ठेक्का सम्झौता गर्दा कायम रहेको निर्माण सामग्रीको मूल्य दरमा पटक–पटक वृद्धि भएको र मूल्यवृद्धि भएअनुरूपको बिल पेस गर्दा भुक्तानी नपाइने गरेको निर्माण व्यवसायीको गुनासो ।
What you should know
भैरहवा — हरेक निर्माण सामग्रीको अस्वाभाविक र अत्यधिक मूल्यवृद्धि र अभावसमेत भएको जनाउँदै रूपन्देहीका निर्माण व्यवसायीले निर्माण उद्योगमा 'आपत्काल' घोषणा गरी सरकारले मूल्य समायोजन गर्नुपर्ने माग गरेका छन् ।
मध्यपूर्वी एसियामा जारी युद्धका कारण निर्माण सामग्रीहरूको पटक–पटक भइरहेको मूल्यवृद्धि र स्वदेशमै उपलब्ध हुनुपर्ने नदीजन्य निर्माण सामग्रीको चरम अभावले गर्दा सम्पूर्ण निर्माण कार्य पूर्ण रूपमा प्रभावित भएको र यथास्थितीमै सूचारु राख्न नसकिने भनाइ उनीहरूको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न घटनाक्रमले निर्माण व्यवसायको क्षेत्रमा पारेको असरका बारेमा लुम्बिनी निर्माण व्यवसायी संघ रूपन्देहीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा रूपन्देहीका निर्माण व्यवसायीले ठेक्का सम्झौता गर्दा कायम रहेको निर्माण सामग्रीको मूल्य दरमा पटक–पटक वृद्धि भएको र मूल्यवृद्धि भएअनुरूपको बिल पेस गर्दा भुक्तानी नपाइने गुनासो गरे ।
लुम्बिनी निर्माण व्यवसायी संघका कार्यवाहक अध्यक्ष प्रीतम रौनियारले अहिलेको अवस्थामा निर्माण व्यवसायीलाई परेको समस्याका बारेमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराइएको जनाउँदै पटक–पटकको मूल्य वृद्धिले व्यवसायीलाई आक्रान्त पारेको बताए ।
‘सरकारले निर्माण उद्योगमा आपतकाल घोषणा गरी व्यवसायीलाई राहत दिनु पर्ने र बढ्दो मूल्यवृद्धिलाई मूल्य समायोजन गरी सबै अवधिको ठेक्काको समय थप गर्नुपर्ने माग व्यवसायीको हो,’ रौनियारले भने, ‘अन्यथा व्यवसायीले लिएको ठेक्काबाट हात उठाउनुको विकल्प छैन ।’
निर्माण व्यसायीका अनुसार निर्माण उद्योगमा प्रयोग हुने पेट्रोलियम पदार्थ, अलकत्रा, सिमेन्ट, छडलगायतका सामग्रीको मूल्य अप्रत्याशित रूपले बढिरहेको र स्वदेशमा क्रसर उद्योगहरूमा देखा परेको समस्याका कारण नदीजन्य निर्माण सामग्रीको चरम अभाव छ ।
निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज श्रेष्ठले सम्झौताअनुरूप निर्माण सम्पन्न नगरेको भनेर सरकारले व्यवसायीलाई कारबाही गर्ने हो भने पहिला निर्माण सामग्रीको सहज उपलब्धता र मूल्य समायोजन निर्देशिका तत्काल लागू गर्नुपर्ने बताए ।
लुम्बिनी निर्माण व्यवसायी संघका अनुसार रूपन्देहीमा यस वर्ष करिब ३० अर्ब रुपैयाँ बराबरको सरकारी आयोजना निर्माण कार्य सञ्चालनमा छ । जसमा सानाठूला गरी डेढ सय निर्माण व्यवसायी संलग्न छन् । करिब २० हजार मजदुर कार्यरत छन् ।
लुम्बिनी निर्माण व्यवसायी संघ रूपन्देहीका निवर्तमान अध्यक्ष विनय ज्ञवालीले जिल्ला दररेट निर्धारण समितिले कायम गरेको निर्माण सामग्रीको मूल्यलाई वर्षमा दुईपटकसम्म समायोजन गर्नुपर्ने नियम भए पनि त्यसअनुरूप परिमार्जन नहुँदा व्यवसायी समस्यामा परेको बताए ।
