बुधबार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा झन्डै ७५ अंकको गिरावट आएको हो ।
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार करिब ७५ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा २.६२ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ७ सय ७६ दशमलव ३६ विन्दुमा ओर्लेको हो । अघिल्लो दिनको तुलनामा यो ७४.७३ अंकले घटेको हो ।
बुधबार कारोबारमा आएकामध्ये १३ कम्पनीको मूल्य बढ्यो र २५५ कम्पनीको मूल्य घट्यो । बुधबार कुल १ लाख २३ हजार ७ सय ३० पटकको सेयर किनबेचमा ३ करोड २ लाख ९२ हजार ४ सय ५२ कित्ता सेयर खरिदबिक्री भए ।
ती किनबेचमा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम बढेको हो । मंगलबार सेयर बजारमा ११ अर्ब ११ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा झन्डै ७५ अंकको गिरावट आएको हो ।
