दोस्रो त्रैमासमा ४.०५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्ष्येपण

आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकको तुलनामा आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा निर्माण सामाग्रीको आयात, धानवालीको उत्पादन तथा केही वस्तुहरूको घरेलु उत्पादनमा भएको गिरावटका कारण त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको देखिएको छ ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Economic growth projected to reach 4.05 percent in the second quarter

What you should know

काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो त्रैमासमा ४.०५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्ष्येपण गरेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा दोस्रो त्रैमासमा  ४.०५ प्रतिशतले वृद्धि हुने आंकलन गरेको हो ।

विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम कलेक्सन, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी उत्पादन, व्यापार सेवा, पर्यटन आगमन,  लगायतका क्रियाकलापमा भएको वृद्धि मुख्य कारण हो । कुल १८ वटा औद्योगिक वर्गीकरणका सबै औद्योगिक वर्गीकरणमा धनात्मक वृद्धिदर रहेको अनुमान गरेको कार्यालयले जनाएको छ।

यद्यपि, आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकको तुलनामा आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा निर्माण सामाग्रीको आयात, धानवालीको उत्पादन तथा केही वस्तुहरूको घरेलु उत्पादनमा भएको गिरावटका कारण  त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको देखिएको छ । 

त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा  २.०४  प्रतिशतले वृद्धि भएको अनुमान छ । कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १६ ओटा औद्योगिक वर्गीकरणमा भएको वृद्धिको प्रभाव तथा दुईवटा औद्योगिक वर्गीकरणको संकुचनका कारणले समग्र कुल गार्हस्थ्य उत्पादनमा सामान्य वृद्धि भएको अनुमान गरिएको छ। 

Economic growth projected to reach 4.05 percent in the second quarter

आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा १८ ओटा औद्योगिक वर्गीकरणहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको अनुमान छ । जसमध्ये विद्युत तथा ग्याससम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै २२.७४ प्रतिशत वृद्धिदर छ भने  वित्तिय तथा बिमासम्वन्धी क्रियाकलाप १२. ५१,  यातायात तथा भण्डारण ९.६५  प्रतिशत,  आवास तथा भोजन ५.१८ प्रतिशत थोक तथा खुद्रा व्यापारमा ४.११ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान छ। 

अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्‍याउने कृषि क्षेत्रको वृद्धिदर २.२१  प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको कार्यालयको तथ्यांक छ । धानवालीको उत्पादनमा कमी आए पनि पशुपन्छी, तरकारीबाली तथा फलफुल र वनपैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको देखिएको छ । अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ४.११ प्रतिशत भएको अनुमान गरिएको छ ।

व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिका कारणले उक्त क्षेत्रको वृद्धि हुन गएको कार्यालयले जनाएको छ । पानी आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन ०.५५ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा  तथा अनिवार्य सामाजिक सुरक्षा १.११ प्रतिशत र शिक्षा १.१६ प्रतिशत न्यून वृद्धि भएको अनुमान छ।

कान्तिपुर

Link copied successfully