गत चैत ९ मै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जार/बोतल पानीको मूल्य समायोजन गर्न आग्रह गरेको छ । महास‌ंघले प्रतिबोतल काठमाडौं उपत्यकाभित्र २० रुपैयाँ र उपत्यकाबाहिर २५ रुपैयाँ बनाउन आग्रह गरेको हो । त्यस्तै, प्रतिजार ६० रुपैयाँ र उपत्यकाबाहिर ८० रुपैयाँ बनाउन आग्रह गरेको छ । 

महासंघका अनुसार देशभर प्रशोधित पिउने पानी उद्योग ६२० भन्दा बढी छन् । ती उद्योगमार्फत ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिँदै आएको र त्यसमा १६ अर्ब रूपैयाँभन्दा बढी लगानी रहेको महासंघले जनाएको छ । 

कच्चा पदार्थहरूको मूल्यमा करिब ४० प्रतिशतभन्दा बढीसम्म वृद्धि भएको, डिजेल तथा पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धिका कारण ढुवानी लागतमा उल्लेखनीय वृद्धि भएको, कच्चापदार्थ आपूर्तिमा असहजता उत्पन्न भएको कारण उद्योग सञ्चालन लागत अस्वाभाविक रूपमा बढेको महास‌ंघको ठहर छ । 

खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले महासंघ स्वयंले जार र बोतलको पानीको मूल्य तोक्न नपाउने जनाएको छ । महासंघ स्वयं र आयोग आफैंले पनि मूल्य तोक्न नमिल्ने आयोगका अध्यक्ष रुद्रप्रसाद गौतमले बताए ।

'महासंघले पनि आफूखुसी मूल्य तोक्न मिल्दैन, हामीले पनि यति मूल्यमा बेच्नु भनेर तोक्न मिल्दैन,' उनले भने, 'महासंघले एकिकृत रुपमा वा उद्योगीहरुले चालु खर्च, पुँजीगत खर्चलगायत कुल लागतसहितको प्रस्ताव आयोगमा पेस गर्नुपर्नेछ,' उनले भने, 'आयोगमा आएको प्रस्तावलाई जाँचबुझ गरी, उपभोक्ताको क्रयशक्तिलाई समेत ध्यानमा राखेर आयोगले मूल्य तोक्ने हो ।' महासंघले मूल्य तोकेमा कानुनसम्मत नहुने र प्रस्ताव नआई आयोगले समेत मूल्य तोक्न नसक्ने उनको भनाइ छ । 

खानेपानी तथा सरसफाई नियमावली २८२ को नियम ३७ को 'ख' अनुसार थोक खानेपानी खरिद-बिक्रीको दर निर्धारण गर्ने र 'ग' अनुसार ट्यांकर तथा बोतल पानीको अधिकतम बिक्री मूल्य निर्धारण गर्ने अधिकार आयोगलाई दिइएको छ । 

मुलुकमा २०७७ मा प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपसमिति नै बनाई पानीको मूल्यका विषयमा अध्ययन गरेको थियो । उक्त उपसमितिले जार र बोतलको पानीको मूल्य नै तोकेर प्रतिवेदन बुझाएको थियो । उक्त समितिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई समेत सोही अनुसार लागू गर्न निर्देशन दिएको थियो ।  

त्यसयता उपत्यकामा प्रतिजार अधिकतम ४७ रुपैयाँ र उपत्यका बाहिर ६० रुपैयाँ तोक्न निर्देशन दिएको छ । खुद्रा बिक्री मूल्य १६ रुपैयाँ र उपत्यका बाहिरको हकमा २० रुपैयाँ तोकिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पटकपटक उक्त मूल्यभन्दा बढी नलिन आग्रह गर्दै आएको छ । 

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully