२०६५ सालबाट निर्माण थालिएको सडकको ट्रयाक खोल्ने काम पूरा भएको छ । तर, यसको विस्तार, स्तरोन्नति र कालोपत्रको काम सुस्त गतिमा छ ।
What you should know
अर्घाखाँची — यहाँ निर्माणाधीन सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन सकेको छैन । १८ वर्षमा उक्त सडकको ४४ प्रतिशत मात्रै काम सकिएको छ । २०६५ सालबाट निर्माण थालिएको सडकको ट्रयाक खोल्ने काम पूरा भएको छ । तर, यसको विस्तार, स्तरोन्नति र कालोपत्रको काम सुस्त गतिमा छ ।
यस सडकको लम्बाइ १ सय ९७ किलोमिटर छ । अहिलेसम्म ३६ किलोमिटर मात्र कालोपत्र गरिएको सडक आयोजना प्रमुख इन्जिनियर गगालबहादुर भण्डारीले बताए । जसमध्ये रूपन्देहीमा साढे ४ किमि, पाल्पामा ४ र अर्घाखाँचीमा साढे २६ किमि कालोपत्र गरिएको छ । चालु आर्थिक वर्षमा २० किमि सडक कालोपत्र गर्ने लक्ष्य छ । अहिले खुर्साने–पटौती, माटे–भडार र पुर्कोट–अर्खाबाङसम्म कालोपत्रको काम जारी छ ।
रूपन्देहीको सालझण्डी–पाल्पाको खुर्साने, अर्घाखाँची सदरमुकाम सन्धिखर्क, गुल्मीको पुर्कोटदह अर्खाबाङ हुँदै बागलुङको ढोरपाटन जोड्न सडकको निर्माण सुरु भएको थियो । यसको अनुमानित लागत ८ अर्ब थियो । अहिले बढेर ११ अर्ब पुगेको छ । चालु आर्थिक वर्षमा ३८ करोड रुपैयाँ बजेट परेको छ । ६५ करोड थप रकम माग गरिए पनि अर्थ मन्त्रालयले स्रोत चापको कारण बजेट दिन नसक्ने जनाएको भण्डारीले बताए । ‘बजेट अभावमा काम हुन सकेको छैन,’ उनले भने, ‘फाइल पेस गरिरहेका छौं ।’
ढोरपाटन पर्यटकीय सडक हो । यसको निर्माणपछि ढोरपाटन सिकार आरक्ष आउने विदेशी पर्यटकलाई सहज हुनेछ । यो छोटो दूरीको मार्ग भएको भण्डारीले बताए । ‘सडक निर्माण सम्पन्न भएर यातायात सञ्चालनमा आएपछि पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउँछ,’ भण्डारीले भने, ‘पर्यटक भित्रिएपछि रूपन्देहीसहित पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङको आर्थिक गतिविधि बढ्छ । यससँगै बसाइँसराइ रोकिन्छ । बीचमा काम छाडेका व्यवसायी र उद्यमी काममा फर्कन सक्छन् ।’ यो सडक पूरा गर्न अब डेढ अब रुपैयाँ बजेट चाहिने उनले बताए ।
सडकले लुम्बिनीका चार र गण्डकी प्रदेशको एक जिल्लालाई तराईसँग जोडेको छ । रूपन्देहीमा कालोपत्र सकिएको छ । पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पटौतीसम्म २२ किलोमिटर धमाधम कालोपत्र भइरहेको छ । सन्धिखर्कको माटेदेखि भडारसम्म ७ किलोमिटरमा कालोपत्र बनाउन लागिएको छ । गुल्मीको पुर्कोटदहदेखि अर्खाबाङ १९ किलोमिटर र गुल्मीकै सिर्सेनीदेखि गंगरेसम्मको ७ किलोमिटर, पुर्कोटदहदेखि सिर्सेनीसम्मको २६ किलोमिटरमा बहुवर्षे अनुसार काम अगाडि बढेको छ । बागलुङको बुर्तिबाङदेखि ढोरपाटनसम्मको २२ किलोमिटरको पनि काम भइरहेको छ ।
सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलले बजेट अभाव, समयमै निर्माण व्यवसायीले काम पूरा नगरिदिनेजस्ता समस्याका कारण छिटो काम हुन नसकेको बताइन् । ‘ढोरपाटन सडक बहुआयामिक योजना हो,’ सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले भने, ‘यसै सडक भएर जिल्लामा पर्यटक भित्रिँदा अर्घाखाँचीको आर्थिक गतिविधि बढ्छ । यही बाटो भएर सिकार आरक्ष जाने विदेशी र स्वदेशी पर्यटकको बाक्लो उपस्थितिले जिल्लामा चहलपहल बढ्छ ।’ संघीय सरकारले सडकलाई उच्च प्राथमिकता दिएर बजेट पारिदिनुपर्नेमा उनले जोड दिए ।
ढोरपाटन सडक नियमित भएपछि प्यूठान र रोल्पाबासी पनि बुटवल–काठमाडौं आउजाउ गर्न दाङको भालुवाङबाट भन्दा सन्धिखर्कबाट आउजाउ गर्न सहज हुने उनले बताए । त्यसका लागि सन्धिखर्क–खलंगा सडक पनि कालोपत्र अन्तिम चरणमा रहेको छ । ढोरपाटन सडकले अर्घाखाँचीलाई पहाडी जिल्लाको संगमस्थल बनाउने अपेक्षा गरिएको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकअन्तर्गत अर्घाखाँचीको पटौती–तम्घास सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । जुन सडक सुचारु भएपछि गुल्मीबासीलाई पाल्पाको तानसेनबाट भन्दा तम्घास–पटौटी–सालझण्डी सडकबाट आउजाउ गर्न धेरै सहज हुने गुल्मी रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।
‘पटौती–तम्घास सडक दैनिक सूचारु गर्न सो सडकको पटौतीदेखि सालझण्डी सडकको निर्माण कार्य पूरा हुने बित्तिकै हामीले यतैबाट सार्वजनिक गाडी सञ्चालन गर्छौं,’ उनले भने, ‘यात्राका लागि सहज र छोटो दूरी यही हुन्छ ।’ ढोरपाटन सडकले गुल्मी र तराईको दूरी कम गर्ने र पहाडमा उत्पादन भएका खाद्यबाली, तरकारी, खसीबोका, कुखुरा, अण्डा लगायत बस्तु बुटवल सहर निर्यात गर्न धेरै सजिलो हुने उनले बताए ।
