कांग्रेस, एमाले तथा नेकपा निकट व्यवसायीहरूको संयुक्त टिमका उम्मेदवार श्रेष्ठले स्वतन्त्र उम्मेदवार कुमार श्रेष्ठलाई ५२९ मत अन्तरले पराजित गरेका हुन् ।
रामेछाप — रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाशकुमार श्रेष्ठ निर्वाचित भएका छन् । कांग्रेस, एमाले तथा नेकपा निकट व्यवसायीहरूको संयुक्त टिमका उम्मेदवार श्रेष्ठले स्वतन्त्र उम्मेदवार कुमार श्रेष्ठलाई ५२९ मत अन्तरले पराजित गरेका हुन् ।
शुक्रबार भएको निर्वाचनमा खसेको कुल १ हजार ३६२ मतमध्ये प्रकाशकुमार श्रेष्ठले ९३२ मत प्राप्त गर्दा कुमार श्रेष्ठले ४०३ मत मात्र पाए । यसैगरी २७ मत बदर भएको निर्वाचन अधिकृत चूडामणि अर्यालले जानकारी दिए । संघका कुल १ हजार ६९८ मतदातामध्ये १ हजार ३६२ मत खसेको थियो ।
१५ सदस्यीय कार्यसमितिमध्ये अध्यक्षबाहेक पदाधिकारी तथा सदस्य गरी १४ जना यसअघि नै १० चैतमा निर्विरोध निर्वाचित भइसकेका थिए । निर्विरोध चयन भएका पदाधिकारीहरूमा महासचिवमा यज्ञप्रसाद सुवेदी, वरिष्ठ उपाध्यक्षमा आकाश रिजाल, वाणिज्य उपाध्यक्षमा सुरेश उदास, उद्योग उपाध्यक्षमा रामसुदिश शाह सोनार, सचिवमा सिताराम लोहार तथा कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम) रहेका छन् ।
त्यस्तै, संयुक्त व्यवसायी टिमबाट वासुदेव फुयाँल आजीवन कार्यसमिति सदस्यमा पुनः चयन भएका छन् भने महिला सदस्यमा पहिलो पटक मञ्जु माझी चयन भएकी छन् । खुला सदस्यतर्फ श्यामकुमार श्रेष्ठ, किशोर पौडेल, सुरोजकुमार तामाङ, देवचन्द्र कठेत र राजु श्रेष्ठ निर्विरोध भएका छन् । यसैगरी, यसपटक पहिलो पटक समावेश गरिएको एसोसियट सदस्यतर्फ टिकाराज आरण पनि निर्विरोध चयन भएका छन् ।
