सहकारीहरूले सवा ११ खर्ब निक्षेप उठाउँदा सवा ९ खर्ब ऋण प्रवाह

प्राधिकरणले सार्वजनिक गरेको ‘सहकारी क्षेत्रको स्थिति पत्र’ ले हालसम्म सहकारी संस्थामा १ करोड ९ लाख नागरिक आबद्ध छन् । ९० हजार २ सय ६५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेको देखिएको छ ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Cooperatives raised 1.11 trillion rupees in deposits and 9.25 trillion rupees in loans

काठमाडौँ — मुलुकभर रहेका सहकारी संघसंस्थामा नागरिकको बचत कुल सवा ११ खर्ब रुपैयाँ पाइएको छ । सञ्चालनमा रहेका करिब ३२ हजार सहकारी संघसंस्थामा गरेर ११ खर्ब २५ अर्ब रुपैयाँ बचत (निक्षेप) संकलन र ९ खर्ब २३ अर्ब ऋण लगानी भएको राष्ट्रिय सहकारी प्राधिकरणले बताएको छ । 

प्राधिकरणले सार्वजनिक गरेको ‘सहकारी क्षेत्रको स्थिति पत्र’ ले हालसम्म सहकारी संस्थामा १ करोड ९ लाख नागरिक आबद्ध छन् । ९० हजार २ सय ६५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेको देखिएको छ । ‘सात दशक लामो सहकारी अभियान मुलुकको अर्थ–सामाजिक परिचालनको महत्त्वपूर्ण आधार र माध्यम बनेको छ । ग्रामीण अर्थतन्त्रको बाहुल्य रहेको मुलुकमा जनताको आधारभूत जीवनस्तर माथि उठाउन सहकारी क्षेत्रले खेलेको भूमिका प्रशंसनीय देखिन्छ,’ सहकारी क्षेत्रको स्थितिपत्रमा भनिएको छ ।

संविधानमै अर्थतन्त्रको एक महत्त्वपूर्ण स्तम्भका रूपमा स्वीकार गरिएको सहकारी क्षेत्रको संख्यात्मक र मात्रात्मक विस्तार सन्तोषजनक रहेन । यस क्षेत्रमा विभिन्न प्रकारका जटिलतासमेत विकसित हुँदै आए । सहकारी क्षेत्रमा विकासको सात दशकको अवधिमा विभिन्न प्रकारका जटिलता र समस्यासमेत उत्पन्न भएकाले अहिलेको अवस्था आएको स्थितिपत्रको निष्कर्ष छ । 

‘कतिपय सहकारीले बचतकर्ताको बचत रकम फिर्ता गर्न नसक्नु, सदस्यमा प्रवाह भएका ऋण लगानीको असुलीमा उल्लेखनीय प्रगति नदेखिनु, सहकारीको मूल्य मान्यता र सिद्धान्तको पालनामा कमीकमजोरी देखिनु, सहकारीको मर्म र व्यवहारमा ठूलो भिन्नता देखिनु, गुणस्तरीय सहकारी शिक्षाको अभावका कारण सहकारीप्रतिको आकर्षण र जिम्मेवारी बढ्न नसक्नु यसका केही उदाहरण हुन्,’ स्थितिपत्रमा भनिएको छ, ‘बढ्दो समस्या र जटिलताका कारण समग्र सहकारी क्षेत्र नै समस्यामूलक भएको हो कि भन्ने भ्रम पनि पैदा भएको छ । यस अवस्थामा, आगामी दिनमा सहकारी क्षेत्रको जोखिम न्यूनीकरण गर्न प्राधिकरण थप क्रियाशील हुन आवश्यक छ ।’

Cooperatives raised 1.11 trillion rupees in deposits and 9.25 trillion rupees in loans

सहकारी ऐन २०४८ जारी हुँदासम्म एक हजारभन्दा कम संख्यामा रहेका सहकारीको संख्या हाल ३२ हजार ९ सय ६५ पुगेको सरकारी तथ्यांक छ । यसमध्ये करिब १४ हजार बचत तथा ऋणको कारोबार गर्ने सहकारी रहेको अनुमान छ । कतिपय विषयगत र बहुउद्देश्यीय सहकारीका नाममा दर्ता भएका समेतले बचत तथा ऋणको कारोबार गरिरहेका हुँदा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको संख्या १४ हजारभन्दा बढी नै रहेको जानकारको आकलन छ । 

‘मुलुकभर छरिएका समग्र सहकारी क्षेत्रले सेयर तथा बचत गरी करिब १२ खर्ब ६८ अर्ब पुँजी परिचालन गर्दै करिब ९० हजारलाई प्रत्यक्ष रोजगारी दिएको र १ करोड ९ लाखभन्दा बढी व्यक्तिलाई सहकारीको सदस्य बनाएको अनुमान छ,’ स्थितिपत्रमा भनिएको छ, ‘यद्यपि सहकारीसम्बन्धी यथार्थ र नियमित तथ्यांक संकलनको विधि र स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता छ ।’

संघीय सरकारले हालसम्म २३ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । तीमध्ये तीन वटा सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी भइसकेको छ । यी सहकारी थोरै बचतकर्ता र कुल बचत कम भएका संस्था हुन् । हाल २० वटा सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी कार्य समितिको जिम्मेवारीमा छ । 

ती सहकारी संस्थाका ७४ हजार ३ सय ७ जनाबाट ४४ अर्ब ४८ करोड ९० लाख ५ हजार ६ सय २६ रुपैयाँ बचत फिर्ताका लागि मागदाबी आएको छ । त्यसमध्ये हालसम्म ४ अर्ब १२ करोड ६६ लाख ५ हजार ६ सय ५४ रुपैयाँ बचत फिर्ता गरिएको कार्यालयले जनाएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन भएको ८ वर्ष पुगेको छ । यस अवधिमा समस्याग्रस्त सहकारी संस्थाका अधिकांश बचतकर्ताले पैसा फिर्ता पाउन सकेका छैनन् ।

Cooperatives raised 1.11 trillion rupees in deposits and 9.25 trillion rupees in loans

यसअघि एमाले नेता सूर्य थापाको संयोजकत्वमा गठित सहकारी बचत रकम दुरुपयोगसम्बन्धी विशेष संसदीय छानबिन समितिका अनुसार मुख्य सहरमा सञ्चालित ४० सहकारीबाट मात्र सर्वसाधारणको ८७ अर्ब ८९ करोड अपचलन भएको छ । २२ वटा समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका १८ गरी ४० सहकारीमा ७१ अर्ब ३० करोडको बचत रकमसहित ८७ अर्ब ८९ करोड दायित्व देखिन्छ । तर ऋण उठाउनुपर्ने ब्याज, अन्यत्र गरिएको लगानी र गैरबैंकिङ सम्पत्तिको उठ्ने आधार भने कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ ।

समस्याग्रस्त २२ सहकारीमध्ये १३ ले कानुनविपरीत २१ अर्ब ३७ करोड ८९ लाख ९६ हजार ४२७ रुपैयाँ ऋण प्रवाह गरेका छन् । सार्वजनिक प्रश्न उठेका १८ सहकारीले ३२ अर्ब ४० करोड ६१ लाख १९ हजार रुपैयाँ ऋण प्रवाह गरेका छन् । यसमध्ये ६ वटा सहकारीले गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्ति र संस्थालाई ६ अर्ब ८५ करोड २४ लाख १४ हजार रुपैयाँ ऋण प्रवाह गरेका छन् । १८ र १३ गरी ३१ सहकारीले ५३ अर्ब ७८ करोड ५१ लाख १६ हजार १ सय ९६ रुपैयाँ ऋण प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ । 

यसबाहेक समस्याग्रस्त आठ सहकारीले २ अर्ब ७३ करोड ३ लाख ६० हजार रुपैयाँ लगानी गरेका छन् । सार्वजनिक प्रश्न उठेका १८ सहकारीबाट १५ करोड ९३ लाख ९८ हजार रुपैयाँ लगानी भएको छ । जम्मा २ अर्ब ८८ करोड ९७ लाख ५९ हजार रुपैयाँ लगानीका नाममा अपचलन भएको छ । एक दशकमा ६ सय ६९ जनालाई प्रहरीले पक्राउ गरेको छ, १ हजार ५ सय ४० जना फरार छन् । धेरैजसो पैसावाल र शक्तिशाली हुन् ।

कान्तिपुर

Link copied successfully