खुला सिमानाका छिद्रमार्फत हुने अनधिकृत आयात रोक्न नेपाली र भारतीय बजारबीच वस्तुको मूल्यमा ठूलो अन्तर नहुने गरी कर र महसुलका दरहरू समायोजन गर्नुपर्ने माग
काठमाडौँ — हचुवाको भरमा वस्तु आयातमा प्रतिबन्ध नलगाउन र आयातित वस्तु राजस्व बढी प्राप्त हुने शीर्षकमा राखेर जाँचपास गर्न दबाब दिने परिपाटी अन्त्य हुनुपर्ने माग उद्योगी व्यवसायीले गरेका छन् ।
खुला सिमानाका छिद्रमार्फत हुने अनधिकृत आयात रोक्न नेपाली र भारतीय बजारबीच वस्तुको मूल्यमा ठूलो अन्तर नहुने गरी कर र महसुलका दरहरू समायोजन हुनुपर्नेमा उनीहरूको जोड थियो । आयात निर्यातकर्ता व्यवसायीहरूको प्रतिनिधि संस्था नेपाल समुद्रपार निकासी पैठारी संघको ४५औं वार्षिक साधारणसभामा उनीहरुले यस्तो माग गरेका हुन् ।
कार्यक्रममा संघका अध्यक्ष शिवकुमार अग्रवालले खुला सिमानाका छिद्रमार्फत हुने अनधिकृत आयात रोक्न नेपाली र भारतीय बजारबीच वस्तुको मूल्यमा ठूलो अन्तर नहुने गरी कर र महसुलका दरहरू समायोजन गर्नुपर्नेमा जोड दिए । उनले आयात–निर्यातकर्ता व्यवसायीका चासो र नीतिगत सुधारका लागि नीतिगत र प्रक्रियागत कमजोरीलाई मिहिन ढंगले केलाउादै समाधानको उपाय समेत सुझाएका थिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले आगामी दिनमा उद्यमी व्यवसायीले सम्मानित महसुस हुने वातावरण सरकारले बनाउने बताए । चुनावबाट झन्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि वाचापत्रमार्फत सार्वजनिक गरेका ५ प्रतिबद्धता पूरा गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहेको भन्दै सांसद पराजुलीले बताए । उनले निकासी पैठारी ऐन बन्ने क्रममा रहेको र त्यसमा सरोकारवालाहरूसँग सहकार्य आवश्यक रहेको बताए । ‘व्यवसायीले सरकारलाई तिर्नुपर्ने राजस्व र शुल्कहरू अनलाइन तिर्न मिल्छ भने व्यवसायीले पाउने रिफन्ड अनलाइनबाट किन हुदैन ? यसमा भोलिदेखि नै काम सुरु गर्नुस् ,’ उनले भने ।
मुलुकलाई एफएटीएफको ग्रे–लिस्टबाट बाहिर निकाल्नुपर्ने अवस्थामा अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनु जरुरी रहेकोमा पराजुलीको जोड थियो । उनले व्यवसायीलाई नियत सफा राखेर काम गर्न सुझाए । ‘तपाईंहरू सफा नियत राखेर आउनुस्, कुन-कुन कानुन संशोधन गर्नुपर्छ गरौंला,’ उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीतिगत समस्या समाधानका लागि महासंघ र निजी क्षेत्रका अन्य संघसंस्थाले सहकार्य गर्नुपर्ने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रलाई सहयोग हुने खालको नीतिगत व्यवस्थाको आवश्यकता औंल्याउदैँ उत्पादन र निर्यातप्रवर्द्धनमा लाग्नुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेकुमार अग्रवालले जनताले चाहेको परिवर्तन र निजी क्षेत्रले चाहेको स्थायित्व आएकोले अब आर्थिक क्रान्ति हुनुपर्नेमा जोड दिए । नीतिगत कारणले १ लाख ५० हजार व्यवसायी कालोसूचीमा परेको औंल्याउँदै उनले बहुदरको मूल्य अभिवृद्धि कर बारे अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए ।
