एक वर्षमा ६ करोड ३५ लाख रुपैयाँ विद्युतीय सेवा कर संकलन *

ठूला करदाता कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ४ करोड ८९ लाख ९५ हजार रुपैयाँ विद्युतीय सेवा कर संकलन भएकोमा गत आव २०८१/८२ मा यो बढेर ६ करोड ३५ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

वैशाख ४, २०८३

सजना बराल

Rs. 63.5 million electronic service tax collected in a year *

What you should know

काठमाडौँ — नेपालमा सक्रिय विदेशी प्रविधि कम्पनीहरूले यहाँ गर्ने कारोबारबापत बुझाउनुपर्ने करको हिस्सा पछिल्लो आर्थिक वर्षमा बढेको पाइएको छ । ठूला करदाता कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ४ करोड ८९ लाख ९५ हजार रुपैयाँ विद्युतीय सेवा कर संकलन भएकोमा गत आव २०८१/८२ मा यो बढेर ६ करोड ३५ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।*

गुगल, मेटा, टिकटक, नेटफ्लिक्स, एडोबीजस्ता ठूला कम्पनीहरूले बुझाउने डिजिटल सर्भिस ट्याक्स वा विद्युतीय सेवा कर आव २०७९/८० मा ५ करोड ६९ लाख रुपैयाँ संकलन भएको थियो । कार्यालयको तथ्यांकअनुसार आव २०८०/८१ मा १९ वटा विदेशी प्रविधि कम्पनीहरूले कुल ५ करोड ६९ लाख रुपैयाँ डिजिटल सेवा कर बुझाएका थिए ।

हाल कर प्रयोजनका लागि नेपालमा २२ वटा ठूला विदेशी प्रविधि कम्पनीहरू दर्ता भइसकेका छन् । आर्थिक ऐन २०८२ अनुसार नेपालमा रहेका प्रयोगकर्ताहरूलाई विद्युतीय सेवा (डिजिटल सर्भिस) उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति वा कम्पनीहरूले नेपालको कर प्रणालीमा दर्ता भई प्यान नम्बर लिएर वार्षिक रूपमा डीएसटी र मासिक रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउनुपर्छ ।  

वार्षिक ३० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने विदेशी प्रविधि कम्पनीहरू मात्र यो करको दायरामा पर्छन् । गैरबासिन्दा व्यक्तिले नेपालमा विद्युतीय सेवा उपलब्ध गराएबापत प्राप्त गरेको कुल कारोबार मूल्यमा २ प्रतिशतका दरले विद्युतीय सेवा कर लाग्छ । नेपालका बासिन्दा वा कम्पनीहरूलाई भने यो कर आकर्षित हुँदैन । साथै, नेपालमा रहेका व्यावसायिक प्रयोगकर्ताहरूलाई व्यावसायिक प्रयोजनका लागि उपलब्ध गराइएको सेवाको कारोबार मूल्यमा पनि यो कर लाग्दैन । सुरुवाती व्यवस्थामा वार्षिक २० लाख रुपैयाँभन्दा बढीको कारोबारमा २ प्रतिशत डिजिटल सेवा कर लाग्ने प्रावधान रहे पनि आर्थिक ऐन २०८१ मार्फत सरकारले सो सीमा (थ्रेसहोल्ड) लाई बढाएर वार्षिक ३० लाख रुपैयाँ पुर्‍याएको थियो ।

डिजिटल सेवा कर तिर्नुपर्ने विदेशी प्रविधि कम्पनीहरूले नेपालमा मासिक रूपमा दाखिल गर्ने भ्याट रकम भने बढिरहेको छ । आव २०७९/८० मा ८ वटा विदेशी कम्पनीले कुल ९ करोड १७ लाख रुपैयाँ भ्याट जम्मा गरेका थिए । आव २०८०/८१ मा १८ वटा कम्पनीले कुल ३५ करोड ८५ लाख रुपैयाँ भ्याट बुझाए भने आव २०८१/८२ मा १९ वटा कम्पनीबाट कुल ४२ करोड ६५ लाख रुपैयाँ भ्याट संकलन भएको ठूला करदाता कार्यालयको तथ्याङ्क छ । पछिल्लो समय थप ३ वटा कम्पनी दर्ता भएसँगै नेपालमा करको दायरामा आएका विदेशी डिजिटल कम्पनीहरूको कुल संख्या २२ पुगेको छ ।  

