अब चौबीसै घण्टा सेयर कारोबारका लागि अर्डर हाल्न पाइने, सर्किट ब्रेकरको समय परिमार्जन

प्रि-ओपन सेसनमा ५ प्रतिशतसम्म मूल्य घटबढ गर्न सकिने

वैशाख ३, २०८३

यज्ञ बञ्जाडे

Now you can place orders for share trading 24 hours a day, circuit breaker timings revised

What you should know

काठमाडौँ — अब सेयर बजार खरिद बिक्रीका लागि चौविसै घण्टा अर्डर हाल्ने मिल्ने भएको छ । हाल सेयर बजार खुल्ने अवधि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र सेयर कारोबारका लागि अर्डर गर्न मिल्ने व्यवस्था थियो । त्यसमा परिमार्जन गरेर सेयर बजार खुल्ने अवधिभन्दा बाहेकको समयमा पनि कारोबार अर्डर गर्न मिल्ने व्यवस्था गरिएको हो । यसका लागि धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ परिमार्जन गरिएको छ । 

नेप्सेले समय सान्दर्भिक रुपमा परिमार्जन गरेर उक्त विनियमावली स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको थियो । बोर्डले उक्त विनियमावली केही संशोधनसहित पारित गरेर नेप्सेले फिर्ता दिइसकेको छ । जसमा सर्किट ब्रेकरको समय परिवर्तन, सेयर बजार खुल्नुभन्दा १० मिनेट अघि (प्रि– ओपन सेसन) को कारोबार सीमा परिवर्तनलगायत नयाँ व्यवस्था गरिएको छ । यी व्यवस्था कार्यान्वयनमा भने आइसकेको छैन ।

बोर्डबाट पारित भएको आएको विनियमावली नेप्से सञ्चालक समितिको बैठकको निर्णयसहित कार्यान्वयनका लागि सूचना/निर्देशन जारी गर्नुपर्छ । त्यसपछि मात्र कार्यान्वयनमा आउँछ । बिहीबारसम्म नेप्से सञ्चालक समितिले उक्त निर्णय गरिसकेको छैन ।   जसमा अफ आवर (सेयर बजार खुल्ने अवधि अघि र पछि) पनि खरिदबिक्री आदेश गर्न सकिनेलगायत अरु नयाँ व्यवस्था पनि गरिएको छ । यसरी अफ आवरमा खरिदबिक्री अर्डर गर्न सकिने भएपनि त्यो अर्डरको कारोबार (प्लेसमेन्ट) भने बजार खुलेकै समय (बिहान ११ देखि ३ बजेसम्म)मा मात्र हुनेछ ।

यस्तै, अब नेप्से पहिलो २ घण्टा (११ बजेदेखि १ बजेसम्म ५ प्रतिशत र दोस्रो दुई घण्टा (१ बजेदेखि ३ बजेसम्म) ८ प्रतिशतले घट्दा/बढ्दा सर्किट ब्रेकर लाग्ने छ । जसमा पहिलो २ घण्टामा नेप्से ५ प्रतिशतले घट्दा/बढ्दा १५ मिनेटका लागि कारोबार रोकिन्छ भने त्यसपछिको दुई घण्टामा ८ प्रतिशतले बढेपछि सो दिनकै कारोबार बन्द गरिन्छ ।

यस्तै, अब प्रि–ओपन सेसनमा कुनै कम्पनीको अघिल्लो मूल्यभन्दा ५ प्रतिशतसम्म घटबढ गरेर अर्डर हाल्न पाइने भएको छ । हाल यस्तो सीमा २ प्रतिशतसम्म रहेको थियो । यस्तै, कुनै कम्पनीको सेयर किनबेचका लागि अर्डर गर्दा अघिल्लो भन्दा बढीमा ३ प्रतिशतसम्म घटबढ गरेर अर्डर गर्न पाइने भएको छ । यसअघि यस्तो सीमा २ प्रतिशतसम्म थियो ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully