बुद्द एयरले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालमा जहाज उडाउन चुनौती भएकाे बताएकाे छ।
What you should know
काठमाडौँ — बुद्ध एयरले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालमा जहाज उडाउन चुनौती भएकाे बताएकाे छ।
बुद्ध एयरले बिहीबार विज्ञप्ति जारी गरेर खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण विदेशी पर्यटकहरूले पहिले नै बुक गरेका हवाई टिकटहरू धमाधम रद्द गरेका कारण पर्यटन र हवाई सेवा क्षेत्र दबाबमा परेकाे बताएकाे छ।
त्यस्तै हवाई इन्धन शुल्कमा भएको वृद्धि अप्रत्याशित मात्र नभई अहिलेसम्मकै उच्च रहेको उल्लेख गरेको छ।
इन्धनको मूल्य स्वचालित रूपमा बढेपछि त्यसको सीधा प्रभाव हवाई भाडामा परेको र भाडा समायोजन प्रचलित नियमअनुसार गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले यस्तो प्रतिकूल अवस्थामा संयमता अपनाउँदै सकेसम्म न्यूनतम स्तरमै भाडा समायोजन गरिएको बताएका छन्।
उनका अनुसार हवाई सेवाको कुल सञ्चालन खर्चमध्ये करिब ४० प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेकोमा हालको मूल्यवृद्धिपछि यो करिब ५० प्रतिशत पुगेको छ।
यस्तै, अमेरिकी डलरको मूल्य बढ्दै जाँदा जहाजका पार्टपुर्जा, मर्मतसम्भार, प्राविधिक जनशक्तिको तालिम तथा अन्य सञ्चालन खर्चहरू पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ।
कम्पनीले हालको अवस्थामा इन्धन मूल्य स्थिर वा सामान्य अवस्थामा फर्किन केही समय लाग्ने भएकाले तत्काल विकल्पहरू सीमित रहेको जनाएको छ। साथै, परिस्थिति क्रमशः सामान्य हुँदै जाँदा पर्यटन क्षेत्र पुनः मजबुत हुने विश्वास पनि व्यक्त गरिएको छ।
पर्यटन क्षेत्रले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको औंल्याइएको छ।
चुनौतीपूर्ण अवस्थाका बाबजुद बुद्ध एयरले नयाँ सरकारसँग सहकार्य गर्दै हवाई सेवा र पर्यटन क्षेत्रको प्रवर्द्धनमा प्रतिबद्ध रहने जनाएको छ।
