सन् २०२२ देखि राजस्व तिरे पनि न नयाँले न नवीकरण गर्नेले नै लाइसेन्स पाउन सकेका छन् । लामो समयदेखि राजस्व तिरेको चिर्कटो बोकेर हिँड्न बाध्य सेवाग्राही । अझै लाइसेन्स पाउनेमा आश्वस्त छैनन् ।
What you should know
काठमाडौँ — वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले १३ चैतमा स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा सय दिनभित्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाई गरेर हुलाकमार्फत घरघर पुर्याउने उल्लेख गरेको छ । त्यसका लागि हुलाक सेवालाई आधुनिकीकरण गरी 'गभरमेन्ट कुरियर सर्भिस’ का रुपमा विकास गर्ने उल्लेख छ । तर, आमसेवाग्राहीको चासो लाइसेन्स कहिले पाइन्छ ? भन्नेमै छ ।
सन् २०२२ देखि राजस्व तिरे पनि न नयाँले न नवीकरण गर्नेले नै लाइसेन्स पाउन सकेका छन् । लामो समयदेखि राजस्व तिरेको चिर्कटो बोकेर हिँड्न बाध्य सेवाग्राही । अझै लाइसेन्स पाउनेमा आश्वस्त छैनन् ।
अबको ८८ दिनभित्र २६ लाख लाइसेन्स छपाइ गरेर सेवाग्राहीलाई वितरण गर्नुपर्ने छ । १३ कात्तिकमा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १२ लाख लाइसेन्स १२ वैशाख २०८३ भित्र छापेर दिनेगरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । अहिलेसम्म ३ लाखभन्दा बढी लाइसेन्स छापिएको छैन ।
दैनिक लाइसेन्सको माग बढ्दो छ । 'इमरजेन्सी’, नयाँ र नवीकरणसहित दैनिक ४ हजार हाराहारीमा लाइसेन्सको संख्या थपिरहेको यातायात व्यवस्था विभागले जनायो । पहिला पुरानो माघसम्मको तथ्यांकअनुसार २७ लाख लाइसेन्स छपाइ गर्न बाँकी थियो ।
अहिले फागुन र चैत तेस्रो सातासम्मको तथ्यांकअनुसार छपाइ गर्नुपर्ने लाइसेन्सको संख्या बढेर करिब २९ लाख पुगेको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताए । 'हरेक दिन लाइसेन्सको संख्या थपिरहेको हुन्छ,’ उनले भने, 'सबै डेटा निकाल्यौं, अहिलेसम्म छाप्न पर्ने लाइलेन्सको संख्या २९ लाख पुगेको छ, संख्या छपाई र आवेदनपछि तलमाथि भइरहेको हुन्छ ।’ उनका अनुसार मंगलबार थप ३ लाख ९७ हजार लाइसेन्स छपाइका लागि मुद्रण केन्द्रमा पठाइएको छ ।
'लाइसेन्स छापेर आएपछि सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुमा हुलाकमार्फत पठाइराखिएको छ,’ उनले भने, 'छपाई गर्ने लाइसेन्सको डेटा दिन समस्या छैन, जेन–जी आन्दोलनका क्रममा कार्यालयमा आगलागी हुँदा सबै सर्भर जल्यो, यसलाई अझै व्यवस्थित गर्न नसक्दा समस्या भइरहेको छ, जसले गर्दा अस्थायी रुपमा काम गरिरहनु परेको छ ।’ सरकारको सय दिने कार्यसूचीमा राखेअनुसार लाइसेन्स छपाईको समस्या पूर्णरुपमा समाधान गर्नेगरी नै काम भइरहेको उनले सुनाए ।
दैनिक ४० हजार लाइसेन्स छापिँदा तोकिएको समयभित्र सबै छाप्न समस्या नहुने पूर्वसचिव केशवकुमार शर्माले बताए । '२६ लाख लाइसेन्स असार मसान्तसम्म छाप्न समस्या देखिँदैन, सबै तयारी भइसकेको बुझिएको छ,’ उनले भने, 'छपाई गर्ने केन्द्रलाई स्रोतसाधन पर्याप्त रुपमा व्यवस्थापन गरेको खण्डमा यो असंभव छैन ।’
