आठ महिनामा कुन क्षेत्रमा कति कर्जा प्रवाह, केमा बढ्यो केमा घट्यो ?

विज्ञ भन्छन्– ‘चालु आर्थिक वर्षमा राष्ट्र बैंकले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य तय गरेको छ, यसका लागि करिब साढे ५ खर्ब रुपैयाँ थप कर्जा विस्तार गर्नुपर्छ, आठ महिनासम्मको अवस्था हेर्दा वार्षिक लक्ष्य भेट्ने सम्भावना छैन’

चैत्र २९, २०८२

यज्ञ बञ्जाडे

How much credit flowed in which sector in eight months, what increased and what decreased?

What you should know

काठमाडौँ — चालु आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुनसम्म) बैंक तथा वित्तीय संस्थाले २ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँ थप कर्जा विस्तार गरेका छन् । गत असारको तुलनामा यो ४.४ प्रतिशतले बढेको हो । यससँगै ५७ खर्ब ४१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

अर्थतन्त्र लामो समयदेखि शिथिल रहेको, उद्योगहरू आधाभन्दा कम क्षमतामा सञ्चालन भएको, लगानीको वातावरण बन्न नसकेको लगायत कारण बैंक तथा वित्तीय संस्थाले अपेक्षित रूपमा कर्जा विस्तार गर्न नसकेको जानकार बताउँछन् ।

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य तय गरेको छ । यसका लागि करिब साढे ५ खर्ब रुपैयाँ थप कर्जा विस्तार गर्नुपर्छ । आठ महिनासम्मको अवस्था हेर्दा वार्षिक लक्ष्य भेट्ने सम्भावना नरहेको जानकारको भनाइ छ ।

मुलुकको पछिल्लो घटनाक्रमले लगानी वातावरण बन्न नसकेको वित्तीय क्षेत्रमा कर्जाको माग बढ्न नसकेको हो । हाल निजी क्षेत्रको आत्मविश्वास असाध्यै घटेकाले उनीहरूको आत्मविश्वास बढाउन नयाँ सरकारले मिहिनेत गर्नुपर्ने जानकार बताउँछन् ।

गत आर्थिक वर्षको आठ महिनामा ३ खर्ब ४ अर्ब ८२ करोड रुपैयाँ बराबर कर्जा विस्तार भएको थियो । २०८० असारको तुलनामा यो ६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

‘२०८२ फागुनसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ, ‘गत वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ र ३६.८ प्रतिशत थियो ।’

गएको आठ महिनामा वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जा वृद्धिदर ४.६, विकास बैंकहरूको ३.५ र वित्त कम्पनीको १.९ प्रतिशत रहेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा (सुरक्षण) १५ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत छ । २०८१ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.५ र ६५.२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

गएको आठ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा १०.५, निर्माण क्षेत्रको ८.८, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रको ७.७, औद्योगिक उत्पादनको ५.६ र सेवा उद्योगको कर्जा १.८ प्रतिशतले बढेको छ । तर सो अवधिमा कृषि क्षेत्रतर्फको कर्जा २ प्रतिशत र वित्त बिमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

गत साउनदेखि फागुनसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये ट्रस्ट रिसिट (आयात) कर्जा २३.२, मार्जिन प्रकृतिको कर्जा ११.१, हायर पर्चेज कर्जा ८.६, माग तथा अन्य चालु पुँजी कर्जा ३.९ प्रतिशत, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.५, आवधिक कर्जा ३.२ र क्यास क्रेडिट कर्जार् १.६ प्रतिशतले बढेको छ । उक्त अवधिमा ओभरड्राफ्ट (अधिविकर्ष कर्जा) २.७ प्रतिशतलेेेे घटेको देखिन्छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन ६.६ प्रतिशतले बढेर ४ खर्ब ८२ अर्ब १ करोड थपिएको छ ।

चैत तेस्रो त्रैमासको अन्तिम महिना भएकाले बैंकहरूको ध्यान कर्जा असुलीमा गएको र कर्जा माग पनि अपेक्षित रूपमा बढ्न नसकेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए । ‘२/४ वटा कर्जा बढ्दैमा समग्र कर्जा माग बढेको भन्न सकिन्न । किनकि अहिले तेस्रो त्रैमासको अन्तिम महिना भएकाले प्रायः बैंकको ध्यान कर्जा असुलीमा छ,’ उनले भने, ‘निक्षेप बढिरहेको छ । तर कर्जा माग बढेको छैन ।’

इजरायल–इरान युद्धको असर नेपालको बजारमा देखिन थाले पनि वित्तीय प्रणालीमा अझै नदेखिएको कोइरालाले जनाए । ‘छिमेकी राष्ट्रसहित अरू देशका गतिविधि हेर्दा इजरायल–इरान युद्धको असरबाट नेपाली अर्थतन्त्र पनि अछूत रहने देखिएको छैन,’ उनले भने, ‘यद्यपि तत्काल बैंकिङ क्षेत्रमा असर देखिइसकेको छैन ।’

चालु आर्थिक वर्षको नौ महिना (२४ चैतसम्म) सम्म बैंक तथा वित्तीय संस्थामा सवा १२ खर्ब ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ । करिब तीन वर्ष अघिदेखि बैंकहरूमा तरलता थुप्रिँदै आएको छ । पछिल्ला दिनमा रेमिट्यान्समा आएको बढोत्तरीले बैंकमा पैसा थुप्रिने क्रम तीव्र बनेको हो । २४ चैतसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७८ खर्ब १६ अर्ब छ । सोही अवधिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.०३ प्रतिशत छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५८ खर्ब ४४ अर्ब छ । उल्लिखित तथ्यांकका आधारमा असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा ११ खर्ब ९० अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम (अधिक तरलता) देखिन्छ । तर बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको २० प्रतिशत रकम बैंकमा नगद राख्नुपर्छ ।

यसरी सबै बैंक तथा वित्तीय संस्थाले २० तरलता कायम गर्नका लागि आफूसँगै राख्नुपर्ने रकम सीडी अनुपातको करिब १ प्रतिशत हुन आउँछ । यसका आधारमा बैंकलाई निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न छुट भए पनि व्यवहारमा उनीहरूले ८९ प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न पाउँछन् । यसका आधारमा पनि हाल बैंक तथा वित्तीय संस्थामा ११ खर्ब १२ अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully