असिनापानीले आलुखेतीमा क्षति भएपछि दाेलखाका किसान चिन्तित

उच्च भेगका किसानको प्रमुख नगदेबालीमा असिनापानीले क्षति पुर्‍याएपछि यस वर्ष लगानी पनि नउठ्ने हो की भन्ने चिन्तामा छन् ।

चैत्र १८, २०८२

केदार शिवाकोटी

Dolakha farmers worried after hailstorm damages potato crops

What you should know

दोलखा — गत साता (१३ चैत) मा दोलखाको उच्च क्षेत्रमा परेको असिनापानीले आलुखेतीमा क्षति पुर्‍याएपछि यहाँका किसानहरू चिन्तित बनेका छन् । किसानहरूको प्रमुख नगदेबाली असिनापानीले क्षति पुर्‍याएपछि यस वर्ष लगानी पनि नउठ्ने हो की भन्ने चिन्तामा छन् ।      

वैत्यश्वर गाउँपालिका–८ एबोका रामकाजी खत्रीले २० रोपनीभन्दा बढीमा लगाएको आलुमा मुना पलाउनै लाग्दा असिनापानीले क्षति पुर्‍याएकाे बताए । आलुखेतीबाटै घरखर्च चलाउँदै आएका उनी यस वर्ष लगानीअनुसार प्रतिफल नआउने चिन्तामा छन् । 

‘मुना पलाउने बेलामा आलुखेतीमा असिना बर्सियो, सबै खेती छियाछिया भएको छ,’ उनले भने, ‘फेरि आलुले मुना हाल्छ की हाल्दैन्, लगानी पनि उठ्दैन होला ।’ उनले वार्षिक ५ लाख रुपैयाँसम्मको आलु बेच्दै आएको बताए ।

एबोमा मात्रै १३५ परिवार आलुखेतीमा निर्भर छन् । उनीहरूले २ हजार रोपनीभन्दा बढीमा आलुखेती गर्दै आएका छन् । यस वर्ष उनीहरूले १८ टन आलुको बीउ लगाएका थिए ।

‘प्राकृतिक विपत्तिबाट बाली नष्ट भए सरकारले क्षतिपूर्ति दिन्छ होला त ?’ उनले प्रश्न गरे । असिनापानीले क्षति गरेको आलुबारी हेर्न गाउँपालिका अध्यक्ष आएको र केहि हेरौंला भनेर गएको उनले बताए । 

एबोकै कमला खत्री भर्खर मुना पलाएर हरियो भएको बारी असिनाले उजाड बनाएपछि निराश छिन् । झण्डै २० रोपनीमा लगाएको आलु असिनाले नष्ट गरेपछि उनी बेचैन छन् । खेती नष्ट भएपछि घर चलाउने खर्च जोहो अब कसरी गर्ने होला भन्ने चिन्ता बढेको उनले बताइन् । ‘हेरौं हेरौं लाग्ने बारी असिनाले छिया छिया पार्यो, सबै मिहिनेत खेर गयो, नहुने बेलामा दैवले पनि हेर्दो रै'नछ,’ उनले भनिन् । हरेक वर्ष आलु बेचेर ४/५ लाखसम्म कमाउने गरेको उनले बताइन् । 

आलुखेतीमा नोक्सानी भएपछि पालिकाबाट अध्यक्षसहितको टोली आएर हेरेर फर्केको उनले बताइन् । ‘क्षतिपूर्ति गरिदिन्छौं भनेका छन्,’ उनले भनिन्, ‘के दिन्छन्, कहिले दिन्छन्, दिए त राम्रो हुन्थ्यो ।’

एबोबाट मात्रै वार्षिक २ करोड ५० लाखभन्दा बढीको आलु बाहिर निकासी हुँदै आएको छ । जिल्लाभर ३ हजार ८०० हेक्टर उच्च भू–भागमा आलुखेती हुँदै आएको छ । पुस–माघमा रापेको आलु मध्य असारदेखि भदौसम्म खनेर निकासी हुने गरेको छ ।

जिल्लाको ९ वटै स्थानीय तहको उच्च भेगमा नगदेबालीका रुपमा आलुखेती हुँदै आएको छ । जिल्लाभरबाट वार्षिक ७० करोड बराबरको आलु तराईसहित काठमाडौं निर्यात हुने गरेको तथ्यांक छ । Dolakha farmers worried after hailstorm damages potato crops

सबै भन्दाबढी शैलुङबाट आलु निर्यात हुने गरेको छ । दोलखासमेत कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र रामेछापले आलुखेतीमा असिनाले गरेको क्षतिको लगत स्थानीय तहसँग माग गरेको प्रमुख प्रमोदप्रसाद दाहालले बताए ।

‘हामी लेकाली भेगका किसानको बारीमा लगाएको आलुखेतीमा के कति नोक्सनी भयो ? भनेर स्थानीय तहसँग विवरण मागेका छौं,’ उनले भने, ४ वटा स्थानीय तहले विवरण बुझाएका छन्, बाँकीले बुझाएका छैनन्, जसका कारण क्षतिको पूर्ण विवरण बनाउन सकेका छैन ।’

असिनाले क्षति गरेको खेतीको विवरण प्रदेशमा माग गरेको उनले बताए । आएका विवरणमा अधिकांश आलुखेतीमा नोक्सानी गरेको भनेर आएको उनले बताए । विवरण संकलनपछि मात्रै के कति तथ्यांकमा क्षति भयो पूर्ण विवरण दिन सक्ने उनले बताए ।

केदार

Link copied successfully