उद्योगमा कार्यरत कर्मचारीले नौ महिनादेखि तलबभत्ता पाएका छैनन् ।
What you should know
हेटौंडा — सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेको छ । बजारमा प्रतिस्पर्धा गर्न नसकेर यसअघि हेटौंडा कपडा उद्योग बन्द भएको थियो । अहिले सिमेन्ट उद्योगको पनि त्यही नियति हुन लागेको हो ।
व्यवस्थापन कमजोरी, चीन र भारतबाट आयात गरिने कपडासित प्रतिस्पर्धा गर्न नसकेपछि २५ वर्षअघि कपडा उद्योग बन्द भएको थियो । हेटौंडा सिमेन्ट पनि निजी उद्योगसित प्रतिस्पर्धा गर्न नसक्दा आर्थिक संकटमा परेको छ । अहिले केही दिनका लागि भनेर उद्योग सञ्चालन गरिएको छ । उद्योगसित अहिले १४ सय मेट्रिक टन कोइला र केही मात्रामा जिप्सन ढुंगा छन् । थप कोइला र जिप्सन ढुंगा खरिद गर्न रकम नभएकाले मौज्दात हुन्जेल मात्र उद्योग सञ्चालन हुने उद्योगका महाप्रबन्धक शिवनारायण साहले बताए ।
‘अब तीन–चार दिनमात्र उद्योग चल्छ,’ उनले भने, ‘चालु आर्थिक वर्षमा ११ दिनमात्र चलेको थियो ।’ आर्थिक वर्ष ०८१/०८२ मा ४० दिनमात्र उद्याोग सञ्चालन गरिएको थियो । कच्चा पदार्थ अभावले उद्योग सञ्चालन गर्न नसकिएको महाप्रबन्धक साहले बताए । ‘कोइला खरिद गर्न उद्योगसँग रकमको अभाव छ,’ उनले भने, ‘कर्मचारीले नौ महिनादेखि तलब भत्ता पाएका छैनन् ।’
उमेर हदका कारण अवकाश प्राप्त ६५ भन्दा बढी कर्मचारीले उपदानबापतको रकम पनि पाउन सकेका छैनन् । सात वर्षदेखि उद्योग घाटामा सञ्चालन हुँदै आएको छ । आव ०७४/७५ मा उद्योगले १६ करोड ३६ लाख रुपैयाँ मुनाफा गर्न सफल भएको थियो । त्यसपछि लगातार घाटा बेहोर्दै आएको छ । चालु वर्ष मात्र होइन, चार वर्षयता मुस्किलले चार महिना पनि उद्योग नियमित सञ्चालन हुन सकेको छैन । ०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले निजी क्षेत्रको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेकाले आर्थिक संकटमा फसेको हो ।
उद्योगका अनुसार विभिन्न सप्लायर्स कम्पनी, कर्मचारी लगायतलाई १ अर्ब २६ करोड भुक्तानी गर्नुपर्ने देखिएको छ । उद्योगले नेपाल सरकारलाई ४८ करोड ८७ लाख रुपैयाँ तिर्न बाँकी रहेको महाप्रबन्धक साहले बताए । पुराना उपकरणले गर्दा उत्पादनमा कमी आउने र लागत बढ्ने भएकाले उद्योगले निजी क्षेत्रबाट सञ्चालित सिमेन्ट उद्योगहरूसँग प्रतिस्पर्धा गर्न नसकेको व्यवस्थापनको दाबी छ । उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको निरन्तर मूल्य वृद्धि, उत्पादन लागतभन्दा कम मूल्यमा सिमेन्ट बिक्री वितरण गर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा आर्थिक संकट थेग्न नसकेको उद्योग व्यवस्थापनले जनाएको छ ।
उद्योगको दैनिक ७ सय ५० टन सिमेन्ट उत्पादन क्षमता रहेको छ । उद्योगले क्षमताअनुसार उत्पादन नगरेको पनि सात वर्ष भइसकेको छ । उद्योगका पुराना मोडेलका उपकरणलाई विस्थापित गरेर नयाँ जडान नगरेमा सञ्चालन गर्न कठिनाइ हुने उद्योगका एक वरिष्ठ प्राविधिकले बताए । ‘नयाँ उपकरणहरू जडान गर्नका लागि उद्योगले सरकारसँग १ अर्ब ६० करोड रुपैयाँ माग गरेको छ,’ उनले भने, ‘रकम उपलब्ध गराउन सरकारले कुनै चासो दिएको छैन ।’ उद्योग सञ्चालनका लागि व्यवस्थापनले प्लान्ट अडिटिङमा तीनवटा चरण समावेश गरेको छ । पहिलोमा हाल भएका उपकरणलाई व्यवस्थित गरेर चलाउने, दोस्रोमा उद्योगमा हुने अनावश्यक खर्च कटौती र तेस्रोमा दीर्घकालीन योजना समेटेर मन्त्रालयमा पठाएको ६ वर्ष बितिसकेको छ ।
आर्थिक समस्या झेल्दै आएको सिमेन्ट उद्योग जीर्ण अवस्थामा छ । यसले रोप–वे बिक्री समेत गरिसकेको छ । हेटौंडाबाट भीमफेदीको भैंसेखानीसम्म करिब २०/२१ किलोमिटर लामो रोप–वे छ । विगतमा चुनढुंगा ओसार्न प्रयोग भएको भए तापनि लामो समयदेखि प्रयोगविहीन रहेको र पुनः प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेकाले रोपवे करिब ४ करोड रुपैयाँमा बिक्री गरिएको थियो । उद्योगका चारवटा चुनढुंगा खानी छन् । धादिङको जोगीमारा खानीबाट सबैभन्दा स्तरीय चुनढुंगा निस्कन्छ । यसका ५० प्रतिशत ढुंगा सिमेन्ट बनाउन योग्य हुन्छन् । तर, यो खानी लामो समयदेखि नवीकरण नहुँदा बन्द छ । मकवानपुरको ओखरे, मजुवा र भैंसे गरी तीनवटा खानी छन् । हाल ओखरे र मझुवा खानीबाट चुनढुंगा ल्याइएको छ ।
घाटा पूर्तिका लागि उद्योग मातहतमा रहेको सरकारी जग्गा बिक्री गर्ने र नयाँ प्रविधि जडान गरी उत्पादन बढाउने उद्योग व्यवस्थापनको योजना छ । तर उद्योग मन्त्रालयले जग्गा बिक्रीका लागि अनुमति दिएको छैन । हेटौंडा–९, लामसुरेस्थित उद्योगले आफ्नो खाली जग्गा बिक्री गर्ने योजना बनाएको छ । उद्योगका नाममा १२ बिघा जमिन उपयोगविहीन अवस्थामा छ । आर्थिक वर्ष २०६६/६७ देखि २०६७/६८ दुई वर्ष नाफामा रहेको उद्योग आर्थिक वर्ष २०६८/६९ देखि २०७०/७१ सम्म तीन वर्ष पुनः घाटामा गएको थियो । उद्योग आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ को चार वर्ष नाफामा रहेको थियो तर त्यसयता निरन्तर घाटामा सञ्चालन हुँदै आएको छ । नेपाल सरकार र एसियाली विकास बैंकको लगानीमा २०३३ सालमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगमा ६ सय ५५ कर्मचारीको दरबन्दीमध्ये १ सय २६ जना मात्रै कार्यरत छन् । पर्याप्त जनशक्ति नहुँदा पनि उद्योग चलाउन कठिनाइ भएको छ ।
हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उद्योग मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै सोमबार राजीनामा दिएका छन् । उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक पर्ने पुँजीगत तथा चालु खर्च व्यवस्थापनका लागि पटक–पटक ऋण तथा अनुदानका लागि अनुरोध गरे पनि मन्त्रालयबाट ठोस नीतिगत निर्देशन र आर्थिक व्यवस्थापन नभएको उनले गुनासो गरेका छन् । राजीनामा पत्रमा उनले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन निरन्तर प्रयास गरेको उल्लेख गरेका छन् ।
पुरानो मेसिनरी संयन्त्र, प्रविधिगत सीमितता र चरम आर्थिक अभावमा उद्योग धराशयी बन्दै गएको उनले बताएका छन् । २०८१ जेठ २४ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तीन वर्षका लागि नियुक्त भएका भण्डारीले कार्यकालअगावै राजीनामा दिएका हुन् । वर्तमान सरकारले हेटौंडा सिमेन्ट उद्योगमा रहेका पुराना मोडेलका उपकरणलाई विस्थापित गरेर नयाँ उपकरण जडान गर्न लगानी गरेमा उद्योगले निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न सकिने उद्योग सञ्चालक समितिका निवर्तमान अध्यक्ष भण्डारीले बताए । ‘मुलुकका निजी क्षेत्रका उद्योगहरूको उत्पादनलाई गुणस्तरयुक्त बनाउन र मूल्य निर्धारण गर्न हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउनैपर्छ,’ उनले भने ।
