तातोपानी सुक्खा बन्दरगाहमा वर्षौंदेखि थन्किएको ३० हजार बोरा युरिया मल कुहिँदै जाँदा किसान भने मल अभावमा बालीचक्र प्रभावित भएको गुनासो गर्छन्।
What you should know
सिन्धुपाल्चोक — मकै र चैते धान रोप्ने चटारोमा रहेका किसान मल अभाव खेपिरहेका छन् । तर, उत्तरी नाका तातोपानीस्थित सुक्खा बन्दरगाह भन्सारमा महिनौंदेखि थन्किएको ३० हजार बोरा रासायनिक मल (युरिया) कुहिन थालेको छ।
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार भोटेकोसी गाउँपालिका-३ मा रहेको भन्सार गोदाममा २९ हजार ८ सय २६ बोरा युरिया मल वर्षौंदेखि अलपत्र अवस्थामा छ । ‘१४ सय ९१ मेट्रिक टन मल यहाँ थन्किएको धेरै समय भइसकेको छ,’ उनले भने, 'मलले बन्दरगाहको अधिकांश भाग ओगट्दा अन्य सामान लोड–अनलोड गर्न कठिनाइ परिरहेको छ ।'
युरिया पग्लिएर मलका बोरा काम नलाग्ने अवस्थामा पुगेको छ । लामो समयसम्म गोदाममै थन्किँदा मल प्रयोगयोग्य नरहने अवस्थामा पुगेको स्थानीयको भनाइ छ ।
यसबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सम्बन्धित निकायलाई जानकारी गराइसकिएको भन्सार कार्यालयले जनाएको छ । उता, किसान भने मल अभावकै कारण बालीचक्र प्रभावित भएको गुनासो गर्छन् ।
‘मल नपाएर रोपाइँ नै धकेलिएको छ, तर भन्सारमै मल कुहिएको खबर सुन्दा दुःख लाग्छ,’ बाह्रबिसे नगरपालिका-९ का अगुवा कृषक चक्रध्वज तिवारीले भने, ‘खेती त जसोतसो गरिएला तर युरिया नै पाइँदैन । पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ । दिनभरि लाइनमा बस्यो अन्तिममा दुई–चार किलो मात्रै मल पाइन्छ ।' खेतीका लागि दुई/चार बोरा मल चाहिएका बेला लाइन बसेर पाइने मलले करेसाबारीलाई नै नपुग्ने उनले बताए ।
तिवारी जस्तै जिल्लाका अधिकांश किसान युरिया समयमा नपाउँदा हैरान भएको अनुभव सुनाउँछन् । हिउँदमा आलु, गहुँ, तोरी तथा जौंलगायत खेती गर्ने समयमा सधैंभरी मल अभाव हुने गरेको उनको गुनासो छ । मल किन्न बिहानैदेखि सहकारी संस्था कुरेर बस्नुपर्ने किसानको दैनिकी नै बनेको छ ।
किन अड्कियो मल ?
भूकम्पपछि एकतर्फी रुपमा सञ्चालनमा आएको तातोपानी नाकाबाट सिल्क कम्पनीअन्तर्गत सिल्क मार्केट प्रालि सिनोम्याक, ग्लोबल म्याटिक्स र बिध प्रालिले संयुक्त रुपमा (जेभी) संस्थासँग ठेक्का सम्झौता गरेका थिए । यी कम्पनीहरूले मिलेर चीनबाट उक्त मल आयात गरेका थिए ।
कृषि समाग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पुण्यप्रसाद उपाध्ययका अनुसार यी कम्पनीहरूले आर्थिक वर्ष ०७९/८० मा ७ लाख ३५ हजार बोरा ल्याउने सम्झौता गरेका थिए । पहिलो पटक भएको करार अनुसार समयमा मल नै नल्याइएपछि कारबाहीस्वरुप धरौटी जफत गरेर कम्पनीलाई कालोसूचीमा राखिएको पनि थियो । ‘कम्पनीहरूले २५ सय टनको सम्झौता गरेर ५ सय टन पनि समयमा ल्याएनन्, समयमा नल्याएपछि सुरुदेखि अन्तिम पटकसम्म ६/७ पटक कयौं दिनको समय सिमा राखेर पत्र बनाइएको थियो, पटक-पटक सहमति पत्र बनाउँदा पनि नल्याएपछि ती कम्पनीलाई कारबाही भइसकेको छ,’ उपाध्ययले भने ।
कालोसूचीमा राखेकाेविरुद्ध सप्लायर्स कम्पनीहरू अदालत गएका थिए ।
भन्सारमा भण्डारण भएको मल ३० दिनभित्र कृषि सामग्री कम्पनीमा पुर्याउने र ठेक्का भएको बाँकी २१ हजार ५ सय टन युरिया १ सय ७ दिनभित्र ल्याउने सर्तमा अन्तिम पटक सम्झौता गरिएको थियो । कृषि सामग्री कम्पनीका अनुसार अन्तिम सम्झौता २०८१ जेठ १५ सम्म ल्याउने थियो । तर, अन्तिम पटक सम्झौता अनुरुप पनि १३ सय टन मल झण्डै ३ सय दिन कटिसक्दा पनि नआएपछि कारबाहीस्वरुप कृषि सामग्रीले यी कम्पनीलाई कालोसूचीमा राखेको उनले जनाए ।
नाकाबाट न्यून कन्टेनर भित्रँदा मल समयमा ल्याउन नसकेको अवस्थाबीच लामो समय सिल्क मार्केटले भन्सारमै मल गोदाम गरेर कम्पनीसँग छलफल गरिरहेको सिल्क मार्केटका प्रतिनिधि विजय शेर्पाले बताए । ‘केही मेट्रिक टन मल सिल्क मार्केट र कृषि सामग्री कम्पनीबीच सहमति भएपछि बल्ल मल काठमाडौं पठाइयो, तर बाँकी मल ल्याउन सामाग्रीले दिएको समयसीमाभन्दा धेरै ढिला भएर यतै थन्कियो, पारिबाट पनि कन्टेनर न्यून छाड्ने मस्या थियो,’ शेर्पाले भने ।
तातोपानी भन्सारका सुक्खा बन्दरगाह गोदाम व्यवस्थापक अनिरुद्र थापाका अनुसार ०८० जेठ १८ देखि साेही असार २ सम्म ३५ सय ९० मेट्रिक टन युरिया मल चीनबाट भित्रिसकेको थियो । जसमा झण्डै २२ सय मेट्रिक टन मल प्रक्रिया पूरा गरेर काठमाडाैं पठाइएको थियो । ‘अब लगभग १४ सय टन बाँकी छ , आयातकर्ता र कृषि कम्पनीबीच के भयो हामीलाई थाहा भएन्, यो केश अदालतमा पुगेको भन्ने मात्रै सुनेका छौं,’ उनले भने । अब थन्किएको मलको के हुन्छ ? भन्नेबारे कसैसँग स्पष्ट जवाफ छैन् ।
तातोपानी सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले सप्लार्यस र कृषि सामग्रीबीच अदालती प्रक्रिया विचारधीन रहेकाले अहिले यहीँ गर्ने भन्ने निश्चित नभएको बताए । ‘यसअघिदेखि माथिल्लो तहमा थन्किएको मललाई उचित व्यवस्थापन गर्न आग्रह गरेका छौं, हामीलाई सकेसम्म यार्ड खाली भइदिए हुन्थ्यो भन्ने हो, सप्लार्यस र कृषि सामग्रीबीच के भइरहेको छ हामीलाई थाहा भएन्, अदालती प्रक्रियामा भएको सामानबारे केही भन्न मिलेन,’ उनले भने । कृषि सामग्री कम्पनीका सूचना अधिकारी उपाध्ययले यसबारे तत्कालीन अवस्थामा समयसीमा तोकेर कारबाही भइसकेकोले कथा पुरानो भइसकेको बताए ।
