विश्वका ठूला अर्थतन्त्रहरूमा दुई स्थान झरेर छैटौंमा पुग्यो भारत: आईएमएफ

आईएमएफले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार भारत चौथोबाट छैटौं स्थानमा झरेको छ, डलर बलियो र भारु कमजोर हुँदा असर परेको छ ।

वैशाख ५, २०८३

कान्तिपुर संवाददाता

India drops two places to sixth among world's largest economies: IMF

What you should know

काठमाडौँ — अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार भारत विश्वका ठूला अर्थतन्त्रहरूमा छैटौं स्थानमा झरेको छ । अघिल्लो वर्ष चौथो स्थानसम्म पुगेको भारत यसपटक अमेरिकी डलरमा गणना गरिने कुल गार्हस्थ उत्पादन (जीडीपी)का आधारमा तल झरेको हो । 

अमेरिकी डलर बलियो हुनु, भारतीय रुपैयाँ निरन्तर कमजोर बन्दै जानु र भारतले जीडीपीको आधार वर्ष संशोधन गरेकाले यस्तो गिरावट देखिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । हाल अमेरिका, चीन, जर्मनी, जापान र बेलायत भारतभन्दा अगाडि छन् ।

सन् २०२२ को सेम्प्टेम्बरमा भारतले बेलायतलाई उछिन्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको थियो । भारतले द्रुत आर्थिक विकासको यात्रा तय गरिरहँदा त्यो बेला जर्मनी र जापानमा विद्यमान आर्थिक सुस्तताका कारण भारतले सन् २०२९ सम्ममा यी दुवै अर्थतन्त्रलाई जितेर तेस्रो स्थानमा आइपुग्ने अनुमान गरिएको थियो । तर, भारतले जर्मनीलाई उछिन्नुअघि नै जर्मनीले जापानलाई उछिनेको छ । 

इन्डियन एक्स्रपेसका अनुसार गत वर्ष मेमा नीति आयोगका प्रमुख बीभीआर सुव्रमन्यमले जापानलाई उछिनेर भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको घोषणा गरेका थिए । तर, त्यसपछि तेस्रो स्थानमा आउने आशा गरिए पनि यसपालि दुई स्थान खस्किएर छैटौं बनेको छ ।      

आईएमएफको अनुमानअनुसार विश्वको सबैभन्दा ठूलो, अमेरिकी अर्थतन्त्र करिब ३१० खर्ब डलरको छ भने दोस्रो स्थानमा रहेको चीनको अर्थतन्त्र २०० खर्ब डलरभन्दा बढी छ । जर्मनी करिब ५० खर्ब अमेरिकी डलरका साथ तेस्रो स्थानमा र जापान करिब ४४ खर्ब अमेरिकी डलरसहित चौथो स्थानमा छ । बेलायत करिब ४३ खर्ब अमेरिकी डलरसहित पाँचौँ स्थानमा उक्लिएको छ ।

ठूला अर्थतन्त्रको शीर्ष १० मा फ्रान्स, इटाली, क्यानडा र ब्राजिल पनि छन् । प्रतिव्यक्ति राष्ट्रिय आयमा भने युरोपेली देश अगाडि छन् । लिचेन्सटाइन, लक्जेम्बर्ग, आयरल्यान्ड, स्वीजरल्यान्ड, आइसल्यान्ड, सिंगापुर, नर्वे, अमेरिका, कतार र सान मारिनो यो सूचीमा छन् । यस अवधिमा अमेरिकी अर्थतन्त्र स्थिर देखिँदा युरोपका केही अर्थतन्त्र, विशेष गरी जर्मनी, सुस्ताएका छन् भने केही उदीयमान अर्थतन्त्रले मिश्रित प्रदर्शन गरेका छन् ।

आईएमएफले विश्व अर्थतन्त्रको वृद्धि असमान रहेको उल्लेख गर्दै युद्धलगायत विविध कारणले विश्वव्यापी वृद्धि मध्यम रहने जनाएको छ । मुद्रास्फीति, भूराजनीतिक तनाव र कडा वित्तीय अवस्थाले जोखिम बढाएको पनि संस्थाको पछिल्लो विश्लेषण रहेको छ । वर्ष २०२६ मा विश्वव्यापी मुद्रास्फीतिमा मध्यम वृद्धि आउने र आर्थिक वृद्धिदर ३.१ प्रतिशत रहने आईएमएफको आकलन छ । 

नेपालको अर्थतन्त्र आईएमएफको अनुमानअनुसार करिब ४६ अर्ब अमेरिकी डलरको हाराहारीमा रहेको छ । आर्थिक वृद्धि ३ प्रतिशत रहने अपेक्षा गरिएको छ । नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय १५५० अमेरिकी डलर हाराहारीमा रहँदा घरेलु उतार- चढाव र विश्वव्यापी अस्थीरताबीच नेपाललको पुनरुत्थान सुस्त रहने संकेत देखिएको संस्थाको ठहर छ ।

कान्तिपुर

Link copied successfully