आर्थिक ऐन र विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०८२ ले प्रयोगकर्तालाई सेवा प्रदान गर्नका लागि सूचना प्रविधि अत्यावश्यक पर्ने र न्यूनतम मानवीय हस्तक्षेपमा स्वचालित रूपमा इन्टरनेटमार्फत प्रदान गरिने सेवाहरूलाई विद्युतीय वा डिजिटल सेवाका रूपमा परिभाषा गरेको छ । यसअन्तर्गत चलचित्र, संगीत, ओटीटी सेवा, तथ्यांक संग्रह, क्लाउड सेवा, गेमिङ सेवा, मोबाइल एप्लिकेसन, सफ्टवेयर आपूर्ति, अनलाइन मार्केटप्लेसदेखि टार्गेटेग विज्ञापनसमेत पर्छन् । 

‘यो कर व्यवस्था नेपालका लागि नयाँ विषय भएकाले कम्पनीहरूले बाहिरबाट अनलाइनमार्फत हालेको विवरणलाई नै अहिले आधार मानिएको छ,’ ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासन केदारनाथ शर्माले भने, ‘उनीहरूले बुझाएको विवरण ठीक छ वा छैन भन्नेबारे अहिले भेरिफिकेसन भइरहेको छ ।’ 

कम्पनीहरूले कसरी कर दाखिला गरिरहेका छन् र उनीहरूको वास्तविक प्रणाली के हो भन्ने बुझ्नका लागि नेपालस्थित स्थानीय प्रतिनिधि र एजेन्सीहरू खोज्ने तथा उनीहरूसँग सम्झौताका कागजपत्र माग्ने काम भइरहेको शर्माले जानकारी दिए । यी कम्पनीहरूको मुख्य कृयाकलपा र कार्यालय विदेशमा हुने भएकाले उनीहरूले त्यहीँबाट रकम दाखिला गर्ने र यहाँबाट त्यसको भेरिफाई गर्न केही समय लागेको उनले बताएका छन् । 

कार्यालयकै सूचना अधिकारी सीता बर्तौलाका अनुसार डिजिटल कम्पनीहरू बीचको मर्जरले पनि कर संकलनमा प्रभाव पारेको छ । ‘कतिपय कम्पनीहरूले आपसमा गाभिएको जानकारी दिँदै हामीलाई निवेदन लेखेका छन्,’ उनले भनिन्, ‘नयाँ दर्ता हुने क्रम जारी रहे पनि उनीहरूले हालसम्म उल्लेखनीय कर बुझाएका छैनन् । केहीले भने डिजिटल सेवा कर मात्र बुझाएर भ्याट नतिर्ने प्रवृत्ति पनि देखिएको छ ।’ भिडियो सेयरिङ एप टिकटकले पछिल्लो समय भ्याट तिर्न अस्वीकार गरिरहेको छ । 

२०७९ मा महालेखापरीक्षकको ५९ औं प्रतिवेदनले युट्युब, टिकटक, गुगल मिट, जुम, माइक्रोसफ्ट टिमजस्ता एप्लिकेसन प्रयोगमा हुने भुक्तानीबाट राज्यको ठूलो धनराशि विदेशिएको औंल्याएको थियो । ती एप्लिकेसनले नेपालमा सेवा दिने भएकाले करको स्रोतको सिद्धान्तका आधारमा सो कारोबार विदेशबाट सञ्चालन भए पनि नेपालमा कर तिर्नुपर्ने प्रतिवेदनमा उल्लेख थियो । महालेखाले औंल्याएअनुसार आन्तरिक राजस्व विभागले २२ असार २०७९ मा विद्युतीय सेवा करसम्बन्धी कार्यविधि र गैरबासिन्दा व्यक्तिले प्रदान गर्ने विद्युतीय सेवामा मूल्य अभिवृद्धि करसम्बन्धी कार्यविधि जारी गरेको थियो । 

त्यसयता विदेशी प्रविधि कम्पनीहरूले डिजिटल सेवा कर तिर्न थालेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने डिजिटल सेवा करविरुद्ध निकै आक्रामक रूपमा प्रस्तुत हुँदै आएका छन् । अधिकांश प्रविधि कम्पनी अमेरिकी भएकाले उनले सन् २०२५ को फेब्रुअरिमा मेमोरेन्डम जारी गर्दै डिजिटल सेवा कर लगाउने देशहरूविरुद्ध कडा कदम चाल्ने घोषणा नै गरेका थिए । पछिल्लो पटक उनले यसलाई ‘अमेरिकी प्रविधि र आविष्कारको शोषण’ वा ‘फिरौती’ को रूपमा व्याख्या गरेका थिए । उनले अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) लाई डिजिटल कर लगाउने देशहरूको सूची तयार पार्न र उनीहरूमाथि ‘सेक्सन ३०१’ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

ट्रम्पको दबाबका कारण क्यानडाजस्ता देशहरूले हालै आफ्ना डिजिटल सेवा कर फिर्ता लिने वा संशोधन गर्ने निर्णय गरेका छन् । अमेरिकाले नेपालको डिजिटल सेवा करलाई पनि ‘अनुचित’ मान्यो भने नेपालबाट अमेरिका निर्यात हुने कार्पेट, तयारी पोसाकलगायत वस्तुमा थप भन्सार शुल्क लाग्ने जोखिम रहन्छ।

तथापि, नेपालको डिजिटल बजार सानो भएकाले अमेरिकाले सुरूमै नेपाललाई लक्षित गर्ने सम्भावना कम रहेको यो क्षेत्रलाई नियाल्नेहरू बताउँछन् । ट्रम्पको नीति मुख्यतया युरोपेली संघ, क्यानडा र ठूला अर्थतन्त्र भएका देशहरूतर्फ लक्षित भए पनि नेपाल त्यसकै घानमा पर्नसक्ने सम्भावना रहन्छ ।

भूलसुधार

  • यसअघि प्रकाशित ‘नेपालमा गुगल, मेटा, नेटफ्लिक्सले तिर्ने डिजिटल कर घट्यो’ शीर्षकको समाचारमा ठूला करदाता कार्यालयबाट प्राप्त तथ्यांक प्राविधिक त्रुटि भएकाले यो भूलसुधार गरिएको छ । कार्यालयले पहिले उपलब्ध गराएको विवरणमा डिजिटल सेवा कर (डीएसटी) संकलन घटेको देखिए पनि पछि कार्यालय स्वयंले उक्त विवरण सच्याउँदै कर संकलन बढेको जानकारी दिएको छ । 

    आर्थिक वर्ष २०८०/८१ मा कार्यालयको पछिल्लो तथ्यांकअनुसार उक्त वर्ष ४ करोड ८९ लाख ९५ हजार रुपैयाँ संकलन भएको थियो भने आव २०८१/८२ मा राजस्व संकलन बढेर ६ करोड ३५ लाख ४२ हजार रुपैयाँ पुगेको ठूला करदाता कार्यालयका प्रमुख केदारनाथ शर्माले जानकारी दिए । 

    यसरी हेर्दा नेपालमा डिजिटल सेवा करको ग्राफ ओरालो लागेको नभई अघिल्लो वर्षको तुलनामा थपिएको छ । कर्मचारीले विवरण हेर्दा फाइल अर्कै परेको हुनसक्ने शर्माले औँल्याए । कार्यालयले सुरूमा ‘कम्पनीहरूको मर्जर’ र ‘सिलिङमा भएको परिवर्तन’ लाई कर घट्नुको कारण बताए पनि वास्तविक तथ्यांकले संकलनको अवस्था बलियै रहेको पुष्टि गरेको छ । कार्यालयले उपलब्ध गराएको गलत सूचनाका कारण पाठकमा पर्न गएको भ्रमप्रति क्षमायाचना गर्दै यो विवरण सच्याइएको छ ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully