किन बढ्यो केराको मूल्य ?

केही समययता हरेक दिनजसो केराको मूल्य बढी रहेको छ । अघिल्लाे दिन किनेको मूल्यमा भाेलिपल्ट पाउन मुस्किल छ । खुद्रा बजारमा प्रतिदर्जन २५० देखि ३५० रुपैयाँसम्ममा किन्न उपभाेक्ताहरू बाध्य छन् ।

वैशाख ४, २०८३

सीमा तामाङ

Why did the price of bananas increase?

What you should know

काठमाडौँ — एक दर्जन केरालाई अचेल तपाईंले कति रुपैयाँसम्ममा किनिरहनु भएको छ । २००, २१०, २२०, २२५ वा अझै बढी । केही समययता हरेक दिनजसो केराको मूल्य बढी रहेको छ । अघिल्लाे दिन किनेको मूल्यमा भाेलिपल्ट पाउन मुस्किल छ । खुद्रा बजारमा प्रतिदर्जन २५० देखि ३५० रुपैयाँसम्ममा किन्न उपभाेक्ताहरू बाध्य छन् । 

कतिपय खुद्रा पसलेहरू यसरी मूल्य बढ्दा पनि पर्याप्त केरा नपाइने गरेको बताउँछन् । मातातिर्थ औंसीका कारण पो अभाव भएको हुनसक्ने उनीहरू अनुमान गर्छन् । तर, यसपटक केराको मूल्य फागुनदेखि निरन्तर बढिरहेको छ । ‌औंशीका कारण मात्र नभई केरा आयातमा लागेको प्रतिबन्ध मूल्य वृद्धिको प्रमुख कारण हो । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले पनि २०८१ को माघ, फागुन, चैत र २०८२ को माघ, फागुन, चैतमा केराको मूल्य वृद्धि भएको देखाउँछ ।

१ वैशाख २०८२ र १ वैशाख २०८३ को तुलनामा मात्रै  केराको मूल्य दर्जनमा ५० प्रतिशतले बढेको छ । थोक बजारमै केराको मूल्य दर्जनमा ५० प्रतिशतले वृद्धि भएको हो । १ वैशाख २०८२ मा कालिमाटी थोक बजारमा प्रतिदर्जन औसत १५० रुपैयाँमा कारोबार भएको थियो । १ वैशाख २०८३ मा औसतमा २२५ रुपैयाँमा कारोबार भएको छ । 

केरा प्रतिदर्जन औषत मूल्य २२ माघदेखि ९ चैतसम्म १४५ रुपैयाँ, १० चैत २०८१ देखि ३ वैशाख २०८२ सम्म १५० रुपैयाँ थियो । तर,  २६ र २७  माघ २०८२ मा १८० रुपैयाँ  पुगिसकेको थियो । २७ र २८ फागुनमा १८५  रुपैयाँ र  २९ फागुनदेखि २ चैत २०८२ सम्म १९० रुपैयाँ थियो । 

३ चैतमा १९५, ४ चैतमा २१०, ५ चैतमा २०२, ६ चैतमा २०५, ७ चैतमा २००, ८ चैतमा २१०, ९ र १० चैतमा २०० र  ११ -२८ चैतसम्म २१० रुपैयाँ पुगेको थियो । २९ चैतमा २२५, ३० चैतमा २२० र १ वैशाख २०८३ मा थोक बजारमै केराको मूल्य प्रतिदर्जन औषत २२५ रुपैयाँ पुगेको छ । Why did the price of bananas increase?

थोक बजारमै महंगिनुको कारण भनेको उपभोक्ताको मागअनुसार केरा आपूर्ति नहुनु हो । २ असोज २०८२ यता प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले केरा आयात गर्न नयाँ प्रवेश अनुमतिपत्र जारी गरेको छैन । त्यसकारण बजारमा केराको मागअनुसार आपूर्ति गर्न नसकेको व्यापारीहरू बताउँछन् ।

ट्रोपिकल रेस–४ (टीआर–४) रोगको जोखिमका कारण आयात अनुमतिपत्र जारी नगरेको प्लान्ट क्वारेन्टाइनका सूचना अधिकारी रोशन अधिकारीले बताए । ‘टीआर-४ रोग ढुसीजन्य हो, चितवनमा देखिसकेको छ, त्यसलाई हामीले बोट नै खनेर गाड्यौं, यसले भयावह अवस्था सिर्जना गर्न सक्छ,’ उनले भने, ‘यसबारे थप अध्ययन गरिरहेका छौं ।’ औपचारिक रुपमा आयात गर्न नपाइए पनि अनौपचारिक रुपमा आयात हुने केराको हकमा सूचना पाएसम्म  कानुनी प्रक्रियाअनुसार नष्ट गरेको उनले बताए ।

जैविक सुरक्षाका लागि पनि केरा आयातमा नयाँ अनुमतिपत्र जारी रोकेको उनको भनाइ छ । ‘पहिला केरा आयात सहज रुपमा हुन्थ्यो, यसपटक आयात हुन नपाएपछि मूल्य वृद्धि भएको हुनसक्छ,’ उनले भने । 

भन्सार विभागको तथ्यांकले पनि केरा आयात घटेको देखाउँछ । गत आर्थिक वर्षको ८ महिनामा १ अर्ब १५ करोड २२ लाख ८६ हजार रुपैयाँ बराबरको २ करोड ८० लाख २८ हजार ३८६ किलो केरा आयात भएको थियो । 

चालु आर्थिक वर्षको ८ महिनामा ७६ करोड ५५ लाख ६ हजार रुपैयाँको १ करोड ९४ लाख ३९ हजार २४१ किलो मात्रै केरा आयात भएको छ । केरा आयात नहुँदा उपभोक्ताको माग पुरा हुन नसकेको र त्यसको प्रभाव मूल्यवृद्धिमा देखिएको छ । तर, क्वारेन्टाइनले 'टिआर-४' नामक रोग भित्रिने डर देखाएर भारतीय केराको आयात रोकेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौँका अध्यक्ष  अमर बानियाँ बताउँछन् ।

क्वारेन्टाइनले 'टिआर-४' नामक रोग भित्रिने डर देखाएर भारतीय केराको आयात रोकेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौँका अध्यक्ष  अमर बानियाँ बताउँछन् ।भन्सार तिरेर आउँदा रोग भित्रिने तर अवैध बाटोबाट लुकिछिपी आउँदा रोग नभित्रिने तर्कसंगत नभएको बानियाँको दाबी छ । ‘अहिले पनि बजारमा अवैध रुपमा भित्रिएको केरा जताततै छ,’ उनले भने, ‘हामीले ल्याएनौं । तर, मौका हेरेर गैरव्यवसायीहरूले केरा ल्याएर बेचिरहेका छन् ।’

पहिले १०० रुपैयाँ प्रतिदर्जन पाइने केरा अहिले ३०० देखि ३५० रुपैयाँसम्म पुगेको बानियाँको भनाइ छ । नेपाली खानयोग्य भइनसकेका केरा उपभोक्ताले महँगो मूल्यमा किन्नुपरिरहेको उनको भनाइ छ । ‘बजारमा देखिने मोटा केराहरू सबै अवैध हुन्, किनभने नेपाली केरा अहिले त्यो आकारमा उत्पादन भइरहेको छैन,’ उनले भने । नेपाली उत्पादनले ३-४ महिना (भदौ-मंसिर) मात्र बजार धान्न सक्ने उनको बुझाई छ । बाँकी समयमा बजारको मागअनुसार आयात खोल्नुपर्ने उनको तर्क छ ।

व्यवसायीहरू भदौदेखि म‌ंसिरसम्म मात्र आन्तरिक उत्पादनले माग धान्ने बताए पनि केरा उत्पादकहरू भने वैशाख, जेठ र असारमा मात्रै समस्या हुने अन्य समयमा आन्तरिक उत्पादन नै पर्याप्त रहने बताउँछन् । वैशाख, जेठ र असार नेपाली केराको 'अपुग' समय रहेको नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले बताए । 

‘वैशाखदेखि असारसम्म गर्मीले गर्दा खपत बढी हुन्छ र  उत्पादन कम हुने भएकाले मूल्य वृद्धि हुन्छ,’ उनले भने, ‘अरु बेला भारतीय केरा आउने भए पनि यसपालि औपचारिक रुपमा आएको छैन । तर पनि किसानले बेच्ने केराको मूल्यमा धेरै बढेको छैन ।’

८० रुपैयाँ दर्जनमा आफैले बेचेको केरा चितवनकै टाँडीमा १८० रुपैयाँमा किन्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।  यो ठूलो अन्तरलाई सरकारले बजार अनुगमनमार्फत नियन्त्रण गर्नुपर्ने उनी बताउँछन् ।’ कुल मागको ३० प्रतिशत केरा आयात नै गर्नुपर्ने अवस्था रहेको पन्तले नै स्वीकारे गरे ।

केरामा आत्मनिर्भर हुनुपर्छ भनेर किसानहरूले बाह्रै महिना पुर्‍याउने गरी केरा लगाइसकेको पन्तको भनाइ छ । अर्को वर्षदेखि त्यस्तो समस्या नहुने समेत उनले दाबी गरे । उपभोक्तालाई महंगो भएको बहानामा व्यवसायीहरूले केरा आयात खुलाउन खोजेको समेत उनको आरोप छ । 

तर, किसानले बढाएका छैनन् मूल्य

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम व्यवस्थापन एकाईका वरिष्ठ योजना अधिकृत इन्द्र शर्मा ढुंगानाले १२ देखि १४ प्रतिशत मात्रै आयात गर्नुपर्ने बताए । गत आर्थिक वर्ष ३ लाख ८२ हजार टन केरा आन्तरिक उत्पादन र ५६ हजार टन आयात गरिएकोसहित गरी ४ लाख ४० हजार टन केरा मुलुकमा खपत भएको तथ्यांक छ । यसरी हेर्दा १२ देखि १४ प्रतिशत मात्रै आयात गर्नुपर्ने अवस्था छ । 

अहिले उत्पादन कम र खपत बढी हुँदा समस्या देखिएको ढुंगानाले बताए । अबको २० देखि २५ दिनमा चितवनका मालभोग केरा बजारमा आउने भएकाले समस्या कम हुने उनको भनाइ छ । बजारमा केराको अभाव र चर्को मूल्यवृद्धि देखिए पनि किसानहरूले भने मूल्य नबढाएको उनको भनाइ छ । अहिले किसानहरूले ६० देखि ८० रुपैयाँ प्रतिदर्जनमा बिक्री गरिरहेको उनले दाबी गरे । 'किसानहरूले मूल्य बढाएका छैनन्, बरु बजारमा अभाव देखाएर अरुले नै मूल्य बढाएका छन्,' उनले भने ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully