कर्णालीको विद्युत् क्षमता १८ हजार, उत्पादन १० मेगावाट मात्र

कर्णालीका ३ लाख ९ हजार ३ सय ७६ घरधुरीमध्ये एक लाख ३५ हजार परिवारमा मात्र केन्द्रीय प्रसारण लाइनको विद्युत्

चैत्र २५, २०८२

कृष्णप्रसाद गौतम

Karnali's electricity capacity is 18,000, but production is only 10 megawatts.

What you should know

सुर्खेत — हुम्ला सदरमुकाम सिमकोटसहित खार्पुनाथ गाउँपालिकाका २ हजार ३ सय घरमा हिल्दुम साना जलविद्युत् आयोजनाले विद्युत् पुर्‍याएको छ । तर हिमपात र वर्षायाममा विद्युत् आपूर्ति बन्द हुन्छ । महिनैपिच्छे टर्वाइन मेसिन बिग्रिँदा र नहर भत्किँदा पनि हुम्लावासी अन्धकारमा बस्न बाध्य हुन्छन् ।

‘बत्ती भन्नु मात्रको छ, सामान्य हावा लाग्दा र पानी पर्दा आपूर्ति बन्द हुन्छ,’ सिमकोट–७ का पीताम्बर रोकायाले भने, ‘विद्युत् नभए फोन र इन्टरनेट सेवा अवरुद्ध हुन्छ, कहिलेकाहीं त एक सातासम्म सञ्चार सम्बन्धबाट विच्छेद हुन्छौं ।’ सिमकोटकै पेम्बा लामाका अनुसार बत्ती गएका बेला स्थानीय व्यापारीले जेनेरेटरमार्फत मोबाइल चार्ज गर्दा प्रतिघण्टा १ सय रुपैयाँसम्म लिने गरेका छन् । 

राष्ट्र बैंकको नेपालको जनसांख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन–२०८१ अनुसार कर्णाली प्रदेशभरि विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भए पनि अहिले १० मेगावाट मात्र उत्पादन भइरहेको छ । आफ्नै प्रदेशमा विद्युत् उत्पादन नहुँदा कर्णालीवासी लामो समयदेखि अनियमित लोडसेडिङ र लो भोल्टेजको समस्या भोग्न बाध्य छन् । राष्ट्र बैंकको प्रतिवेदनअनुसार अहिले कर्णालीमा दैलेखका पदमखोलाले ४.८ र द्वारीखोलाले ३.७५ मेगावाट विद्युत् उत्पादन गरिरहेका छन् भने अन्य सबै लघु र साना जलविद्युत् योजना मात्र हुन् ।

राष्ट्र बैंक कर्णाली प्रदेशका सहायक निर्देशक पूर्णबहादुर नेपालीले कर्णाली, तिला र भेरी नदीमा गरिएको सम्भाव्यता अध्ययनअनुसार झन्डै १८ हजार मेगावाट बिजुली निकाल्न सकिने बताए । उनका अनुसार दैलेखबाट ८.५५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने अरू सबै जिल्लामा एक मेगावाटभन्दा कमका आयोजना छन् । अहिले हुम्लाबाट ०.५० मेगावाट, मुगु र कालीकोटबाट ०.४०, जुम्लाबाट ०.२० र रुकुम पश्चिमबाट ०.३५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । 

नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयको तथ्यांकअनुसार ४ हजार ५ सय ४१ मेगावाट बराबरका १९ आयोजनाले सर्वेक्षण, २६ मेगावाटका ४ आयोजनाले उत्पादन अनुमतिपत्र, १ हजार ९१ मेगावाट बराबरका ७ आयोजनाले सर्वेक्षण अनुमतिपत्रका लागि दरखास्त दिएका छन् । कर्णालीमा बन्न लागेका अधिकांश ठूला विद्युत् योजना अलपत्र परेपछि बाहिरकै आयोजनाको बिजुलीको भर पर्नुपरेको प्राधिकरणका प्रादेशिक प्रमुख शशिभूषण शाहले बताए । 

उनका अनुसार कर्णालीका ३ लाख ९ हजार ३ सय ७६ घरधुरीमध्ये एक लाख ३५ हजार परिवारमा मात्र केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा छ । झन्डै ३० हजार परिवारले लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गरिरहेका छन् । बाँकी झण्डै १ लाख ४४ हजार परिवारमा वैकल्पिक ऊर्जाहरू सौर्य ऊर्जा, टुकी, दियालोलगायतको प्रयोग हुन्छ ।

डोल्पामा जगदुल्ला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १ सय ६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको काम ठेक्का सम्झौता भएको ६ महिना बित्दासमेत अझै सुरु भएको छैन । आयोजना निर्माणका लागि जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड, चीनको जियाङसी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन लिमिटेड र एएनके कन्स्ट्रक्सन नेपालको जेभीबीच गत साउनमा सम्झौता भएको थियो । ३० असार २०८६ भित्र १३ अर्ब ७३ करोड रुपैयाँमा उक्त आयोजना निर्माणका लागि सम्झौता भएको कम्पनीका सीईओ सञ्जय सापकोटाले बताए । 

उनका अनुसार आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको छ भने झन्डै २ सय ६० रोपनी जग्गा अधिग्रहण भइसकेको छ । तर आयोजनाको डिजाइन स्वीकृति नहुँदा काममा ढिलाइ भइरहेको हो ।

कुल २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा नबिल बैंकले ४ अर्ब ४० करोड, कर्मचारी सञ्चय कोषले ४ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेस्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन भइसकेको सीईओ सापकोटाले जानकारी दिए । 

९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको जिम्मा लिएको भारतीय कम्पनी जीएमआरले अहिलेसम्म लगानी जुटाउन सकेको छैन भने जाजरकोटस्थित ४ सय १० मेगावाटको नलगाढ जलाशययुक्त आयोजनामा डीपीआरको कामसमेत सकिएको छैन । ६ सय ८८ मेगावाटको वेतन कर्णाली आयोजनाको काम पनि लामो समयदेखि सुस्त छ । भेरी नदीलाई डाइभर्सन गरेर बबई नदीमा खसालेर यहाँको पानी लुम्बिनी प्रदेशमा लैजाँदा ठूलो असर पर्ने देखिएको ऊर्जाविज्ञ कमल शर्माले बताए । 

कर्णालीमा अझै ६७ प्रतिशत नागरिक अहिले पनि टुकी र सौर्य ऊर्जाको भरमा रहेको प्रदेश योजना आयोगको तथ्यांक छ । कर्णालीमा ३३.३९ प्रतिशत (५लाख ६१ हजार) नागरिक मात्रै विद्युत्को प्रत्यक्ष पहुँचमा छन् । बाँकी १३ लाख नागरिक टुकी, वैकल्पिक ऊर्जा र दियालोकै भरमा रहेको आयोगको तथ्यांक छ । ‘जबसम्म सबै घरधुरीमा बिजुली पुग्दैन, तबसम्म कर्णालीको सबै पूर्वाधार विकास अधुरै हुन्छ,’ आयोगका सदस्य अशोकनाथ योगीले भने, ‘बन्न लागेका ३/४ वटा ठूला विद्युत् आयोजनाले पूर्णता पाए भने पनि कर्णाली बिजुली बेचेरै आत्मनिर्भर बन्न सक्छ ।’

कर्णालीमा ४ सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाको काम लामो समयदेखि अलपत्र छ । जाजरकोटको नलगाड नगरपालिकास्थित दल्लीमा भूमिगत गृह र बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध निर्माण गर्ने योजनासहित जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) दुई वर्षअघि नै बनाइएको थियो । तर लगानी जुटाउन नसक्दा आयोजना अलपत्र परेको आयोजनाका इन्जिनियर पदम थापाले बताए । उनले आयोजना सम्पन्न गर्न एक खर्ब २३ अर्ब रुपैयाँ लाग्ने जानकारी दिए । 

‘स्वदेशी लगानी मात्रले आयोजना निर्माण सम्भव छैन,’ थापाले भने, ‘विदेशी लगानी जुटाउन सकिएको छैन ।’ आयोजनाले झन्डै ८ सय परिवारलाई मुआब्जा दिइसकेको छ भने ५ सय ५५ वटा घरको क्षतिपूर्ति कट्टी गर्ने कि नगर्ने भन्ने विवाद छ । २०७३ मा दुई वर्ष सात महिनाभित्र डीपीआर तयार गर्ने गरी अस्ट्रेलियन कम्पनी स्मेक, एमडब्लूएच र नेपालको उदय जेभीले ठेक्का पाएका थिए । तर डीपीआर हुनै ७ वर्ष लागेको नलगाड नगर प्रमुख डम्बरबहादुर रावतले बताए । ‘डीपीआरमा पनि ढिलाइ भयो,’ उनले भने, ‘अब आयोजना कहिले बन्ने हो केही निश्चित छैन ।’ आयोजनाको ईआईएको काम सकिएको छ ।

लामो समयदेखि अलपत्र परेको अर्को आयोजना हो, माथिल्लो कर्णाली । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले वित्तीय व्यवस्थापन गर्न नसक्दा लामो समयदेखि आयोजना अलपत्र परेको हो । लगानी बोर्डबाट गत मंसिरमा स्वीकृत सेयर संरचना परिवर्तनलाई लिएर सर्वोच्च अदालतमा परेको रिटमा निर्देशनात्मक आदेश आए पनि पूर्णपाठ नआउँदा वित्तीय व्यवस्थापनको प्रक्रिया अघि बढाउन नसकिएको लगानी बोर्डले जनाएको छ ।

९ सय मेगावाट क्षमताको जलविद्युत् आयोजनामा जीएमआरको ३४, भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् विकास निगम (एसजेभीएन) को ३४, भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी (इरेडा) को ५ र नेपाल विद्युत् प्राधिकरणको २७ प्रतिशत सेयर रहने गरी वित्तीय व्यवस्थापनका लागि कागजात पेस गरेको थियो । बोर्डको ६० औं बैठकले जीएमआरले बुझाएको उक्त सेयर संरचनालाई स्वीकृत गरेको थियो । यसअघि भने जीएमआरको ७३ र नेपाल विद्युत् प्राधिकरणको २७ प्रतिशत सेयर हिस्सा थियो । तर अहिले जीएमआरले लगानी जुटाउन इरेडा र एसजेभीएनलाई सेयर दिएको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पूर्णपाठ आएपछि बोर्डले निर्णय गर्ने बताए ।

कर्मचारी सञ्चय कोषको अगुवाइमा निर्माण हुन लागेको ४ सय ३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजनाको काम पनि अझै अनिश्चित छ । आयोजनाका लागि विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) अन्तिम चरणमा पुगेको कम्पनीका प्रबन्ध सञ्चालक कृष्णप्रसाद आचार्यले बताए । पीपीए भएपछि वित्तीय व्यवस्थापन अघि बढ्ने र यसका लागि बैंक तथा वित्तीय संस्थासँग छलफल भइरहेको उनले जानकारी दिए । १० फागुन २०७८ मा विद्युत् विकास विभागमा निवेदन दिएको बेतन कर्णालीले १५ असार २०८२ मात्रै अनुमतिपत्र पाएको हो । गत मंसिरमा बसेको लगानी बोर्डको बैठकले आयोजनाका लागि ९३ अर्ब ४० करोड ७ लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

त्यस्तै कालीकोटको पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका हुँदै बग्ने कर्णाली नदीको खण्डमा निर्माण हुन लागेको ४ सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजनाको काममा पनि ढिलाइ भइरहेको छ । आयोजना निर्माणका लागि नेपालका तर्फबाट विद्युत् उत्पादन कम्पनी लिमिटेड र भारतको सरकारी कम्पनी एनएचपीसीको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) ले सम्झौता गरेका छन् । 

एमओयूको मस्यौदाअनुसार एनएचपीसीको ५१ र भीयूसीएलको ४० प्रतिशत लगानीमा फुकोट कर्णाली आयोजना बनाउने तयारी गरिएको हो । तर दुवै पक्षको सम्झौतापछि अदालतमा मुद्दा परेका कारण आयोजना निर्माण अन्योलमा परेको हो । 

आयोजनाले सम्भाव्यता अध्ययनका क्रममा ५ सय २० मिटरको परीक्षण सुरुङ खनेको थियो । त्यो काम अन्तिम चरणमा पुर्‍याएका बेला भारतीय कम्पनीलाई ५१ प्रतिशत सेयर दिने सम्झौतापछि मुद्दा परेका कारण रोकिएको आयोजना प्रमुख हीरामान वाइवाले बताए । आयोजनाका लागि झन्डै १ खर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाबाट १ हजार १ सय ४० परिवार प्रभावित हुनेछन् ।

केन्द्रीय प्रसारण लाइन पनि भरपर्दो नहुँदा लो भोल्टेज र अनियमित लोडसेडिङको समस्या उस्तै छ । ‘केन्द्रीय लाइन भन्नु मात्र छ,’ वीरेन्द्रनगर–६ का पहलबहादुर केसीले भने, ‘एक घण्टामा ५/६ पल्ट बिजुली नगएको दिनै हुँदैन ।’ उनले बिजुली पटकपटक जाँदा विद्युतीय उपकरण बिग्रिने क्रम बढिरहेको बताए । केन्द्रीय लाइन विस्तार भए पनि भर नहुँदा सोलार हटाउन नसकेको जुम्ला खलंगाकी कमला देवकोटाले बताइन् ।  

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully