राजीनामाका लागि श्रेष्ठ अहिले अर्थ मन्त्रालयमा
काठमाडौँ — नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा अध्यक्ष श्रेष्ठले आफूले राजीनामा दिने जानकारी दिएको स्रोतले बताएको छ । ‘सरकारको आग्रह तथा नीतिअनुसार अध्यक्षज्यूले पद छोड्ने निर्णयमा पुगेको अनौपचारिक जानकारी बैठकमा दिनुभएको छ,’ बैठकमा उपस्थित धितोपत्र बोर्डका एक सञ्चालकले भने, ‘आज अथवा भोलिसम्म राजीनामा बुझाउने कुरा बताउनुभएको छ ।’
धितोपत्र बोर्ड सञ्चालक समितिको बैठक सकेलगत्तै अध्यक्ष श्रेष्ठ सिधै अर्थ मन्त्रालय पुगेका छन् । बोर्ड अध्यक्षले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सह–सचिवमार्फत अर्थमन्त्रीलाई राजीनामा बुझाउनु पर्छ । अहिले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख महेश आचार्य देश बाहिर रहेकाले अध्यक्ष क्षेत्रले सिधै अर्थमन्त्री समक्ष राजीनामा दिने बुझिएको छ । स्रोतकाअनुसार श्रेष्ठ अहिले अर्थ मन्त्रालयमै छन् । तर, उनको राजीनामा आए/नआएकोबारे अझै अर्थ मन्त्रालयबाट पुष्टि भइसकेको छैन ।
१० मंसिर २०८१ मा सरकारले श्रेष्ठलाई नियुक्त गरेको थियो । करिब डेढ वर्षमा अध्यक्ष श्रेष्ठले राजीनामा दिन लागेका हुन् ।
