अहिले जुम्लाबाट काठमाडौं, सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, विराटनगर र पोखरा लगायतका सहरमा मार्सी धानको चामल जाने गरेको छ । स्थानीय बजारमा समेत कोसेली घरहरू स्थापना गरेर मार्सी चामल किनबेच भइरहेको छ ।
What you should know
जुम्ला — जिल्लास्थित चन्दननाथ–९ का तीलबहादुर रावल एक दशकदेखि मार्सी धान संरक्षणमा सक्रिय छन् । केही वर्षअघि मार्सी धानमा मरुवा रोग लागेका बेला उनले पोटिला एक सय दाना टिपेर बीउका रूपमा प्रयोग गरे । रोग नलागेका त्यस्ता पोटिला दाना बटुलेर उनले रोपेको मार्सीमा रोग देखिएको छैन ।
‘हामी मार्सी धानमा रोग लागेको मात्र देख्छौं,’ उनले भने, ‘तर, रोगले ग्रस्त खेतमा पोटिला दाना भेटिन्छन् भन्ने ख्याल गर्दैनौं ।’ रोग लाग्नबाट बचेका पोटिला दाना संकलन गरेर बीउ बनाउने उनको प्रयास सफल भएको छ । यस्तो धानको नाम त्रियासी दिएका छन् । अहिले आफ्नो गाउँछिमेकी पालिकाका किसानसम्म बीउ पुर्याएका छन् ।
जुम्ली मार्सी धानमा मरुवाको प्रकोप निरन्तर देखिरहेका बेला खेती गर्न जानेमा रोगको संक्रमण कम गर्न सकिने उनले बताए । पुरानो बीउ भएकाले रोग प्रतिरोध गर्न नसकिने धानका रूपमा मार्सीलाई लिइएको छ । धानमा विषादीको प्रयोग हटाउनुपर्नेमा उनले जोड दिए । ‘धानको बीउ छान्दा पोटिला दाना छान्नुपर्छ,’ उनले भने, ‘किसानले आफैं सचेत भएर खेती गर्दा उपयुक्त हुन्छ ।’ रोग फैलिएपछि कृषि अनुसन्धान केन्द्र विजयनगरले चन्दननाथ १ र ३, लेकाली १ गरी तीन किसिमका उन्नत जातका धान सिफारिस गरेको छ । अहिलेको मौसम अनुकूल धानको जात सिफारिस भएकाले किसानहरूले यो धानको पनि खेती गरिरहेका छन् ।
तीलबहादुर संसारको उच्च स्थानमा फल्ने मार्सीको खेती गर्न छाड्न नहुने तर्क गर्छन् । ‘मार्सी धानको मूल्य त छँदैछ, त्यसभन्दा बढी परम्परागत मान्यता झनै महत्त्वपूर्ण रहेको छ,’ उनले भने, ‘त्यसैले मार्सीको खेती गर्न छाड्नु हुन्न ।’ कृषि अनुसन्धान केन्द्रले लामो समयदेखि मार्सी धानमा लागेको रोगको अनुसन्धान गरिरहेको छ । केही समयमा मार्सीको विकल्पमा मार्सी धान नै सिफारिस गर्ने तयारी भइरहेको विज्ञले बताउँदै आइरहेका छन् ।
जिल्ला कृषि विकास कार्यालयले मार्सी धान बचाउन किसानले गरेको प्रयाससमेतलाई ध्यान दिँदै मार्सी धान प्रवर्द्धनका कार्यक्रम ल्याइरहेको छ । कार्यालयका सूचना अधिकारी दीपकसिहं धामी मार्सी धान बचाउन विभिन्न प्रयास भइरहेको बताउँछन् । जिल्लामा अहिले २ हजार ८ सय ८८ हेक्टरमा धान खेती भइरहेको छ । जसमा आधा भागमा मार्सी धानको खेती हुने गरेको छ । गत वर्षमात्रै ६ हजार १ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो । जसमा २ सय ६५ मेट्रिकटन मार्सी चामल जिल्ला बाहिर पठाइएको थियो ।
अहिले जुम्लाबाट काठमाडौं, सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, विराटनगर र पोखरा लगायतका सहरमा मार्सी धानको चामल जाने गरेको छ । स्थानीय बजारमा समेत कोसेली घरहरू स्थापना गरेर मार्सी चामल किनबेच भइरहेको छ । प्रतिकेजी १ सय ८० रुपैयाँ मूल्य छ । कर्णाली घुम्न आउने पर्यटकले कोसेलीका रूपमा लैजाने गरेका छन् ।
त्यही भएर पनि किसानले मार्सी धानको बीउ जोगाउन पहल हुनुपर्ने माग गरिरहेका छन् । कृषि कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जुम्ली मार्सी धान उत्पादन विशेष नमुना क्षेत्र कार्यक्रम सुरु भएको छ ।
जिल्लाको चन्दननाथ नगरपालिका, तातोपानी, हिमा र सिंजा गाउँपालिकामा कार्यक्रम लागू भएको छ । जसका लागि ८ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । यो कार्यक्रम अनुसार किसानलाई धानखेतीका बारेमा प्रशिक्षण गर्नेदेखि रोगबाट धानबाली बचाउने उपायसम्मका क्रियाकलाप समेटिएका छन् ।
सूचना अधिकारी धामीले पातारासी र तातोपानी गाउँपालिकामा मार्सी धान बीउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम पनि सुरु भएको छ । जसका लागि १० लाख रुपैयाँ छुट्याइएको छ । यो कार्यक्रममा किसानलाई बीउ दिने, सिटबिन, त्रिपाल, मिनिटेलर, थ्रेसर मेसिन, प्रांगारिक मल उत्पादनदेखि कम्बाइन मिलसमेत स्थापना गर्ने गरिएको छ ।
किसानले जुम्लालाई मार्सी पकेट क्षेत्रका रूपमा अघि बढाउनुपर्ने माग गरेका छन् । ‘अहिले फाँटहरूमा मार्सी धान झुलेको हेर्ने, मार्सी धानको स्वाद लिनेदेखि यसका बारेमा थेसिस लेख्नेहरू आइरहेका छन्,’ स्थानीय कालीबहादुर थापाले भने, ‘अब मागअनुसारको मार्सी चामल पठाउन सकिने गरेर खेती हुन जरुरी छ । जसका लागि राज्यले प्राविधिक जनशक्तिको अधिकतम् प्रयोग गरेर मार्सी बीउलाई निरोगी बनाइदिनुपर्छ ।’ उनका अनुसार मार्सी धान पोषिलो, अडिलो र औषधीय गुणसमेत हुने भएकाले माग धेरै छ ।
जिल्लाका आठ स्थानीय तहका ६० वटै वडामा मार्सी धानको खेती हुने गरेको छ । सञ्जाल जोडिएकाले सहजै रूपमा किसानले व्यापारीलाई चामल बेच्न सकिने अवस्था छ । कतिपय व्यापारीहरू त किसानको घरदैलोमै पुगेर मार्सी धान खरिद गरेर लैजाने गरेका छन् ।
