डिभिजन सडक कार्यालयका अनुसार चितवनको भण्डारा हुँदै यो मार्ग धादिङको मलेखु पुगेर टुंगिन्छ । दुई जिल्ला र दुई राजमार्ग जोडेको सडकको लम्बाइ ६६ किलोमिटर छ ।
What you should know
चितवन — डेढ दशकअघि निर्माण सुरु गरिएको चितवनको भण्डारादेखि धादिङको मलेखुसम्मको चेपाङ मार्ग अधुरै छ । मुलुकका दुई महत्त्वपूर्ण महेन्द्र र पृथ्वी राजमार्ग जोड्ने चेपाङ मार्ग अलपत्रजस्तै छ । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको पहलमा यो मार्ग निर्माण थालिएको थियो । सडकले सीमान्तकृत चेपाङ बसोबास रहेका पहाडी गाउँ छिचोल्छ ।
निर्माणले गति नलिँदा पहाडी बस्तीमा यातायात सहज हुन सकेको छैन । यहाँका राज तमाङले यही मार्गमा पिकअप भ्यान चलाउन सुरु गरेको पाँच वर्ष भयो । बाप्र०१च ०९२२ नम्बरको उनको गाडी अहिले आधा खण्डसम्म मात्र ओहोरदोहोर गर्छ । सामान बोक्ने गाडीमा स्थानीय पनि यात्रा गर्छन् । मूल सडकबाट भित्रसम्म जानुपर्ने भएकाले दिनमा दुई/तीन फेरा ३५/४० किलोमिटर सडकमा ओहोरदोहोर गर्छन् । अहिले ११ किलोमिटर सडक कालोपत्र छ । हात्तीढापसम्म सडक सहज नै छ । त्यसपछि अप्ठ्यारो छ ।
डिभिजन सडक कार्यालयका अनुसार चितवनको भण्डारा हुँदै यो मार्ग धादिङको मलेखु पुगेर टुंगिन्छ । दुई जिल्ला र दुई राजमार्ग जोडेको सडकको लम्बाइ ६६ किलोमिटर छ । एमाले नेता पाण्डे अर्थमन्त्री भएका बेलामा २०६६ सालको बजेट भाषणमा परेर यो सडक निर्माणको काम अगाडि बढेको हो । भण्डारा–मलेखु पैदल आउजाउ गरेका पाण्डेले विकटमा विकास पुर्याउन सडक निर्माण योजना अघि बढाएका थिए । काम सुरु गरेको १६ वर्ष पूरा हुन लाग्दा पनि सडक अन्तर्गत विकट र अप्ठ्यारो भुगोल सजिलै वारपार गर्ने स्थानीयको सपना साकार हुन सकेको छैन । यही सडक किनारमा वासबाङ चेपाङ बस्ती रहेको छ ।
वासवाङका विवश चेपाङले नेताले सुविधा दिन्छौं भनेर आश मात्र देखाउने गरेको बताए । ‘यो सडक कहिले पूरा होला ?,’ उनले भने, ‘अधुरो सडक हेर्दै पैदल यात्रा गर्नुपर्ने वाध्यता छ ।’ डिभिजन सडकका अनुसार चेपाङ मार्गको चितवनतर्फ ३६ र धादिङतर्फ ३० किलोमिटर सडक रहेको छ । १३ वर्षअघि नै सडकको ट्रयाक खोल्ने काम सकिएको थियो । ट्रयाक खुले पनि स्तरोन्नतिको कामका लागि कम बजेट आउँदा कछुवा गतिमा कालोपत्र भइरहेको छ ।
डिभिजन सडकले चालु आर्थिक वर्षमा यस मार्गका लागि एक अर्ब रुपैयाँ माग गरेको थियो । तर, तीन करोड मात्र बजेट आयो । ‘त्यति रकमले १ हजार ४ सय ५० मिटर सडक कालोपत्र गर्यौं,’ डिभिजन सडकका साइट इन्जिनियर मिलन घतानीले भने, ‘त्यसअघि जम्मा १ करोड हाराहारी बजेट आएको थियो ।’ कार्यालयले आउँदो आर्थिक वर्षका लागि ५० करोड रुपैयाँ माग गरेको छ । मागअनुसार रकम आए थप आठ किलोमिटर सडक कालोपत्र गर्न सकिने घतानीले बताए । ‘पर्याप्त बजेट उपलब्ध भएमा बाँकी खण्ड स्तरोन्नति गरिन्थ्यो,’ उनले भने, ‘बजेट हुने हो भने काम गर्दै सडक सहज बनाउन सकिन्छ ।’
उक्त मार्गको अहिले चितवन र धादिङतर्फ १३/१३ किलोमिटर कालोपत्र भएको छ । नारायणगढ–मुग्लिन सडकको विकल्पका रूपमा प्रचार गरिएको सडकको पुरानो साढे पाँच मिटर र नयाँ खण्ड सात मिटर चौडा छ । सुरुमा सडक निर्माण पूरा गरेर नारायणगढ–मुग्लिन सडक विस्तार गर्ने सुरुको योजना थियो ।
नारायणगढ–मुग्लिन सडक २०७२ सालमा विस्तार सुरु भएर साढे तीन वर्षमा सकिएको थियो । नारायणगढ–मुग्लिन सडकको विस्तारको कामभन्दा पाँच वर्षअघि खन्न सुरु भएको भण्डारा–मलेखु चेपाङ सडक अधुरै छ । ‘सडकमा कालोपत्र पूरा भए काठमाडौं जोड्ने सडकको विकल्प हुन्थ्यो,’ स्यामराङका धनलाल चेपाङले भने, ‘विकटको बस्तीमा विकास पुग्ने थियो । तर, त्यो हाम्रा लागि आकाशको फल भयो ।’
