मझगाउँ विमानस्थल निर्माणमा अल्झन कायमै ।
What you should know
कञ्चनपुर — लामो समयदेखि बन्द रहेको यहाँको मझगाउँ विमानस्थल पुनः निर्माणको काम सुरु भएको पनि चार वर्ष पुग्यो । तर, अहिलेसम्म विमानस्थलको धावन मार्ग कालोपत्रको कामसमेत सकिएको छैन ।
निर्माणको काम सुरु भएदेखि नै जग्गा प्राप्तिको समस्या थियो । अहिले पनि विमानस्थलको दक्षिणतिर रहेको जमिनको भोगाधिकार नपाउँदा र उक्त क्षेत्रमा रहेको रत्न वाटिकामा रहेका रुखहरू कटान नहुँदा निर्माण कार्य रोकिएको छ ।
रन वेको पश्चिमतिर सानो नाला छ । उक्त नालालाई निकास नदिँदासम्म धावन मार्गको काम रोकिएको छ । अहिले नाला धावन मार्गको बीचमा बग्ने गरेको छ । ‘रुख कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम भइरहेको छ,’ विमानस्थल योजना प्रमुख मीनराज ओझाले भने, ‘रुख कटान भएर बीचको नाला साइडतिर लगाउन सके मात्रै धावन मार्ग पूरै कालोपत्र गर्न सकिन्छ ।’
उनका अनुसार १ हजार ५ सय २५ मिटर रन वेमध्ये १ हजार ३ सय मिटर कालोपत्र भइसकेको छ । बाँकी रहेको क्षेत्रमा बेसको काम गरिएको छ । कालोपत्रको काम भने रोकिएको छ । यसैगरी टेक्सी वेका लागि पनि पहिलो चरणको कालोपत्रको काम सकिएको छ ।
‘ईआईएको काम सकिएपछि रुख कटान गरेर बाँकी रहेको कालोपत्रको काम सुरु गरिनेछ,’ ओझाले भने, ‘आगामी आर्थिक वर्षमा टर्मिनल भवन र टावर निर्माणका लागि पनि ठेक्का प्रक्रिया अगाडि बढाइनेछ ।’ उनले टर्मिनल भवन र टावन निर्माण भएपछि उडान सुरु गर्न सकिने बताए । आगामी आर्थिक वर्षभित्र परीक्षण उडानसमेत गर्ने लक्ष्य रहेको ओझा बताउँछन् ।
आइतबार नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुर र प्रतिनिधिसभा समदस्य ज्ञानेन्द्र महता लगायतले उक्त क्षेत्रको अनुगमन गरेका थिए । ठाकुरले विमानस्थल निर्माणका लागि भइरहेका सबै अवरोध हटाए काम अगाडि बढ्ने बताए ।
‘यो विमानस्थलको धेरै सम्भावना छ, अब यसको काम विभिन्न बहानामा अल्झाउनु हुँदैन,’ ठाकुरले भने, ‘एउटा डेट फिक्स गरेर त्यही डेटमा उडान सुरु गर्ने गरी काम गरौं, सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्छ ।’ उनले भारतीय पर्यटकसँगै भारत भएर आउने तेस्रो मुलुकका पर्यटकले पनि यहाँको विमानस्थल प्रयोग गर्ने अपेक्षा गरिएको बताए ।
२०३० देखि हवाई सेवा सुरु भएको उक्त विमानस्थल सशस्त्र द्वन्द्वका बेला २०५६ मा सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो । लामो समयदेखि विमानस्थल निर्माणका लागि आन्दोलनपछि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा २०७८ देखि निर्माणको काम सुरु भएको हो ।
पहिलो चरणमा विमानस्थल निर्माणका लागि तीन वर्षमा काम सक्ने गरी कान्छाराम/केएस/उमा एण्ड कम्पनीसँग २०७८ मा ४५ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । जसमा दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ र संघीय सरकारको ५० प्रतिशत लगानी रहनेछ । हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ७२ प्रतिशत छ ।
विमानस्थलको बीच भागमा विद्युत् लाइन समेत जडान गरिएको छ । उक्त लाइन हटाउनसमेत विद्युत् प्राधिकरणले आनाकानी गरिरहेको छ । लाइन हटाउने विषयमा पनि आवश्यक पहल भइरहेको योजना प्रमुख ओझाले बताए ।
