सामाजिक सुरक्षा प्रणाली बलियो बनाउन आईएलओको आह्वान

कभरेज, सुविधा र वित्तीय व्यवस्थापनमा रहेका कमजोरीका कारण बदलिँदो विश्व अर्थतन्त्रमा लाखौं श्रमिक असुरक्षित बनेको आईएलओको नयाँ प्रतिवेदनले औंल्याएको छ ।

चैत्र २७, २०८२

होम कार्की

ILO calls for strengthening social security systems

What you should know

काठमाडौँ — अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्वभर सामाजिक सुरक्षा प्रणाली कमजोर बन्दै गएको भन्दै त्यसलाई तत्काल सुदृढ गर्न आह्वान गरेको छ । कभरेज, सुविधा र वित्तीय व्यवस्थापनमा रहेका कमजोरीका कारण बदलिँदो विश्व अर्थतन्त्रमा लाखौं श्रमिक असुरक्षित बनेको आईएलओको नयाँ प्रतिवेदनले औंल्याएको छ ।

'परिवर्तनशील श्रम बजारमा सार्वभौमिक सामाजिक सुरक्षा' शीर्षकको प्रतिवेदनले सबै प्रकारका रोजगारीमा रहेका श्रमिकलाई सामाजिक जोखिमबाट जोगाउन बलियो सामाजिक सुरक्षा प्रणाली अपरिहार्य भएको जनाएको छ । अस्थायी, आंशिक समय र स्वरोजगारमा रहेका श्रमिकहरू अझै पर्याप्त सुरक्षाबाट बाहिर रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनले सूक्ष्म तथा साना उद्योग, कृषि, घरेलु कामदार र स्वरोजगार क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई विशेष प्राथमिकतामा राख्दै सामाजिक बीमा कभरेज विस्तार गर्न सुझाव दिएको छ । यसले अनौपचारिक क्षेत्रबाट औपचारिक क्षेत्रमा श्रमिकको रूपान्तरणलाई पनि सहज बनाउने बताइएको छ ।

आईएलओका अनुसार, कभरेज मात्र होइन, उपलब्ध सुविधा पनि पर्याप्त र प्रभावकारी हुन जरुरी छ। न्यूनतम सुरक्षाबाट माथि उठेर श्रमिकको जीवनचक्रभर—बाल्यकालदेखि वृद्धावस्थासम्म—विश्वसनीय सुरक्षा उपलब्ध गराउनुपर्ने प्रतिवेदनको निष्कर्ष छ। रोजगारी परिवर्तन, बेरोजगारी, बिरामी वा अपाङ्गता जस्ता अवस्थामा पनि निरन्तर सहयोग आवश्यक हुने औंल्याइएको छ।

सामाजिक सुरक्षा सुदृढ गर्न दिगो र न्यायसंगत वित्तीय स्रोत आवश्यक रहेको आईएलओले जनाएको छ। सामाजिक सुरक्षा कोष, प्रगतिशील कर प्रणाली र आवश्यक परे सरकारी अनुदानमार्फत कमजोर आय भएका श्रमिकलाई समेट्नुपर्ने सुझाव दिइएको छ । वित्तीय क्षमता कमजोर भएका देशहरूका लागि अन्तर्राष्ट्रिय सहयोग पनि उत्तिकै महत्वपूर्ण हुने प्रतिवेदनमा उल्लेख छ।

जलवायु परिवर्तन, प्रविधिको तीव्र विकास र जनसांख्यिकीय परिवर्तनका बीच सामाजिक सुरक्षा प्रणाली अझै महत्वपूर्ण बन्दै गएको आईएलओको निष्कर्ष छ। यस्ता प्रणालीले श्रमिकलाई परिवर्तनसँग जुध्न सक्षम बनाउने, दिगो अर्थतन्त्रतर्फ रूपान्तरणमा सहयोग गर्ने र सामाजिक एकता मजबुत बनाउने प्रतिवेदनले जनाएको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully