डिजेल र पेट्रोल आयातमा कति र कुन-कुन कर लाग्छ ? अब कति छुट हुन्छ ?

सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार महसुल, हरित कर, पूर्वाधार विकास कर, सडक मर्मत दस्तुर मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदै आएको छ ।

चैत्र २४, २०८२

सीमा तामाङ

How much and what taxes are levied on diesel and petrol imports? How much discount is there now?

काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार महसुल, हरित कर, पूर्वाधार विकास कर, सडक मर्मत दस्तुर मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदै आएको छ । 

सरकारले भन्सार र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरे पनि राजपत्रमा प्रकाशन भएपछि मात्रै लागू हुनेछ ।  हाल एक लिटर पेट्रोल आयात गर्दा  २५ रुपैयाँ २३ पैसा भन्सार महसुल, प्रदुषण शूल्क १ रुपैयाँ ५० पैसा, हरित कर प्रतिलिटर  १ रुपैयाँ, पूर्वाधार विकास कर प्रतिलिटर १० रुपैयाँ, सडक मर्मत दस्तुर प्रतिलिटर ४ रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत लाग्दै आएको छ । कुल प्रति लिटर पेट्रोल आयातमा भ्याटबाहेक ४१ रुपैयाँ ७३ पैसा लाग्ने गरेकामा सरकारले दिएको छुट पछि प्रतिलिटर २४ रुपैयाँ ११ पैसा मात्र तिर्नुपर्नेछ ।

अब सरकारले छुट पेट्रोल आयातमा ५० प्रतिशत छुट दिँदा  १२ रुपैयाँ ६१ पैसा भन्सार महसुल र प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार विकास कर  तिर्नुपर्ने छ । प्रदुषण शूल्क १ रुपैयाँ ५०, हरित कर प्रतिलिटर १ रुपैयाँ, सडक मर्मत दस्तुर प्रतिलिटर ४ रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत भने तिर्नु पर्नेछ  ।अब प्रतिलिटर पेट्रोल आयातमा १७ रुपैयाँ ६२ रुपैयाँ छुट पाउने भएको हो ।

हालसम्म डिजेल आयात गर्दा प्रतिकिलोलिटर १२ हजार भन्सार महसुल, हरित कर प्रतिलिटर १ रुपैयाँ, पूर्वाधार विकास कर प्रतिलिटर १० , सडक मर्मत दस्तुर प्रति लिटर २ रुपैयाँ र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्छ । प्रतिलिटर डिजेल आयातमा सरकालाई भ्याटबाहेक २६ रुपैयाँ ५३ पैसा तिर्दै आएको छ ।  सरकारले दिएको छुट पछि डिजेलमा प्रतिकिलोलिटर ६ हजार रुपैयाँ भन्सार महसुल र प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार विकास कर तिर्नुपर्नेछ । अन्य कर भने यथावत नै रहेकाले अब प्रतिलिटर डिजेल आयातमा १५ रुपैयाँ ५३ पैसा तिर्नुपर्नेछ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully