तोकिएको समयभन्दा झण्डै एक वर्षअघि पहिलो चरण (सुरुङ निर्माण) को काम सकिएको भेरी बबई बहुउद्देश्यीय आयोजनाको दोस्रो र तेस्रो चरणको काममा ढिलाइ भएको हो ।
What you should know
सुर्खेत — राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणअन्तर्गत सिभिलतर्फको कामका लागि रमण कन्स्ट्रक्सन र चीनको ग्वाङ्डोन–युनाटियन जेभीले २०७६ साउनमा ठेक्का लियो । उसले चार वर्षका लागि ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँमा निर्माणको जिम्मा लिएको छ । तर काम नसकिएपछि २०८० मंसिरमा एक वर्षका लागि दोस्रोपल्ट म्याद थप्यो भने तेस्रोपल्ट गत भदौमा ७ महिनाका लागि निर्माणको अवधि थपियो । तेस्रोपल्टको म्याद गत शुक्रबार (चैत २० गते) सकिए पनि उसले मुस्किलले ५७ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । वित्तीयतर्फ ४७ प्रतिशत काम गरेको कम्पनीले चौथोपल्टको म्याद थपको लागि अनुरोध गरेको छ ।
ठेकेदार कम्पनीले सिभिलतर्फ भेरी नदीमा १ सय १४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध र हात्तीखालमा विद्युत् पावरहाउसको निर्माणको काम गर्नुपर्नेछ । कम्पनीले गत फागुन अन्तिम साता झण्डै ३ वर्ष ४ महिना (१ हजार २ सय ९ दिन) का लागि म्याद थप्न अनुरोध गरेको आयोजनाका निर्देशक हरिदत्त पौडेलले बताए ।
‘कम्पनीले सुरुमा कोराना महामारीको कारण देखायो, पछि निर्माण सामग्रीको अभाव भनियो, हामीले दिने डिजाइन स्टमेट पनि बेला–बेलामा परिवर्तन हुँदा कामले गति लिन सकेन,’ उनले भने, ‘पछिल्लो चरणमा भने उसको काम सन्तोषजनक छ, म्याद थपका लागि फाइल तयार गर्दैछौं ।’ उनले ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गर्न पनि समय लाग्ने भएकाले म्याद थप्नुको विकल्प नभएको जानकारी दिए ।
अहिले आयोजनामा सिभिल, इलेक्ट्रिकल र हाइड्रो इलेक्ट्रिकल गरी तीनवटा काम भइरहेको छ । जसका लागि यो वर्ष १ अर्ब ७५ करोड रुपैयाँ विनियोजन भएको छ । रमणले सिभिलतर्फका काम समयमै गर्न नसक्ने अवस्था देखिएपछि केही महिनाअघि आयोजनाले उसको साझेदार चिनियाँ कम्पनी ग्वाङ्डोन–युनाटियन कम्पनीका प्रतिनिधिलाई बोलाएको थियो । उक्त कम्पनीका प्रतिनिधिले दुवै मिलेर काम गर्ने भन्दै सकारात्मक प्रतिक्रिया दिएकाले पनि म्याद थप्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।
परामर्शदाता कम्पनी परिवर्तन हुँदा पनि काममा केही ढिलाइ भएको आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाले बताए । ‘इरानी परामर्शदाता कम्पनीले जिम्मा लिएको थियो, तर अमेरिकाले इरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएपछि उक्त कम्पनीसँग सम्झौता तोड्नुपर्यो,’ उनले भने, ‘पछि अर्को परामर्शदाता नियुक्ति गर्न झण्डै ४/५ महिना लाग्यो, त्यसले पनि काममा ढिलाइ भयो ।’ अहिले आयोजनामा एनईए इन्जिनियरिङ कम्पनीले परामर्शदाताको काम गरिरहेको छ । यो कम्पनी नेपाल विद्युत् प्राधिकरण मातहतको हो ।
रमण कन्ट्रक्सनसँग गत कात्तिकमा राष्ट्रिय गौरवको अर्को बहुउद्देश्यीय आयोजनामा सुनकोशी मरिणमा बाँध, विद्युत् गृहलगायत सिभिल संरचनाको कामको ठेक्का तोडिएको थियो । ‘त्यताको ठेक्का रद्द हुँदा पनि ठेकेदार कम्पनीलाई मोविलाइजेसनमा समस्या भयो,’ आयोजनाका एक इन्जिनियरले भने, ‘वर्षाको समयमा भेरी नदीमा बहाव बढ्ने कारणले पनि निर्माणमा केही समस्या देखिएको छ ।’ कोरोना महामारी, निर्माण सामग्रीको अभाव, म्याद थप गरेपछि बिमा, बैंक ग्यारेण्टीलगायतको नवीकरण, नदीमा पानीको बहाव परिवर्तन भइरहने, डिजाइन स्टमेटमा पटक–पटक फेरबदल, समयमै डिजाइन नपाइनुलगायत कारण निर्माणमा केही ढिलाइ भएको रमण कन्स्ट्रक्सनका प्रतिनिधि हिक्मत लम्सालले बताए ।
तोकिएको समयभन्दा झण्डै एक वर्षअघि पहिलो चरण (सुरुङ निर्माण) को काम सकिएको भेरी बबई बहुउद्देश्यीय आयोजनाको दोस्रो र तेस्रो चरणको काममा ढिलाइ भएको छ । दसैं–तिहारलगायत कारण आयोजनाको काम झण्डै एक महिना रोकियो । निर्माणस्थलमा न्यून प्राविधिक र कामदार हुँदा काम सुस्त बनेको भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकालले बताए । ‘सरकारले बजेट पनि विनियोजन गरेकै छ, तर आयोजनास्थलमा त्यति कामको चाप देखिदैन,’ उनले भने, ‘आयोजना पूरा भए कर्णालीको विकासमा ठूलो सहयोग पुग्छ, त्यसैले समयमै सक्नेगरि सबै पक्ष लाग्न जरुरी देखियो ।’
सरकारले आर्थिक वर्ष २०६८/६९ बाट सुरु गर्ने भनिएको आयोजना २०७१/०७२ बाट मात्र सुरु गरेको थियो । आयोजनाका लागि आर्थिक वर्ष २०८४/८५ सम्मका लागि म्याद थपिएको छ । आयोजनाअन्तर्गत अहिले दोस्रो र तेस्रो चरणअन्तर्गत बाँध तथा पावरहाउस निर्माण, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल जडान एवं निर्माणलगायतका कामहरू भइरहेका छन् । त्यस्तै हेडवक्स, फाउण्डेशसन, कोफर्ड ड्याम, एंकर ब्लक निर्माणलगायतको काम पनि भइरहेको सूचना अधिकारी थापाले बताए । चिप्लेमा बाँधको कामसँगै बबईतर्फको हात्तीखालमा विद्युत्गृहको जग खन्ने काम पनि भइरहेको उनको भनाइ छ ।
समग्र आयोजनामा अहिलेसम्म झण्डै ६९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । टनेल निर्माणको काम शतप्रतिशत सम्पन्न भएको छ भने सिभिल निर्माणको काम ५७ प्रतिशत, हाइड्रोमेकानिकल ३९ प्रतिशत, इलेक्ट्रोमेकानिकल ३० प्रतिशत र प्रसारण लाइन निर्माणमा ५ प्रतिशत भौतिक प्रगति भएको सूचना अधिकारी थापाले बताए । सुरुमा ३३ अर्ब लागत लाग्ने अनुमान गरिएको आयोजनाको लागत निर्माण अवधि लम्बिँदै जाँदा झण्डै ४५ अर्ब पुग्ने अनुमान गरिएको छ ।
आयोजनामा सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसाल्ने र झण्डै ४६ मेगावाट विद्युत् उत्पादन गर्ने योजनासहित काम भइरहेको हो । आयोजनाले बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ । आयोजनामा अहिलेसम्म झण्डै १७ अर्व रुपैयाँ खर्च भएको छ । आयोजना सञ्चालनका क्रममा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकबेंसीको ३२ हेक्टरभन्दा बढी जग्गा डुबानमा पर्ने अनुमान छ । जसका लागि झण्डै ८ हेक्टर जग्गाको मुआब्जा वितरण भइसकेको सूचना अधिकारी थापाले जानकारी दिए ।
