पश्चिम एसियामा जारी द्वन्द्वका कारण न्यूयोर्कबाट काठमाडौंको सबैभन्दा सस्तो टिकट अहिले १ लाख ६७ हजार पर्छ । जबकी, फेब्रुअरीमा यसको मूल्य १ लाख थियो । काठमाडौं–दुबई भाडा ३५ हजारबाट बढेर ७८ हजार पुगेको छ ।
What you should know
काठमाडौँ — होटल व्यवसायी योगेन्द्र शाक्यले अप्रिलको मध्यतिर पारिवारिक भ्रमणका लागि हङकङ जाने योजनामा थिए । तर, अन्तिम समयमा उनले योजना स्थगित गरे । यसका पछाडि कुनै पारिवारिक र व्यक्तिगत कारण थिएन । अमेरिका-इजरायल र इरानमा जारी द्वन्द्वपछि हवाई शुल्क ह्वातै बढेका कारण उनले भ्रमण स्थगित गरे ।
लाजिम्पाटको होटल एम्बेसडर र नगरकोटस्थित क्लब हिमालयका सञ्चालक एवं एस होटलका अध्यक्ष शाक्यले सुनाए, ‘हवाई शुल्क निकै बढेको छ । यसले सबैलाई आतंकित बनायो ।’
काठमाडौं–हङकङको एकतर्फी टिकट भाडा अहिले १ लाख ९० हजार हाराहारी छ । जबकी एक महिनाअघिसम्म यो रुटमा हवाइ शुल्क एक लाख हाराहारी मात्रै थियो । ‘हामीले आफ्नो योजना फेरेर अहिले जोमसोम घुम्ने मनसाय बनाएका छौं,’ उनले भने ।
यो त प्रतिनिधि घटना मात्रै हो । ट्राभल एजेन्सीहरूका अनुसार शाक्यले जस्तै अहिले धेरै सम्भावित पर्यटकले टिकटको मूल्य बढेसँगै भ्रमण सार्ने वा रद्द गरेका छन् ।
इन्धनको मुल्यवृद्धि भएसँगै हवाई भाडादर उच्च भएको छ । बुधबार नेपाल आयल निगमले उड्यन टर्बाइन इन्धन (एटिएफ) दर बढाएर इतिहासकै सबैभन्दा उच्च पुर्यायो । काठमाडौंमा अन्तर्राष्ट्रिय उडानका लागि एटिएफ मूल्य ७७ दशमलव ६३ प्रतिशतले बढेर १ हजार ७१६ डलर प्रति किलोलिटर पुग्यो । यसअघिको उच्च दर, गत जुन २०२२ मा १६ सय ४५ डलर थियो । घरेलु उडानका हकमा इन्धनको मूल्य ९७ दशमलव ६३ प्रतिशत बढेर प्रतिलिटर २५१ पुगेको छ । यसअघिको उच्च दर सेप्टेम्बर २०२२ मा १९० प्रतिलिटर थियो ।
पश्चिम एसियामा जारी द्वन्द्वले ऊर्जाको मुल्यवृद्धि भएसँगै त्यसको असर नेपालमा पनि परेको हो । जसले पर्यटन क्षेत्रलाई प्रत्यक्ष मार पारेको छ । ‘पर्यटन क्षेत्रमा ठूलो असर देखिएको छ,’ शाक्यले भने,‘पश्चिम एसिया द्वन्द्वले कम प्रभाव परेका जापान, मलेसिया, चीन, भारतजस्ता देशबाट पर्यटक आउने अपेक्षा थियो । तर, इन्धन मूल्यवृद्धिले निराशामा बदलिदियो ।’
टिकेटिङ एजेन्टहरूका अनुसार पर्यटन सिजनका लागि यसअघि नै टिकट किनिसकेका प्रायः यात्रुहरू प्रभावित हुने छैनन् । तर, मूल्य बढेसँगै नयाँ बुकिङ भने घटेको छ । ‘शुक्रबारदेखि टिकटको मूल्य दोब्बरभन्दा धेरै छ,’ ओसो वर्ल्ड ट्राभल नेपालका टिकेटिङ एजेन्ट संगम लामाले भने ।
न्यूयोर्कबाट काठमाडौंको सबैभन्दा सस्तो टिकट अहिले १ लाख ६७ हजार पर्छ । जबकी, फेब्रुअरीमा यसको मूल्य १ लाख थियो । काठमाडौं–दुबई भाडा ३५ हजारबाट बढेर ७८ हजार पुगेको छ ।
काठमाडौंबाट सिड्नी जान अहिले १ लाख ९० हजार भाडा लाग्छ । विगतमा ८० हजार लाग्थ्यो । जापान जान ८० हजार लाग्थ्यो, अहिले १ लाख ३० हजार लाग्छ ।
बैंकक-काठमाडौं रुटमा सबैभन्दा धेरै भाडा वृद्धि भएको छ । पहिला यहाँ ३५ हजारमा पुग्न सकिन्थ्यों, अहिले १ लाख ५ हजार छ । काठमाडौंदेखि क्वालालम्पुरका सबै टिकट बिक्री भइसकेका छन् । फेब्रुअरीमा ४० हजार रहेको टिकट शुल्क १ लाख ७० हजार पुगेको छ । जसले नेपाली आप्रवासी कामदारलाई ठूलो प्रभावित गर्नेछ ।
तर, सबै रुटमा यस्तै खालको वृद्धि भने छैन् । विगतमा १५ हजार भाडा रहेको काठमाडौं–दिल्ली हवाइ भाडादर अहिले थोरैले बढेर १८ हजार पुगेको छ । विगतमा ७० हजार भाडा लाग्ने दक्षिण कोरिया-काठमाडौं रुटमा भाडा ८७ हजार पुगेको छ ।
‘हामीले अहिलेसम्म भाडावृद्धिले धेरै फ्लाइट स्थगित भएको देखिसकेका छैनौं,’ टिकेटिङ एजेन्ट लामाले भने, ‘तर, आगामी साताहरूमा वास्तविक असर ठूलो देखिने जस्तो छ ।’
सिजन सुरु हुने बेलामा भएको हवाई भाडा वृद्धिले नेपाललाई ठूलो असर गर्ने पर्यटन व्यवसायीहरूको बुझाइ छ । ‘विश्वभर मानिसहरू पश्चिम एसिया नजाने र सुरक्षित गन्तव्यको खोजीमा छन् । यसको फाइदा नेपाललाई हुनुपर्ने थियो,’ शाक्यले भने, ‘तर भाडा बढ्दा उनीहरू भ्रमण स्थगित वा सार्न बाध्य छन् । अवस्था चुनौतीपूर्ण छ ।’
नेपालको पर्यटन सिजनको सुरुवाती दिन उत्साहप्रद नै थियो । अफ–सिजन महिना भए पनि जनवरीमा गत वर्षको दाँजोमा १५ दशमलव ५ प्रतिशतले आगमन वृद्धि भएको थियो । फेब्रुअरीमा गत वर्षको दाँजोमा ८ दशमलव ८ प्रतिशतले मानिस बढेका थिए ।
ट्रेकिङ र आरोहणको पिक सिजनको सुरुवाती महिना मार्चमा गत वर्षको दाँजोमा २० प्रतिशतले पर्यटक बढ्ने अपेक्षा अपरेटरहरूको थियो । किनकी यतिबेला नेपालमा राजनीतक स्थायित्व र बुकिङ राम्रो भइसकेको थियो । तर, पर्यटक घटे ।
गत वर्षको दाँजोमा यस वर्ष मार्चमा १ प्रतिशतले पर्यटक घटेका छन् । आधिकारीक तथ्यांकअनुसार उक्त महिना १ लाख २० हजार ५१६ जना पर्यटक मात्रै नेपाल आए ।
वैश्विक भूराजनीतिक तनाव र नेपालमा पर्यटकको संख्या घट्नु एकैपटक भएको छ । २८ फेब्रुअरीमा इजरायल–अमेरिकाले संयुक्त रुपमा इरानमा आक्रमण गरेका थिए । त्यसपछि पश्चिम एसियाका हवाई रुटहरू प्रभावित छन् । एसियालाई युरोप र उत्तर अमेरिकासँग जोड्ने मुख्य ट्रान्जिटका रुपमा पश्चिम एसियालाई लिन्छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार युएई र कतारका मुख्य ट्रान्जिट हबमा विगत महिना ४०० भन्दा धेरै फ्लाइट स्थगित भएका छन् । ‘अप्रिलमा यति ठूलो संख्यामा उडान स्थगित हुने अपेक्षा हामीले गरेका थिएनौं,’ नेपालको सबैभन्दा ठूलो आरोहण एजेन्सी सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरागाइँले भने, ‘पर्यटकले भ्रमण रद्द गर्ने क्रम चलिरहेको छ । यो चुनौतीपूर्ण छ ।’
अप्रिलका लागि ६० प्रतिशत ट्रेकिङ बुकिङ रद्द भइसकेको उनले बताए । ‘यो भयंकर हो,’ उनले भने ।
नेपालको अर्थतन्त्रमा पर्यटन महत्वपूर्ण क्षेत्र हो । कुल ग्राहस्थ उत्पादनमा यसको योगदान झन्डै ७ प्रतिशत छ । सन् २०२३ मा यस क्षेत्रबाट झन्डै २ अर्ब ५० करोड अमेरिकी डलर प्राप्त भएको थियो । त्यस्तै ११ लाख ९० हजार रोजगारी सिर्जना भएको थियो । विश्व बैंकका अनुसार यो आँकडा नेपालको कुल रोजगारीको १५ दशमलव २ प्रतिशत हो ।
कोभिड-१९ महामारी र गत वर्षको जेन-जी प्रदर्शनको प्रभावबाट तंग्रदैं गरेको उद्योगका लागि यो अवरोध ठूलो हो । नेपाल पर्यटन बोर्डको तथ्यांकले युरोप, पश्चिम एसिया, अफ्रिका र अमेरिकी देशहरूबाट मार्चमा आउने पर्यटकको संख्या उल्लेख्य घटेको देखाउँछ । दक्षिण एसिया र ओसिनिया क्षेत्रबाट आउने पर्यटक भने घटेका छन् ।
नेपालमा मार्चदेखि मेसम्मको ३ महिना उच्च संख्यामा पर्यटक आउने सिजन हो । यतिबेला मौसम राम्रो हुने भएकाले ट्रेकिङ तथा आरोहणका लागि पर्यटकहरु उच्च पहाडी तथा हिमाली क्षेत्रतर्फ लाग्छन् । तर, पर्यटन क्षेत्रका लागि यसपाला अघिल्ला वर्षहरूमा भन्दा निराशापूर्ण समय देखिन्छ । किनकी, सिजनको सुरुवात नै उत्साहप्रद छैन ।
भलै भारतबाट आएका पर्यटकले केही राहत भने दिएका छन् । मार्चमा भारतीय पर्यटकको संख्या २० प्रतिशतले बढेर २५ हजार ७ सय २८ पुगेको छ ।
१ मार्चमा युएई र कतारको हवाइ रुट स्थगित भयो । जबकी काठमाडौं आउने अन्तर्राष्ट्रिय उडानमध्ये झन्डै एक चौथाई यी बाटो हुँदै आउथे । त्यसयता हवाई कनेक्टिभिटीमा निरन्तर अवरोध छ । केही पर्यटकहरू थाइल्यान्ड, सिंगापुर र भारतजस्ता वैकल्पिक हबबाट आएका छन् । तर, यसले क्षतिको परिपूर्ति गर्न नसक्ने अपरेटरहरू बताउँछन् ।
सेभेन समिट ट्रेक्सका म्यानेजर गुरागाइँले अप्रिलको बुकिङ निकै कमजोर रहेको बताए । यसका बाबजुद ८ हजार मिटरभन्दा माथिका हिमाल आराेहण लक्ष्य राखेका आरोहीहरूको समयतालिका यथावत रहेको उनको भनाइ छ ।
अप्रिलको पहिलो सातादेखि नै सगरमाथा आरोहण सिजन सुरु भएको छ । चुचुरोमा पुग्ने प्रयास प्रायः मे महिनाको मध्यदेखि सुरु हुन्छ । ३ अप्रिलमा पर्यटन विभागले ७० वटा आरोहण अनुमति जारी गरिसकेको छ । यसमा ३३ वटा सगरमाथाका लागि छ ।
‘यदि खाडी युद्ध रोकिएन भने नेपालको पर्यटक क्षेत्रले गम्भीर क्षति व्यहोर्नुपर्नेछ,’ गुरागाइँले भने, ‘गाइडदेखि होटल र एयरलाइन्ससम्म, रेस्टुरेन्टदेखि हेलिकोप्टर अपरेटरसम्म पर्यटनको आयमा निर्भर रहने सबै नराम्रोसँग प्रभावित हुनेछन् ।’
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अनिश्चित अवस्थालाई ख्याल गर्दै नजिकका बजारमा नेपालले ध्यान दिइरहेको बताए । ‘जारी द्वन्द्व र अवरोधका बाबजुद आगमन तथ्यांक त्यति धेरै खराब छैन । युरोप र अमेरिकाबाट आउनेहरू घटे पनि छिमेकी देश र विशेषगरी भारतबाट आउने पर्यटक बढ्नु सकारात्मक संकेत हो,’ उनले भने, ‘हामी सन्तुष्ट हुने अवस्था पक्कै छैन । तर, आत्ति हाल्नुपर्ने पनि होइन । आगामी दिनमा पश्चिम एसियाको संकटले पर्यटकलाई प्रभावित गर्नसक्छ । हामीले वैकल्पिक बजारमा जानेजस्ता सन्तुलित रणनीति अपनाइरहेका छौं ।’
