माटो नपाएपछि बुटवल–गोरुसिङ्गे सडक खण्ड विस्तार संकटमा

२० लाख घनमिटर माटो आवश्यक पर्दा १ लाख २३ हजार घनमिटर मात्रै उपलब्ध ।

वैशाख १, २०८३

घनश्याम गौतम

Butwal-Gorusinghe road section expansion in crisis due to lack of soil

What you should know

बुटवल — माटो अभाव भएपछि बुटवल–गोरुसिंगे सडक विस्तारको काम संकटमा परेको छ । स्थानीय तहको असहयोग र निर्माण सामग्री अभावले निर्माण व्यवसायी काम रोक्ने तयारीमा पुगेको छ । दैनिक १५ सय बढी कामदारले निरन्तर काम गरिरहेकामा अहिले घटाएर ५ सय हाराहारीमा झारिएको छ । माटो र नदीजन्य सामग्री नपाएको अवस्थामा अबको १५ दिनमा सबै काम बन्द गर्ने अवस्था सिर्जना हुने निर्माण व्यवसायीको दाबी छ । 

पछिल्लो ४/५ महिनादेखि आयोजनाले माटो पाउन सकेको छैन । नदीजन्य सामग्री र भस्कट (ग्राभेल) अभाव पनि बढ्दै गएको छ । त्यसले पुल, कल्भर्ट र नाली निर्माण सकिएको स्थानमा बाटोको दुवैतर्फको भाग पुर्ने माटो र भस्कट नभएपछि एक महिनादेखि काम प्रभावित हुँदै आएको थियो । अब बन्दै गर्ने अवस्थामा पुगेको हो । निर्माण सामग्रीको सबै भन्दा धेरै अभाव आयोजनाको लट १ मा छ । यो भनेको रूपन्देहीको बुटवलदेखि कोठी नदीसम्मको क्षेत्र हो । बुटवलको पाखापानीदेखि कोठी नदीसम्मको क्षेत्रमा धेरै स्थानमा ठूलो परिमाणमा माटो र भस्कट आवश्यक पर्छ । लट २ अर्थात् कोठी नदी पश्चिम बेल नदीसम्मको कपिलवस्तुतिरको क्षेत्रमा यस्तो समस्या छैन । 

बुटवलदेखि कोठी नदीसम्मको लट १ का लागि मात्रै माटो तथा भस्कट ८ लाख ७९ हजार १ सय ६९ घनमिटर आवश्यक पर्छ । नदीजन्य सामग्री ८ लाख ७१ हजार ४६ घनमिटर आवश्यक पर्ने आयोजनाको तथ्यांक छ । तर, अहिलेसम्म ६९ हजार २ सय ७७ घनमिटर माटो तथा भस्कट र ६२ हजार ५ सय ९७ घनमिटर नदीजन्य पदार्थ प्राप्त भएको छ । निर्माण व्यवसायीले वैकल्पिक स्रोतबाट ६० हजार ४ सय १० घनमिटर व्यवस्थापन गरेको छ । बाहिरी व्यवस्थापन र सरकारी स्रोतबाट प्राप्त गरेको समेत गर्दा पनि अहिलेसम्म १ लाख २३ हजार ७ सय घनमिटर उपलब्ध भएको निर्माण कम्पनीका सीएम गौरीशंकर महतोले बताए । ‘अझै झण्डै ७ लाख घनमिटर माटो र भस्कट जरुरी छ,’ उनले भने, ‘त्यो नभएपछि नाली, वाल र कल्भर्टको काम सकिएकाले अन्य काम रोक्नुपर्ने अवस्था आयो ।’ नदीजन्य सामग्री भने ७ लाख ४८ हजार घनमिटर आवश्यक पर्ने उनले बताए । 

एसियाली मापदण्डअनुसार विस्तार भइरहेको सडकका लागि माटो, भस्कट (ग्राभेल) र नदीजन्य पदार्थको आपूर्तिका लागि संघीय सरकारले स्थानीय तहहरूलाई परिपत्र गरेको छ । यस सडक खण्डको क्षेत्रमा पर्ने रूपन्देहीका बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, कञ्चन र गैडहवा गाउँपालिका एवं सडक क्षेत्रमा नपरे पनि नजिकको भएकाले पाल्पाको तिनाउ गाउँपालिकासँग सामग्री उपलब्ध गराउनका लागि सम्झौता भएको थियो । त्यही अनुसार निर्माण व्यवसायीले सैनामैना नगरपालिकालाई माटो र ग्राभेलका लागि १ करोड ७२ लाख ४५ हजार ८ सय ३२ रुपैयाँ राजस्व बुझाएको छ । तर, माटो र ग्राभेलका लागि वन कार्यालयले रोकेपछि ढुवानी हुन सकेको छैन । त्यस्तै गैडहवा गाउँपालिकालाई ३ करोड ३२ लाख ९० हजार रकम बुझाएको छ । त्यहाँबाट १ लाख २७ हजार ३ सय ६० घनमिटर माटो ल्याउनुपर्नेमा वन कार्यालयले रोक्का गरिदिएपछि ढुवानी हुन पाएन । ग्राभेल ढुवानीका लागि बुटवल उपमहानगरपालिकालाई ७१ लाख ८३ हजार बुझाएको भए पनि स्थानीयको अवरोधले ढुवानी हुन नसकेको निर्माण व्यवसायीका कन्ट्रयाक्ट म्यानेजर महतोले बताए ।

सडक निर्माणका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सम्झौता गरेका छन् । काम भने आशिष निर्माण सेवाले गरिरहेको छ । २०८० कात्तिक ४ गतेदेखि कार्यान्वयन हुने गरी २०८० असार १३ गते आयोजनाको सम्झौता भएको थियो । २०८१ माघ ११ गते शिलान्यास गरिएको सडक विस्तार २०८४ कात्तिक ३ गते सम्पन्न गर्नुपर्ने सम्झौता छ । बुटवलदेखि गोरुसिंगेसम्मको ४९ किलोमिटर सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा सम्झौता भएको थियो ।

अबको दुई वर्षभित्रै निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म सडक विस्तारको भौतिक प्रगति भने २३ प्रतिशत हाराहारी मात्र रहेको निर्माण आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् । ‘आयोजनाले असार मसान्तसम्म ५० प्रतिशत काम सक्ने लक्ष्य लिएर काम गरिरहेको थियो । निर्माण व्यवसायीबाट पनि तीव्र गतिमै काम भइरहेको थियो,’ उनले भनिन्, ‘तर, अहिले निर्माण सामग्री नै अभाव छ । बुटवल उपमहानगरपालिकाबाट समेत पर्याप्त सामग्री पाइएको छैन ।’ माटोकै अभावले कालोपत्रका लागि तयार भएको १० किलोमिटर सडकको काम नै रोकिएको उनले बताइन् । सुनिश्चित भएको र तोकिएको राजस्व बुझाएका स्थानीय तहबाट समेत सामग्री ढुवानी गर्न रोकिएपछि समस्या भएको आयोजनाले जनाएको छ । आयोजनाको २०८१ माघ ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका थिए । स्थानीय स्तरमा उपलब्ध हुने सामग्री अभावले बाहिरबाट आयात गरिएका सामानबाट निर्माण सम्भव भएका काम मात्र अहिले भइरहेको आयोजना प्रमुख न्यौपानेले बताइन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully