सरकारले लगानीकर्तालाई धरपकड गर्ने नीति लिएको छैन : अर्थमन्त्री वाग्ले

लगानीकर्ता 'प्यानिक' हुन आवश्‍यक छैन । आगामी दिनहरूमा सेयर बजार सुधारका लागि पनि काम हुनेछ : अर्थमन्त्री वाग्ले

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Government has not adopted a policy of arresting investors: Finance Minister Wagle

What you should know

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सेयर बजारका ठूला लगानीकर्तालाई धरपकड गर्ने नीति नलिएको  बताएका छन् । सेयर बजारलाई सरकारले स्वच्छ र पारदर्शी बनाउन चाहेको तर बजारमा सेयर बजारमा त्रास फैलाउने काम भइरहेको अर्थमन्त्री वाग्लेले बताए । आर्थिक पत्रकार समाज सेजनका पदाधिकारीहरुसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले कुनै धरपकड अभियान नचलाएको दाबी गरे । 

‘साना लगानीकर्तालाई आतंकित पार्ने काम भएको देखिएको छ, जुन उचित होइन,’ अर्थमन्त्री वाग्लेले भने, ‘सरकारले साना लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य राखेको छैन । सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ ।’

पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्यो/बेच्यो भन्ने र्ट्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय रहेको उनले बताए । ‘सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमुना क्षेत्रका रूपमा लिएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि अन्य क्षेत्रमा पनि स्टक मार्केटको जस्तो डिजिटलाइजेसन गर्न खोज्नु भएको छ ।’

यदि कसैले, इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन, अन्य अनैतिक काम गरेको छ भने विद्यमान कानुनअनुसार मात्र कारबाही हुने अर्थमन्त्रीको भनाइ थियो । ‘यसकारण लगानीकर्ता प्यानिक हुन आवश्‍यक छैन । आगामी दिनहरूमा सेयर बजार सुधारका लागि पनि काम हुनेछ,’ उनले भने । 

नेप्से पुनर्संरचनाको काम अघि बढाइने पनि अर्थमन्त्री वाग्लेले बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रका बुँदा ३३ र ३४ कार्यान्वयन गर्ने हो । लगानीकर्ताले अध्ययन गरे हुन्छ । सेयरबजारप्रति हामी कति उदार छौं भनेर,’ अर्थमन्त्री वाग्लेले थपे, ‘अहिले बजार घटेको अवस्थामा अतालिनु आवश्यक छैन । सुनौला दिन आउँदैछन् । सरकारले पुरा कार्यकाल सेयर बजार सुधारका लागि काम गर्दैछ । एक साताको समयलाई हेरेर समग्र मूल्यांकन गर्न सकिँदैन ।’

कान्तिपुर

Link copied successfully