कर्जा विस्तार अझै सुस्त: बैंकको ध्यान पुरानो ऋण असुलीमा

आर्थिक वर्षको सुरुदेखि नै कर्जा विस्तारले गति लिन सकेन, सात महिनामा ४ खर्ब ३३ अर्बले निक्षेप बढ्दा साढे खर्ब मात्र ऋण प्रवाह भएको छ ।

चैत्र १८, २०८२

यज्ञ बञ्जाडे

Credit expansion still slow: Banks focus on recovering old loans

What you should know

काठमाडौँ — गएको सात महिना (साउनदेखि माघ) सम्म बैंक तथा वित्तीय संस्थामा अपेक्षित रूपमा कर्जा विस्तार हुन सकेको छैन । आर्थिक गतिविधि चलायमान नहुँदा अर्थतन्त्र स्थिर रहेकाले कर्जा माग नबढेको हो । आर्थिक वर्षको सुरुदेखि नै कर्जा विस्तारले गति लिन नसकेको अवस्थाबाट अहिले पनि सुधार नभएको बैंकर बताउँछन् ।

इजरायल–इरान युद्धको असर नेपालको बजारमा देखिन थाले पनि वित्तीय प्रणालीमा अझै देखिएको छैन । चैत तेस्रो त्रैमासको अन्तिम महिना भएकाले बैंकहरूको ध्यान कर्जा असुलीमा गएको र कर्जा माग पनि अपेक्षित रूपमा बढ्न नसकेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए । ‘२/४ वटा कर्जा बढ्दैमा समग्र कर्जा माग बढेको भन्न सकिन्न । किनकि अहिले तेस्रो त्रैमासको अन्तिम महिना भएकाले प्रायः बैंकको ध्यान कर्जा असुलीमा छ,’ उनले भने, ‘निक्षेप बढिरहेको छ । तर कर्जा माग बढेको छैन ।’

इजरायल–इरान युद्धको असर नेपालको बजारमा देखिन थाले पनि वित्तीय प्रणालीमा अझै नदेखिएको कोइरालाले जनाए । ‘छिमेकी राष्ट्रसहित अरू देशका गतिविधि हेर्दा इजरायल–इरान युद्धको असरबाट नेपाली अर्थतन्त्र पनि अछूत रहने देखिएको छैन,’ उनले भने, ‘यद्यपि तत्काल बैंकिङ क्षेत्रमा असर देखिइसकेको छैन ।’

गएको सात महिना (साउनदेखि माघ) सम्म बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो ६ प्रतिशतको वृद्धि हो । यससँगै गत माघसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७६ खर्ब ९७ अर्ब ५९ करोड पुगेको छ । गत वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप ३.८ प्रतिशत अर्थात् २ खर्ब ४५ अर्ब ३४ करोडले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

२०८२ माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती खातको हिस्सा ६.५, बचतको ४२.८ र मुद्दती निक्षेपको ४१.६ प्रतिशत छ । गत वर्षको सात महिनामा यस्तो अंश क्रमशः ५.२, ३४.८ र ५२.४ प्रतिशत थियो । यस्तै माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३४.३ प्रतिशत छ । २०८१ माघ मसान्तमा यस्तो निक्षेपको अंश ३५.३ प्रतिशत थियो ।

गएको सात महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो ४ प्रतिशतको वृद्धि हो । यससँगै गत माघसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सात महिनामा कर्जा प्रवाह ५.६ प्रतिशत अर्थात् २ खर्ब ८३ अर्ब ४६ करोडले बढेको थियो ।

वार्षिक विन्दुगत गत माघसम्म कर्जा प्रवाह ६.८ प्रतिशतले बढेको छ । यस वर्ष राष्ट्र बैंकले १२ प्रतिशतले कर्जा विस्तारको लक्ष्य राखेको छ । आर्थिक वर्ष सकिन करिब चार महिना मात्र बाँकी रहेकाले बढीमा लक्ष्यको ६/७ प्रतिशतसम्म मात्र कर्जा विस्तार हुने जानकार बताउँछन् ।

पछिल्ला सातामा बैंकहरूमा कर्जा माग वृद्धिको प्रशस्त संकेत देखिएको राष्ट्र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालको तर्क छ । ‘अरू बैंकर साथीहरूसँगको कुरामा पनि आउँदा दिनमा ऋण बढ्ने देखिएको छ,’ उनले भने, ‘राष्ट्रिय वाणिज्य बैंकको हकमा पनि कर्जा माग बढेको छ । हाम्रा शाखाहरूबाट ऋण स्वीकृतिको विद्यमान सीमा बढाउन आग्रह आइरहेको छ ।’

अहिलेसम्मको अवस्था हेर्दा आउँदा महिनामा कर्जा विस्तारको गति बढ्ने सम्भावना रहेको खनालले जनाए । २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.८ प्रतिशत र ३६.२ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको सात महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ऋण प्रवाहको वृद्धिदर ४.२, विकास बैंकहरूको ३ र वित्त कम्पनीहरू १.८ प्रतिशत छ ।

२०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा १५ प्रतिशत छ । घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत रहेको छ । २०८१ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.४ प्रतिशत र ६५.१ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully