तीन ठूला लघुवित्त एकीकरणको समझदारी 

मोरङको कटहरीमा मुख्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेको कोहलपुरस्थित युनिक नेपाल लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा रहेको मानुषी लघुवित्तबीच मर्जरका लागि समझदारी भएको हो ।

चैत्र ३०, २०८२

पर्वत पोर्तेल

Understanding on the integration of three major microfinance institutions

विराटनगर — नेपालको लघुवित्त क्षेत्रमा सेवा विस्तार र प्रतिस्पर्धात्मक क्षमतालाई बलियो बनाउने उद्देश्यसहित तीन ठूला संस्थाबीच एकीकरण प्रक्रिया सुरू भएको छ । 

मोरङको कटहरीमा मुख्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बाँकेको कोहलपुरस्थित युनिक नेपाल लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा रहेको मानुषी लघुवित्तबीच मर्जरका लागि समझदारी भएको हो ।

यो सहमति संस्थागत एकीकरण मात्र नभई लघुवित्त क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, पूँजी सुदृढीकरण र प्रविधिमैत्री सेवातर्फको रणनीतिक कदमका रूपमा हेरिएको छ । पछिल्लो समय लघुवित्त संस्थाहरूमा देखिएको पूँजीको दबाब, नियामकीय मापदण्डको कडाइ र डिजिटल सेवाको आवश्यकतालाई मध्यनजर गर्दै यस्तो एकीकरण अघि बढाइएको हो ।

समझदारीपत्रमा जीवन विकासका अध्यक्ष विक्रमराज सुवेदी, युनिक नेपालका अध्यक्ष शिवबहादुर चौधरी र मानुषी लघुवित्तकी सञ्चालक वीणा श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जरपछि संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै रहनेछ भने केन्द्रीय कार्यालय मोरङको कटहरीमा रहनेछ ।

युनिक नेपाल र मानुषी लघुवित्तका केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयका रूपमा रूपान्तरण गर्ने योजना छ, जसले स्थानीय तहमा सेवा पहुँच अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ । प्रमुख कार्यकारी अधिकृतका रूपमा हालका सीईओ सञ्जयकुमार मण्डल नै निरन्तर रहनेछन् ।

तीन संस्थाको संयुक्त पुँजी आधार उल्लेखनीय रूपमा विस्तार हुने देखिएको छ । हाल जीवन विकासको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रहेको छ भने युनिक नेपाल र मानुषीको क्रमशः करिब १५ करोड र ११ करोड रुपैयाँ छ । मर्जरपछि संस्थाले ठूलो वित्तीय आधारसहित सेवा विस्तार, जोखिम व्यवस्थापन र नवीन प्रविधिमा लगानी गर्न सक्ने विश्वास गरिएको छ ।

सेवाग्राही आधारका हिसाबले पनि यो एकीकरण महत्त्वपूर्ण मानिएको छ । जीवन विकासले हाल ३१ जिल्लामा ३ लाख १५ हजारभन्दा बढी सदस्यलाई सेवा दिइरहेको छ भने युनिक नेपाल र मानुषीले क्रमशः ८० हजार र ३४ हजारभन्दा बढी सेवाग्राही समेटेका छन् । मर्जरपछि संयुक्त रूपमा देशका धेरै जिल्लामा विस्तारित पहुँचसहित सेवा दिन सक्ने अवस्था बन्नेछ ।

मर्जर प्रक्रिया अगाडि बढाउन ६ सदस्यीय संयुक्त समिति गठन गरिएको छ, जसले सम्पूर्ण एकीकरण प्रक्रिया समन्वय गर्नेछ । समितिको संयोजकमा प्रकाशकुमार श्रेष्ठ छन् भने अन्य सदस्यहरूमा अशोक सिटौला, पुरनप्रसाद चौधरी, सन्तराम थारु, नवीना ढाख्वा शाक्य र ताराकुमार रिजाल रहेका छन् । सदस्य सचिवको जिम्मेवारी दामोदर रेग्मीलाई दिइएको छ ।

संस्थाहरूले २०८३ असार मसान्तभित्र मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरू गर्ने लक्ष्य राखेका छन् । यस एकीकरणलाई लघुवित्त क्षेत्रमा आकार, क्षमता र प्रविधिको संयोजनमार्फत नयाँ प्रतिस्पर्धात्मक मोडेलको सुरुवातका रूपमा हेरिएको छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully