समारोहमा उपराष्ट्रपति यादवले आफ्नो मन्तव्यमार्फत महिला उद्यमशिलता विकासको माध्यमबाट रोजगारीको सिर्जना गर्न र व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रिय अर्थतन्त्रको सुधार गर्न सहयोग पुग्ने भएकाले यसतर्फ सम्बन्धित सबै सरोकारवालाहरुको ध्यान जान जरुरी भएको विषयमा जोड दिए ।
काठमाडौँ — ९औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आइतबार सकिने भएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार ललितपुरमा मेलाको समुद्घाटन गरेका थिए ।
समारोहमा उपराष्ट्रपति यादवले आफ्नो मन्तव्यमार्फत महिला उद्यमशिलता विकासको माध्यमबाट रोजगारीको सिर्जना गर्न र व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रिय अर्थतन्त्रको सुधार गर्न सहयोग पुग्ने भएकाले यसतर्फ सम्बन्धित सबै सरोकारवालाहरुको ध्यान जान जरुरी भएको विषयमा जोड दिए ।
महिलाहरूको सामाजिक तथा आर्थिक सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको महासंघले अहिले नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गरेको हो । मेलामा देशका विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रका सफल महिला उद्यमीहरूलाई उनीहरूको उद्यमशीलताको पहिचान, प्रोत्साहन र उत्साह अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ ।
महासंघले नेपालभरका ७७ जिल्लामा जिल्ला महिला उद्यमी संघ स्थापना गरी ६ हजारभन्दा बढी महिला उद्यमीलाई सदस्यतामा आबद्ध गरिसकेको छ । करिब १ लाखभन्दा बढी अप्रत्यक्ष लाभग्राहीहरू रहेको महासंघको दाबी छ ।
मेलामा नेपालका विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्तासहित विभिन्न देशका महिला उद्यमीहरूको सहभागिता छ ।
मेलाले महिला उद्यमीहरूलाई आफ्नो रैथाने तथा मौलिक उत्पादनको प्रदर्शन, बजार विस्तार, नेटवर्किङ र व्यापारिक सहकार्यको अवसर प्रदान गरेको महासंघको दाबी छ । मेलामा जम्मा १४० वटा स्टलहरु रहेका छन् ।
हस्तकलाका सामानहरु जस्तैः प्राकृतिक रेसाजन्य वस्तु ढाकाका सामानहरु, गलैंचा, हाते कागजका सामानहरु जैविक खाद्य पदार्थ स्वदेशी रैथाने खानेकुरामा परिकारहरु, कृषिजन्य उत्पादनहरु, जडिबुटीका सामानहरु विभिन्न मूर्तिहरु गरगहना सजावटका सामानहरु, विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु आकर्षक ढंगले प्रदर्शनीमा राखिएको छ ।
मेलामा जिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमीहरुका सिप र सिर्जनालाई अगाडि ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान सघाउ पुर्याउनका साथै उनीहरुलाई अगाडि बढ्न प्रोत्साहन गर्ने विश्वास पनि महिला उद्यमी महासंघको दाबी छ ।
मेलामा भारतबाट फेवरिक तथा कस्मेटिक सामग्रीहरु, चीनबाट ‘इलेक्ट्रोलाइट ड्रिक्स’, कोरियाबाट कस्मेटिक सामान तथा नुडल्सहरु र भुटानबाट रिसाइकल उत्पादनहरुका साथै अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको उत्कृष्ट उत्पादनहरुको प्रदर्शनी रहेको छ ।
