पश्चिम एसियाको द्वन्द्वले विश्व अर्थतन्त्रको वृद्धिदर खुम्चिने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोषले भर्खरै सार्वजनिक गरेको विश्वव्यापी वित्तीय स्थिरता प्रतिवेदन २०२६ ले यस वर्ष विश्वको आर्थिक वृद्धिदर खुम्चिने र सन् २०२७ मा ३.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।

वैशाख १, २०८३

कृष्ण आचार्य

IMF predicts that conflicts in West Asia will reduce global economic growth

What you should know

वासिङ्टन डीसी, अमेरिका — सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गरेको छ । यो प्रक्षेपण आर्थिक वर्ष २०२४/२५ को आर्थिक वृद्धिदरभन्दा कम हो । सन् २०२६ को अनुमान गत जनवरीको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले घटाइएको छ भने सन् २०२७ को अनुमान स्थिर राखिएको छ । 

आर्थिक वर्ष २०२४/२५ को ३.४ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरिएको थियो । कोषले भर्खरै सार्वजनिक गरेको विश्वव्यापी वित्तीय स्थिरता प्रतिवेदन २०२६ (ग्लोबल फाइनान्सियल स्टाबिलिटी रिपोर्ट)ले यस वर्ष विश्वको आर्थिक वृद्धिदर खुम्चिने र सन् २०२७ मा ३.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।

सन् २०२६ को आर्थिक वृद्धिको प्रक्षेपण विश्वको दीर्घकालीन औसत आर्थिक वृद्धिदरभन्दा पनि कम हो । सन् २००० देखि २०१९ सम्म विश्वको औसत आर्थिक वृद्धिदर ३.७ रहेको छ । सोमबारदेखि अमेरिकाको वासिङ्टन डीसीमा सुरु भएको वार्षिक साधारणसभामा उक्त प्रतिवेदन सार्वजनिक भएको हो ।

यसरी विश्वको आर्थिक वृद्धिदर खुम्चिनुमा पश्चिम एसिया (मध्यपूर्व)मा चलेको युद्धलाई मूल कारण मानिएको छ । ‘यदि युद्ध नभएको भए विश्व आर्थिक वृद्धि अझ बढ्ने सम्भावना थियो, वास्तवमा, मध्यपूर्वको द्वन्द्व सुरु हुनुअघि सन् २०२६ मा ३.४ प्रतिशत आर्थिक वृद्धिदर अनुमान गरिएको थियो । त्यसैले अहिले अर्थतन्त्रको वृद्धिदरमा देखिएको कमी मुख्यतः मध्यपूर्व द्वन्द्वका कारण हो,’ आईएमएफको प्रतिवेदनमा भनिएको छ । यस्तै, विश्वको मुद्रास्फीति २०२६ मा ४.४ प्रतिशत रहने र २०२७ मा ३.७ प्रतिशतमा झर्ने आईएमएफको अनुमान छ ।

पश्चिम एसियाको युद्धले फेरि एकपटक विश्व अर्थतन्त्रको लय खलबलिएको र यसको असर धेरै हुन सक्ने जोखिम आईएमएफले औंल्याएको छ । पछिल्लो एक वर्षमा उच्च व्यापार अवरोध र त्यसले सिर्जना गरेको अनिश्चितताका कारण विश्व प्रभावित भए पनि प्रविधिसम्बन्धी लगानी, सहज वित्तीय अवस्था (जस्तै कमजोर अमेरिकी डलर)लगायत कारण सन्तुलनमा राखेको आईएमएफले जनाएको छ । तर, मध्यपूर्वको द्वन्द्वले वस्तु बजार, मुद्रास्फीति अपेक्षा र वित्तीय अवस्थामा ठूलो दबाब सिर्जना गरेको आईएमएफले जनाएको छ ।

पश्चिम एसियाको द्वन्द्वले एसिया क्षेत्रका उदीयमान र विकासशील अर्थतन्त्र पनि प्रभावित देखिएका छन् । जसअनुसार नेपालका छिमेकी मुलुक भारत र चीनको आर्थिक वृद्धिदर पनि सन् २०२५ को तुलनामा सन् २०२६ मा खुम्चिने आईएमएफले जनाएको छ ।

कृष्ण डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारितामा सक्रिय कृष्ण आचार्य कान्तिपुर दैनिकका समाचार सम्पादक हुन् ।

Link copied successfully