‘अन्नपूर्ण सर्किट’ को झल्को मेटाउने दोर्दी हिमाल पदयात्रा

व्यवस्थित पर्यटन विकासका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयनयोग्य खाका तयार गर्ने सरकारको योजनासँगै दोर्दी क्षेत्र पुनः चर्चामा आएको छ ।

चैत्र २४, २०८२

आश गुरुङ

Dordi Himal trek that erases the illusion of the 'Annapurna Circuit'

What you should know

लमजुङ — संघीय सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा ७२ मा समेटिएको दोर्दी हिमाल ट्रेकिङ रुट कार्यान्वयनको तयारीले लमजुङको पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको छ । व्यवस्थित पर्यटन विकासका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयनयोग्य खाका तयार गर्ने सरकारको योजनासँगै दोर्दी क्षेत्र पुनः चर्चामा आएको हो ।

मनाङ–मुस्ताङ जोड्ने विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्ग सडक विस्तारसँगै छोटिँदै जाँदा यसको विकल्प खोज्ने प्रयास तीव्र बनेको छ । करिब २१ दिन लाग्ने पदयात्रा एक सातामा पूरा हुने भएपछि नयाँ पदमार्गको खोजी अपरिहार्य बनेको हो । यसै सन्दर्भमा कास्की, लमजुङ र मनाङ जोड्ने गुरुङ हेरिटेज ट्रेल सञ्चालनमा आइसकेको छ । दोर्दी गाउँपालिकाले आफ्नो उच्च हिमाली भेगमा पदमार्ग पहिचानलाई प्राथमिकता दिएको छ ।

‘दोर्दी हिमाल ट्रेकिङ रुट’ यसअघि नै पहिचान भइसकेको सम्भावनायुक्त गन्तव्य रहेको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जनाए । गाउँपालिका केन्द्र नौथर शेराबाट सुरु हुने यो पदमार्ग हिमालचुली हिमाल (७,८९३ मिटर) को आधार क्षेत्रसम्म पुग्छ र गोरखासँग समेत जोडिन्छ । गाउँपालिकाभित्र मात्र करिब ९ दिनको यो ट्रेकिङ रुटलाई ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स ट्रेल’ नाम दिइएको छ ।

पदमार्गको पहिलो दिन नौथर शेराबाट इलमपोखरी (१,९०० मिटर) वा दाम्राङ–जुमगढी (२,००५ मिटर) पुगिन्छ । दोस्रो दिन लिपे (३,१०५ मिटर), तेस्रो दिन नोटाचे (३,५०० मिटर), चौथो दिन मोलोम्चे (३,३०० मिटर), पाँचौं दिन उखण्ड (३,५०० मिटर) हुँदै छैटौं दिन मेमेपोखरी (४,४५६ मिटर) पुगिन्छ । मेमेपोखरीलाई दोर्दी क्षेत्रको सिरान मानिन्छ, जहाँबाट हिमालचुली हिमालको आधार क्षेत्र पुगिन्छ ।

मेमेपोखरीबाट सातौं दिन कोम्रोडाँडा (४,००० मिटर), आठौं दिन बाह्रपोखरी (३,०८० मिटर) हुँदै नवौं दिन मर्स्याङ्दी गाउँपालिकाको भुलभुले, बेंसीसहर नगरपालिकाको पिसहिल वा दोर्दी गाउँपालिकाको टापगाउँ, हिलेटक्सार माझगाउँ क्षेत्र झर्दै बेंसीसहर तथा अन्य बजार क्षेत्र पुग्न सकिन्छ ।

यस पदमार्गमा पर्यटकको सुविधालाई ध्यानमा राखेर गाउँपालिकाले विभिन्न स्थानमा धर्मशाला निर्माण गरेको छ । मेमेपोखरीमा १२ लाख रुपैयाँ लागतमा १ सय ५० जनासम्म अट्ने धर्मशाला निर्माण गरिएको छ । स्थानीय क्लबले थप ८० जनासम्म अट्ने अर्को संरचना बनाएको छ । कोम्रोडाँडामा ९ लाख रुपैयाँ खर्चेर १ सय जनासम्म अट्ने, मोलोम्चेमा ९ लाखमा ८० जनासम्म अट्ने र लिपेमा ७ लाखमा ४० जनासम्म अट्ने धर्मशाला निर्माण गरिएका छन् । चालु आर्थिक वर्षमा नोटाचेमा पनि धर्मशाला निर्माण गर्ने तयारी गरिएको छ । बाह्रपोखरी क्षेत्रमा निजी तथा सामुदायिक पहलमा धर्मशाला निर्माण भइसकेका छन् ।

गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि अधिकारी नेतृत्वको पहिलो गाउँसभाले पर्यटन पूर्वाधार विकासका लागि लिपे क्षेत्रलाई लक्ष्य गर्दै २६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । थप १२ लाख रुपैयाँ पूर्वाधार विस्तारमा खर्च गरिएको छ । पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेश मुख्यमन्त्री हुँदा बाह्रपोखरी–मेमेपोखरी पदमार्गका लागि ३५ लाख रुपैयाँ लगानी गरेको थियो । इलमपोखरी–लिपे खण्ड फराकिलो बनाउन १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को समन्वयमा दोर्दीसहित गोरखाका अजिरकोट र बारपाक सुलिकोट तथा लमजुङका दूधपोखरी र मर्स्याङ्दी गाउँपालिकाको सहकार्यमा यस पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र नक्सा तयार भइसकेको छ । गोरखाबाट नोटाचे हुँदै यो पदमार्गमा जोडिन करिब तीन दिनको पदयात्रा गर्न सकिन्छ । 

दोर्दी क्षेत्रमा अन्य वैकल्पिक पदमार्ग पनि सञ्चालनमा आएका छन् । ‘लिपे लेक चक्रीय पदमार्ग’ चार दिनमा पूरा गर्न सकिने छोटो ट्रेल हो । यसले नौथर शेरा–इलमपोखरी–लिपेलेक–दाम्राङ हुँदै पुनः नौथर शेरा फर्काउँछ । यस्तै, ‘मेमेपोखरी कल्चरल ट्रेल’ करिब ९ दिनको यात्रा हो, जसले प्राकृतिक सौन्दर्यसँगै स्थानीय संस्कृति, भेडीगोठ र ग्रामीण जीवनशैली अनुभव गराउँछ ।

यो पदमार्गका लागि संघीय राजधानी काठमाडौंबाट दोर्दी गाउँपालिका केन्द्र नौथर शेरा वा त्यसपछि हिलेबेंसी क्षेत्रसम्मको करिब १ सय ८० किलोमिटर सवारी यात्रा गर्नुपर्छ । त्यसपछि करिब डेढ घण्टाको पैदलपछि खिन्चोक पुगिन्छ । 

खिन्चोकबाट बाह्रपोखरी (३,०८० मिटर), कोम्रो डाँडा (४,००० मिटर) पुगिन्छ । यो पदमार्गमा चौथो दिन उक्त क्षेत्रमा अनुकूलताका लागि विश्राम लिइन्छ । पाँचौं दिन मेमेपोखरी पुगिन्छ । छैटौं दिन मेमेपोखरी घुमिन्छ । सातौं दिन मेमेपोखरीबाट फर्किएर पौलीडाँडा (२,५८५ मिटर) आइपुगिन्छ । पौलीडाँडाबाट आठौं दिन खुरुखर्क (३,११० मिटर) आइपुगिन्छ । खुरुखर्कबाट नवौं दिन तोब्रोस्यो झरना हेर्दै खिन्चोक आइपुग्छ ।

पदमार्गबाट माछापुच्छ्रे, अन्नपूर्ण, हिमालचुली, मनास्लु र गणेश हिमालका आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ । मौसम खुला हुँदा काठमाडौंको शिवपुरी क्षेत्रसमेत देखिन्छ । पदमार्गमा लालीगुराँस, जडीबुटी, वन्यजन्तु तथा विभिन्न प्राकृतिक सम्पदाको आनन्द लिन सकिन्छ ।

गाउँपालिकाले पदमार्गका विभिन्न स्थानमा खानेपानी व्यवस्थापन गरेको छ । भेडीगोठ र स्थानीय बस्तीमा बसोबासको व्यवस्था मिलाइएको छ । पदमार्ग आसपास गुरुङ, घले, तामाङ, मगर र ब्राह्मण–क्षेत्री समुदायको बसोबास रहेको गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले जनाए । यहाँ लोपोन्मुख संस्कृतिको अनुभव गर्न सकिन्छ ।

लमजुङ सदरमुकाम बेंसीसहरमा ९ चैतमा आयोजित शासकीय सुधार संवाद कार्यक्रममा दोर्दी क्षेत्रको पर्यटन सम्भावनाबारे छलफलसमेत भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भीष्मराज भुसाल नेतृत्वको टोलीले क्षेत्रीय सम्भावनाबारे जानकारी लिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले संघीय सरकारको सहयोगबिना यस्तो पदमार्ग प्रवर्द्धन सम्भव नहुने बताएका थिए । पर्यटन प्रवर्द्धनले स्थानीय अर्थतन्त्र सुदृढ हुने जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङको भनाइ छ । ‘ग्रामीण भेगमा होमस्टे सञ्चालनले आयआर्जन बढाएको छ, अब उच्च हिमाली पदमार्गलाई व्यवस्थित गर्न आवश्यक छ,’ उनले भने ।

दोर्दी क्षेत्रलाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै साहसिक तथा मनोरञ्जनात्मक पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित धर्मराज केसी बताउँछन् । ‘दोर्दी क्षेत्रको पर्यटन प्रवर्द्धनमा अहिले सरकारको नजर परेको छ । दोर्दी हिमाल ट्रेकिङ रुटको विकास गर्न सकिए यसले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्न सक्छ,’ उनले भने । यस क्षेत्रको इलमपोखरी–दूधपोखरी क्षेत्रसम्म पुग्न पदमार्गको पहिचान गरेर थप पर्यटन प्रवर्द्धन र विकास गर्ने योजनाअनुरूप अघि बढेको उनले बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully