एमच्याम नेपालको 'हाइड्रो-टु-डेटा' प्रस्तावले सस्तो, नवीकरणीय ऊर्जा प्रयोग गरेर एआई पूर्वाधार र क्रिप्टो माइनिङलाई नेपालमा आकर्षित गर्ने सम्भावना देखाएको छ।
What you should know
काठमाडौँ — नेपालस्थित अमेरिकन चेम्बर अफ कमर्स(एमच्याम नेपाल)को प्रतिनिधिमण्डलले यस साता वासिङ्टनमा अमेरिकी सरकारी निकाय र बहुपक्षीय संस्थाहरूसँगको विभिन्न चरणमा छलफल गरेको छ ।
ती छलफलमा नेपाललाई स्वच्छ ऊर्जामा आधारित डिजिटल पूर्वाधार विकासबारे कुराकानी भएको थियो । एमच्याम नेपालले नेपाललाई डेटा सेन्टर, कृत्रिम बुद्धिमत्ता (एआई) कम्प्युटिङ र क्रिप्टोकरेन्सी माइनिङका लागि गन्तव्यका रूपमा स्थापित गर्ने प्रस्ताव अघि सारेको छ ।
एमच्याम नेपालका संस्थापक अध्यक्ष अजितविक्रम शाह, मोघा इनर्जीका सीईओ सम्रथ मोगा तथा एमच्यामका कार्यकारी निर्देशक अमिरराज थापासहितको प्रतिनिधिमण्डलले अमेरिकी विदेश, वाणिज्य र ऊर्जा विभागका अधिकारीहरूसँगै यूएस ट्रेड एन्ड डेभलपमेन्ट एजेन्सी र यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन(डीएफसी)सँग भेटवार्ता गरेको थियो ।
‘हाइड्रो-टु-डेटा’ रणनीति नाम दिइएको समूहको उक्त प्रस्तावमा सस्तो र नवीकरणीय ऊर्जा खोजिरहेका ऊर्जा खपत बढी हुने उद्योगहरू-विशेषतः एआई पूर्वाधार कम्पनी र क्रिप्टो माइनिङ सञ्चालनलाई नेपालको बढ्दो विद्युत् उत्पादनले आकर्षित गर्न सक्ने बताइएको छ । यस प्रकारका उद्योगहरूले पश्चिमी मुलुकहरूमा बढ्दो नियामकीय तथा वातावरणीय दबाब सामनासमेत गरिरहेका छन्।
प्रतिनिधिमण्डलका अनुसार, यूएस ट्रेड एन्ड डेभलपमेन्ट एजेन्सीले यस्ता परियोजनाहरूका लागि सम्भाव्यता अध्ययनमा सहयोग गर्न सक्ने रुचि देखाएको छ। त्यस्तै, डीएफसीले डिजिटल तथा ऊर्जा क्षेत्रमा नेपाली उद्यमहरूका लागि वित्तीय संयन्त्रबारे छलफल गरेको थियो। तर कुनै पनि वित्तीय प्रतिबद्धता भने घोषणा गरिएको छैन।
प्रतिनिधिमण्डलले यूएस इनर्जी एसोसिएसनका मार्क डब्ल्यू. मेनेजेससँग आगामी ‘यूएस–नेपाल इनर्जी रोड सो’ आयोजना गर्ने विषयमा छलफल गरेको छ । जसको उद्देश्य नेपाली जलविद्युत् परियोजनालाई अन्तर्राष्ट्रिय लगानीकर्तासँग जोड्नु रहेको पनि प्रतिनिधिमण्डलले जनाएको छ। यसैगरी, यूएस चेम्बर अफ कमर्सका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष तथा राजदूत अतुल केशपसँग पनि भेटवार्ता भएको थियो। विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधिहरूसँग नियामकीय सुधार र परियोजना संरचनाबारे पनि छलफल गरिएको छ।
क्यापिटल हिलमा प्रतिनिधिमण्डलले नेपाल–केन्द्रित कंग्रेसनल ककस पुनःस्थापना गर्न आग्रह गरेको थियो।
एमच्याम नेपालले यस भ्रमणमार्फत नेपाली सरकारसँग एआई, क्रिप्टो र डाटा पूर्वाधार क्षेत्रमा स्पष्ट नीति निर्माण र नियामकीय अवरोध घटाउन आग्रह गरेको छ। यस्ता क्षेत्रहरूले नेपालले हाल निर्यात गर्न कठिन भइरहेको अतिरिक्त विद्युत् उत्पादन उपयोग गर्न सक्ने संस्थाको भनाइ छ।
हाल कार्यान्वयनमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को प्रसारण पूर्वाधार परियोजनाले भविष्यमा ऊर्जा निर्यात र घरेलु डिजिटल अर्थतन्त्र विकासलाई सहयोग पुर्याउने पनि एमच्याम नेपालले जनाएको छ ।
