नाइलन, एक्रिलिक र पोलिस्टरजस्ता कच्चापदार्थको मूल्य चुलिादा उत्पादन लागत १५ प्रतिशतसम्म वृद्धि
What you should know
काठमाडौँ — पश्चिम एसियामा चर्किएको इरान–इजरायल द्वन्द्वको प्रत्यक्ष असर नेपालको तयारी पोसाक (गार्मेन्ट) उद्योगमा देखिन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धि र आपूर्ति शृंखलामा आएको अवरोधका कारण नेपाली गार्मेन्टको उत्पादन लागत १० देखि १५ प्रतिशतसम्म बढेको उद्योगी बताउँछन् ।
द्वन्द्वका कारण ऊर्जा केन्द्रहरू अस्थिर बन्दा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासबाट बन्ने पेट्रोकेमिकल्स महँगिएका छन् । यसले विशेषगरी कृत्रिम रेसा (सिन्थेटिक फाइबर) बाट बन्ने नाइलन, एक्रिलिक र पोलिस्टरजस्ता कच्चा पदार्थको मूल्य ह्वात्तै बढाएको छ ।
अर्कोतिर कच्चा पदार्थको मूल्य मात्र वृद्धि नभई कार्गो भाडादेखि समयमा सामान नपुग्ने र तयारी सामानसमेत रोकिँदा गार्मेन्ट उद्योग प्रभावित हुन थालेका छन् । कच्चा पदार्थको मूल्य मात्र नभई कार्गो भाडासमेत अचाक्ली बढेको ३८ वर्षदेखि सञ्चालनमा रहेको हेरिटेज फेसन उद्योगका संस्थापक एवं अध्यक्ष सञ्जय अग्रवालले जनाए ।
‘थाइल्यान्ड, जापान, भारत, चीन र ताइवानबाट आउने कच्चा पदार्थको ढुवानी खर्च बढेको छ,’ अग्रवालले भने, ‘पहिले तीन दिनमा आइपुग्ने सामान आउन अहिले एक साता लाग्छ, त्यो पनि टुंगो छैन ।’ तयारी सामान पठाउन नसकिएको र नयाँ अर्डरसमेत नआएकाले उद्योगीहरू अहिले पर्ख र हेरको अवस्थामा रहेको उनले जनाए । ‘हाम्रा सिपमेन्ट होल्डमा छन्, तयार भएका सामान पठाउन सकेका छैनौं,’ उनले भने, ‘नयाँ अर्डर आएका छैनन् । पर्ख र हेरको अवस्थामा छौं ।’
अर्को नेपाल ब्रान्डमार्फत पनि नेपालमै बनाएको कपडा बेचिरहेका अग्रवालले आफूहरू कटनमा मात्रै काम गर्ने भएकाले तत्काल फेब्रिकमा समस्या नआइसकेको उनले बताए । तर धागो, बटन, पोलिथिन ब्याग, जिपरलगायत गार्मेन्ट उद्योगका लागि अत्यावश्यक वस्तुमा समेत मूल्य वृद्धि भइसकेको उद्योगी बताउँछन् ।
देशभित्रै उत्पादन लागत १५ प्रतिशतसम्म बढिसकेको नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघका अध्यक्ष किशोर नेपालले जनाए । ‘पहिले ३०–३५ दिनमा आइपुग्ने कन्टेनर अहिले दुई महिनासम्म लाग्न थालेको छ,’ उनले भने । कन्टेनर भाडा ३ हजार ४ सय डलरबाट बढेर ४ हजार ८ सय डलर पुग्दा उद्योगीलाई ठूलो आर्थिक भार परेको समेत उनको भनाइ छ ।
किरोज फेसनका सञ्चालकसमेत रहेका नेपालले चीनसँगका प्रमुख नाका तातोपानी र केरुङमा सडक निर्माणका कारण १५ दिन खुल्ने र १५ दिन बन्द हुने व्यवस्थाले थप सकस निम्त्याएको छ । कुहिने र बिग्रने सामान पहिलो प्राथमिकतामा पर्दा कपडालगायत सामग्री भन्सारबाट सामान छुटाउन ढिलाइ हुने उनको भनाइ छ ।
गार्मेन्टका लागि चीन, भारतलगायत विभिन्न मुलुकबाट अत्यधिक कच्चा पदार्थ आउने भए पनि कच्चा तेलको मूल्यवृद्धि हुँदा कच्चा पदार्थको मूल्य पनि वृद्धि भएको उनको भनाइ छ ।
समग्रमा माग घटेको, हर्मुज जलमार्गमा भएको अवरोधका कारण समयमा सामान पुर्याउन नसकिने, महँगो भाडाका कारण उद्योगहरूमा असर परेको उनको भनाइ छ । संघमा दर्ता ४ सय उद्योगहरू छन्, जसले आन्तरिक बजारसँगै तयारी पोसाक निर्यात गर्ने गर्छ ।
नेपाल आउने सामानको मूल्यवृद्धि नै अहिलेको मुख्य चुनौती रहेको ललितपुरको इमाडोलस्थित थ्रेड गार्मेन्टका सञ्चालक कृष्णराज तिमिल्सिना बताउँछन् । टेक्सटाइल उद्योग आफैं ऊर्जा–निर्भर भएकाले स्पिनिङ, बुनाइ, रंगाइ र फिनिसिङ प्रक्रियामा प्रयोग हुने बिजुली, इन्धनको लागत वृद्धि हुँदा उत्पादन लागत थपिएको उनको भनाइ छ । उत्पादन लागत निर्माता कम्पनीहरूले ब्रान्ड र विक्रेतामा सार्दा कपडाको खुद्रा मूल्यको भार उपभोक्तामाथि पर्ने देखिएको छ । तर पोसाक वैकल्पिक खर्च भएकाले आर्थिक अनिश्चितता वा मुद्रास्फीति बढ्दा उपभोक्ताहरूले लत्ताकपडामा खर्च घटाउने हुँदा तयारी पोसाकको माग घट्ने व्यवसायी बताउँछन् ।
दक्षिण एसियाको करिब ५० अर्ब डलरको तयारी पोसाक निर्यात बजार नै अहिले संकटमा परेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ । खाडी क्षेत्रबाट आउने पेट्रोकेमिकलमा अवरोध हुँदा नेपाल मात्र नभई भारत, बंगलादेश र भियतनाम जस्ता ठूला निर्यात मुलुकसमेत प्रभावित हुने जनाइएको छ । साना तथा मझौला उद्योगका लागि यो संकट दीर्घकालीन रूपमा रोजगारी कटौतीका कारण बन्न सक्नेसमेत जानकारको भनाइ छ ।