सरकारले घोषणा गरेको स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीमा सय दिनमा लाइसेन्स छापेर हुलाकमार्फत पठाउने कुरा छ, त्यो भनेको अब ८८ दिन मात्र बाँकी छँदा २६ लाख लाइसेन्स कसरी छाप्नु हुन्छ, यो संभव छ ? भन्ने हाम्रो जिज्ञासामा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना भन्छन्, 'यो त औद्योगिक करिडोरमा भएको फ्याक्ट्री जस्तो हो, सिफ्ट–सिफ्टमा काम हुन्छ, अहिले दैनिक ४० हजार लाइसेन्स छपाइ भइरहेको छ, यो अनुसार महिनाको १२ लाख छाप्न सकिन्छ, त्यो अनुसार दुई महिनामा २४ लाख छापिसक्छौं ।’ छपाइ गर्ने प्रेस काभ्रेको पनौतीमा छ ।
बीचमा केही तयारी गर्न परे समय चाहिन सक्छ कि भनेर असार मसान्तसम्म छापीसक्ने समय तोकिएको उनले सुनाए । 'बिदाको दिन पनि लाइसेन्सको छपाई हुन्छ,’ उनले भने, 'यसका लागि यातायात व्यवस्था विभागबाट डेटा उपलब्ध गराउन ढिलाई हुनु भएन ।’
पहिला सम्झौता भएअनुसारको १२ लाख लाइसेन्स १२ वैशाखभित्रै दिइसक्ने उनको दाबी छ । 'पहिलो लटमा १२ लाख लाइसेन्स छाप्न सम्झौता भएको हो,’ उनले भने, 'बाँकी लाइसेन्स जति छ, त्यसका लागि यही हप्ताभित्र सम्झौता गर्ने तयारी भइरहेको छ ।’
उनका अनुसार सुरुका दिनमा स्रोत साधन अभावमा सोचेभन्दा कम लाइसेन्स छपाई गरिएको भए पनि अहिले त्यो समस्या छैन । देशभर ४२ वटा यातायात व्यवस्था कार्यालयमार्फत लाइसेन्स दिने सेवा उपलब्ध छ । अहिले यातायात व्यवस्था विभागले मुद्रण केन्द्रलाई लाइसेन्सको डेटा उपलब्ध गराउँछ । त्यो डेटाअनुसार केन्द्रले लाइसेन्स छपाई गरेर पुनः विभागमा पठाउँछ । विभागले लाइसेन्स पाउनसाथ सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुलाई हुलाकमार्फत पठाउँछ ।
'असार मसान्तसम्म सबै लाइसेन्स छापेर दिन्छौं,’ निर्देशक ढुंगानाले भने, 'ढुक्क हुनुस्, १ साउनबाट कुनै पनि सेवाग्राहीले पुरानो राजस्व तिरेको चिर्कटो बोकेर हिँड्न पर्दैन ।’ अहिले सबै यातायात व्यवस्था कार्यालय प्रदेश सरकारअन्तर्गत छन् । यातायात व्यवस्था विभाग मात्र संघ सरकार मातहत छ । अहिलेसम्म लाइसेन्स छपाइ सुविधा यातायात व्यवस्था कार्यालय र प्रदेश मन्त्रालयअन्तर्गत नभएकाले विभागले समन्वय गर्दै आएको छ ।
लाइसेन्स छपाई गर्ने मेसिन विभागसँग मात्र थियो । २४ भदौको प्रदर्शनका क्रममा मीनभवनमा रहेको विभागको कार्यालयमा आगजनी भएपछि लाइसेन्स छपाई गर्ने मेसिन जल्यो । जसले गर्दा अहिले विभागसँग मेसिन छैन ।
विभागको प्रस्ताव प्रत्येक यातायात व्यवस्था कार्यालयलाई मेसिन उपलब्ध गराउनुपर्ने र नभए प्रदेश मन्त्रालयलाई उपलब्ध गराएर लाइसेन्स छपाइको व्यवस्था गर्नु पर्छ । त्यसपछि लाइसेन्सको समस्या समाधान हुँदै जाने दाबी विभागको छ । अहिलेसम्म यो काम हुन नसक्दा सुरक्षण मुद्रण केन्द्रमार्फत लाइसेन्स छपाइको काम भइरहेको छ ।
