चप्पल कारखाानदेखि धोबीखोला (गोपीकृष्ण पुल)सम्मको १२ सय मिटरमा अर्थ मन्त्रालयबाट ५१ करोडको स्रोत सहमति पाए चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाइने
What you should know
काठमाडौं — चर्चा चलेकाे लामाे समय भैसक्दा पनि समग्र चक्रपथ विस्तार कछुवा गतिमा भइरहेको छ । २७ किलोमिटरको चक्रपथमा अहिलेसम्म ११.०९ किमि मात्र विस्तार पूरा भएको छ । अझै १५.९१ किमि विस्तारमा अन्योल छ ।
पहिलाे खण्ड (काेटेश्वर-कलंकी) विस्तार भएसँगै कलंकीदेखि बसुन्धरासम्म पनि चीन सरकारले विस्तार गर्ने चर्चा चलेको ८ वर्ष भइसकेको छ । तर, अझै पनि काम सुरु भएको छैन । बसुन्धरादेखि नारायण गोपाल चोकसम्मको करिब ६ सय मिटर सडक खण्डमा पर्ने घरटहरा भत्काउन समस्या भएपछि काम हुन नसकेको हो ।
कलंकीदेखि नारायाण गोपाल चोकसम्म सडक विस्तारका लागि पहिला चीन सरकारले नै सरकारी निकायसँग छलफल गरेको थियो । तर, उक्त क्षेत्रमा घर लगायतका संरचान भत्काउन समस्या देखेपछि चीन पछि हटेको थियो । यसपछि चीनले कलंकीदेखि बसुन्धरा कर्ल्भट नजिकसम्म मात्र सडक विस्तार गर्ने जनाएको थियो ।
कोटेश्वर–कलंकी विस्तारमा ६ वर्ष
कोटेश्वरदेखि कलंकीसम्म १०.३९ किमि सडक २०६९ मा ठेक्का लागे पनि ६ वर्षपछि सकिएको थियो । कोटेश्वर–कलंकी पहिलो खण्डको काम २०६९ मा सुरु भई २०७५ सालमा सकिएको थियो । त्यसलगत्तै ८.२ किलोमिटरको दोस्रो खण्ड विस्तार सुरु हुनुपर्नेमा नेपाल सरकार र त्यसपछि चीनको ढिलाइले कामले गति लिन सकेको छैन ।
पहिलो खण्ड विस्तार सम्पन्न भएको ८ वर्षपछि बल्ल दोस्रो खण्ड विस्तारका लागि कलंकी–बसुन्धरा खण्ड (८.२ किलोमिटर) विस्तारको सुरसार भएको छ । अहिले वसुन्धरा चोक नजिकसम्म मात्र सडक विस्तार गर्ने तयारी हुँदैछ । चीनसँग सन् २०१८ मा यो सडक खण्ड विस्तारका लागि जीटुजी सम्झौता भएको थियो । चीन सरकारले पूर्वतयारीका काम नटुंग्याई नआउने अडान लिँदै आएको थियो ।
यहीबीचमा कोरोना महामारीका कारण थप काम अघि बढ्न सकेन । नेपाल सरकारलाई पूर्वतयारीको काम सक्न पनि हम्मेहम्मे पर्यो । पूर्वतयारी त सकियो, तर, चीन सरकारले तत्काल काम अघि बढाउने बारे कुनै निर्णय दिएन । त्यसपछि फेरि प्रक्रिया लम्बिदै जाँदा निर्माणको काम अहिलेसम्म सुरु हुन नसकेको हो । बिचमा चीन सरकारले निर्माण सामाग्रीमा कर छुटको निर्णय गर्नुपर्ने माग अघि सारेको थियो ।
जसअनुसार १२ फागुनमा मन्त्रीपरिषद् बैठकबाट सरकारले निर्माण सामाग्री र भन्सार छुटको निर्णय गरेसँगै चक्रपथ दोस्रो खण्ड विस्तारका लागि बाटो खुलेको हो । वैदेशिक सहायता नीतिअनुसार अनुदानको रकम कर प्रयोजनमा नलगाइने भएकाले त्यहीअनुसार उक्त खण्डको निर्णय मन्त्रिपरिषद्बाट गराएको सडक विभागले जनायो ।
चक्रपथ दोस्रो खण्ड विस्तारको काम थाल्ने भनेको वर्षौ बित्यो, अब कहिलेबाट काम सुरु हुन्छ भन्ने प्रश्नमा सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्याल भन्छन्, ‘आगामी हप्ता दुई देशका उच्च सरकारी अधिकारीबीच कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने तयारी हुँदैछ । सम्झौतापछि चीनले डिजाइन पेस गरेसँगै त्यसलाई फाइनल गर्छौं ।’
सडक विभागमा फाइनल डिजाइन पेस भएपछि केही थपघट गर्न परे तत्काल सुझाव दिएर त्यसलाई अन्तिम रुप दिइने उनले सुनाए । डिजाइन र बिड डकुमेन्ट यताबाट स्वीकृत गराएर पठाएपछि उताबाट निर्माण कम्पनी र परामर्शदाता छान्ने काम हुनेछ ।
कुनै समस्या नआए कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको मितिबाट एक महिनाभित्र ठेक्का सम्झौता भइसक्ने जानकारी चिनियाँ निकायबाट आएको सडक विभागले जनाएको छ । ‘बर्खाअघि नै ठेक्का सम्झौता भई निर्माण व्यवसायी कार्यस्थलमा परिचालन हुन्छन्,’ उनले भने । चक्रपथ दोस्रो खण्डको सर्भे गर्न ६ वैशाख २०८२ मा चिनियाँ प्राविधिक टोली नेपाल आएको थियो । साढे दुई महिना लगाएर टोलीले डिजाइनका लागि सर्भे गरेको थियो ।
उक्त डिजाइनअनुसार भने ढुंगेधारामा एउटा पक्की पुल बन्नेछ । तीनवटा आकाशे पुल अपांगमैत्री बन्नेछन् । सीतापाइला, बालाजु र माछापोखरीको बीच र सामाखुसी बसुन्धरा प्रहरीचौकीको बीचमा आकाशे पुल बनाइनेछ । कलंकीदेखि बसुन्धरा चोकसम्म सडकबत्ती सडक विस्तारकै क्रममा चीनले बनाउने गरी डिजाइनमा राखिएको विभागले जनाएको छ ।
निर्माण सम्झौताअघि डिजाइन फाइनल गर्ने बेलामा यसमा केही तलमाथि पनि हुनसक्ने अर्यालले बताए । दोस्रो खण्ड चीन सरकारको अनुदानमा विस्तार गर्न लागिएको हो ।
चिनियाँ टोलीले काम थाल्नुअघि नेपाल सरकारबाट बनाउने सर्भिस लेन निर्माण सकिने चरणमा रहेको काठमाडौ चक्रपथ सडक विस्तार योजना कार्यालयको योजना प्रमुख आशिका पोखरेलले बताइन् । ‘यो काम यही आर्थिक वर्षभित्र सकिन्छ, केही स्थानमा स्थानीयहरूको विवाद पनि थियो, त्यो मिलाउने काम भइरहेको छ,’ उनले भनिन्, ‘अधिकांश ठाउँमा काम सकिन्छ, काम गर्न आउँदा सर्भिस लेनबाट सवारी साधन चलाउन मिल्ने बनाउँछौं ।’ चिनियाँ निर्माण कम्पनी आउँदा पूर्ण रुपमा साइट उपलब्ध गराउने गरी काम भइरहेको उनको भनाइ छ ।
चक्रपथको तेस्रो खण्ड विस्तार अन्तिम चरणमा
चक्रपथको तेस्रो खण्ड विस्तार नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गरेर सम्पन्न हुने चरणमा पुगेको छ । तेस्रो खण्डअन्तर्गत नारायणगोपाल चोकबाट चप्पल कारखानाको ७०० मिटर विस्तार सकिएको छ । ६ फागुन २०८१ मा भएको ठेक्का सम्झौताअनुसार २५ असार २०८२ भित्र यस खण्ड विस्तार सकिसक्नु पर्ने थियो । उक्त समयभित्र काम नसकिएपछि १३ फागुनसम्म म्याद दिएको थियो ।
निर्माण थालेको १३ महिनामा काम सकिएको सडक डिभिजन कार्यालय काठमाडौंकी श्रीयंका रौनियारले बताइन् । ‘निर्माणसम्बन्धी काम सकिसकेको छ,’ उनले भनिन्, ‘एक हप्ताभित्र सडक मार्किङ सकिन्छ । यसपछि सफाइ हुन्छ र पूर्ण रुपमा सञ्चालनमा आउँछ ।’
सडक विस्तारको ठेक्का अम्बुजा/एसके/काली जेभीले लिएको हो । भ्याटसहित ठेक्का रकम २४ करोड रुपैयाँ रहेको छ । यसलाई ६ लेनमा विस्तार गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चक्रपथ भएर दैनिक ४ सयदेखि ५ सय हाराहारी यात्रुबाहक सवारी साधन गुड्छन् । दैनिक गुड्ने सवारीको चापलाई ध्यान दिँदै खानेपानीका पाइप, विद्युतका पोल, ढल व्यवस्थापन गरेर नारायण गोपाल चोकबाट चप्पल कारखानासम्मको सडक विस्तार सकेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाले बताए ।
‘यसलाई सर्भिस लेनसहित ८ लेनमा विस्तार गरिएको छ, नेपाल सरकार आफैंले यस्तो सडक त्यो पनि समयमै बनाउन सक्छ भन्ने उदाहरण हो,’ उनले भने, ‘चप्पल कारखाना–धोबीखोला (गोपीकृष्ण पुलसम्म)सम्मको १२ सय मिटर सडक विस्ताका लागि स्रोत सहमति पाए चालु आर्थिक वर्षमै ठेक्का प्रक्रियाअघि बढाउथ्यौं ।’ चीनले बनाउने बाहेकको खण्ड सडक डिभिजन कार्यालय काठमाडौंको कार्यक्षेत्रभित्र पर्छ ।
‘चप्पल कारखानादेखि गोपीकृष्ण पुलसम्म सडक विस्तार गर्ने तयारी हुँदै छ, त्यसका लागि ५१ करोड रुपैयाँको स्रोत सहमति माग गर्दै राष्ट्रिय योजना आयोग पठाइसकेका छौं,’ उनले भने, ‘चालु आर्थिक वर्षमै सहमति पाए यही वर्ष ठेक्का प्रक्रिया अघि बढाउँछौं, अर्को वर्षबाट पूर्ण रुपमा काम थाल्छौं ।’ ठेक्का भएको १८ महिनाभित्र निर्माण सक्ने दाबी उनको छ ।
त्यसपछि चाबहिलसम्म सडक बनाउन समस्या नदेखिएको उनको भनाइ छ । ‘चाबहिलबाट कोटेश्वरतर्फको खण्डमा काम गर्न समस्या छ, विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरू धेरै छन्,’ उनले भने, ‘बसुन्धरा–नारायणगोपाल चोक र चाबहिलदेखि कोटेश्वरसम्मको खण्डमा कसरी काम गर्ने, के विकल्प हुन्छ भनेर छलफल भइरहेको छ, यसबारे केही निर्णय भइसकेको छैन ।’
