सुन्तला किसानको आय बढाउन नवीन शीतभण्डारण बनाइने

अनुसन्धान कार्यक्रम तेह्रथुम, सिन्धुली, स्याङ्जा र डडेलधुरा गरी ४ जिल्लामा र १ नमुना चिस्यान भण्डार नयाँ बनाई तथ्यांक संकलन गरी अगाडि बढाइने पनि रिकास्टले जनाएको छ ।

वैशाख १, २०८३

इकान्तिपुर डेस्क

New cold storage facility to be built to increase orange farmers' income

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)ले सुन्तला जातका फलफूलको दिगो भण्डारण र बजारीकरणका लागि नवीन शीतभण्डारण समाधानसम्बन्धी अनुसन्धान परियोजनाको प्रारम्भिक कार्यशाला (इन्सेप्सन वर्कसप) गरेको छ । 

यो परियोजनालाई त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय प्राथमिकता क्षेत्र अनुसन्धान (एनपीएआर) अन्तर्गतको नवप्रवर्तनात्मक अनुसन्धान अनुदान(आईआरजी) ले आर्थिक सहायता दिएको छ । 

नेपालका सुन्तला किसानहरूले हाल उपयुक्त भण्डारण पूर्वाधारको अभावमा ३० देखि ४० प्रतिशतसम्म उत्पादन गुमाउँदै आएका छन्, जसले प्रत्यक्ष रूपमा उनीहरूको आय र खाद्य सुरक्षामा असर पारेको छ । यो बहुविषयक परियोजनाले नेपालको ग्रामीण भूगोल र ऊर्जा अवस्थासँग मिल्ने कम लागत, ऊर्जा दक्ष स्थानीय शीतभण्डारण समाधानको डिजाइन, परीक्षण तथा प्रमाणीकरण गर्ने लक्ष्य राख्दछ । 

New cold storage facility to be built to increase orange farmers' income

मुख्य अनुसन्धानकर्ता दीपेन्द्र पराजुलीले परियोजनाको तीन चरणको मार्गचित्र प्रस्तुत गरेका थिए । विभिन्न तापक्रममा सिट्रसको शारीरिक व्यवहारको अध्ययन, स्थानीय सामग्री तथा नवीकरणीय ऊर्जा प्रयोग गरी नवीन शीतभण्डारण इकाईको प्रोटोटाइप निर्माण र बजार जोड्ने प्रोटोकलको विकासबारे प्रस्तुति दिएका थिए । 

रिकास्टकी कार्यकारी निर्देशक प्राध्यापक मीना राजभण्डारीले यो अनुसन्धान प्रयोगशालामा सीमित नरहेर व्यावहारिक समाधानमा केन्द्रित रहेको बताइन् । उनले भनिन्, 'हाम्रो लक्ष्य भनेको विस्तारयोग्य तथा किसानमैत्री शीतभण्डारणको नमूना विकास गर्नु हो, जसले फोहोर कम गरी स्याङ्जा र अन्य जिल्लाका निबरवा किसानहरूको बजार पहुँच तथा मोलतोल क्षमता बढाउनेछ ।' 

स्याङ्जा-१ का सांसद धनञ्जय रेग्मीले क्षेत्रीय स्तरमा कृषि पूर्वाधारको तत्काल आवश्यकता औंल्याए । 

अनुसन्धान टोलीले अब छानिएका सुन्तला बढी उत्पादन हुने जिल्लाहरूमा आधारभूत सर्वेक्षण थाल्नेछ । सन् २०२६ को अन्त्यसम्ममा प्रोटोटाइप तयार पार्ने लक्ष्य रहेको छ । उक्त अनुसन्धान कार्यक्रम तेह्रथुम, सिन्धुली, स्याङ्जा र डडेलधुरा गरी ४ जिल्लामा र १ नमुना चिस्यान भण्डार नयाँ बनाई तथ्यांक संकलन गरी अगाडि बढाइने पनि रिकास्टले जनाएको छ । 

इकान्तिपुर

Link copied successfully