सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको संकटका कारण सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णयसमेत गरेको छ ।
काठमाडौँ — सरकारले डिजेल र पेट्रोलबाट चल्ने गाडीलाई बिजुलीबाट चल्ने बनाउन आवश्यक कानुनी व्यवस्था मिलाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न चाहिने कानुनी प्रबन्ध मिलाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
साथै आइतबारको बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको संकटका कारण सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णयसमेत गरेको छ ।
सरकारले स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी प्रवर्द्धन गर्ने नीति लिँदै आएको छ । यही कारण पछिल्ला वर्षमा ईभीको आयात तीव्र गतिमा बढेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन–फागुनसम्म ६ हजार ३ सय ९६ युनिट विद्युतीय सवारी आयात भएका छन् । यो गत आर्थिक वर्षको ८ महिनाको तुलनामा ६ सय ८४ युनिट कम हो ।
यस वर्ष आठ महिनामा १४ अर्ब ९५ करोड ७७ लाख रुपैयाँको विद्युतीय सवारी आयात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १६ अर्ब ६४ करोड ३२ लाख रुपैयाँको विद्युतीय सवारी आयात भएको थियो ।
