पश्चिम एसिया तनावका कारण आन्तरिक उडानमा हालसम्मकै धेरै हवाई भाडा वृद्धि

धनगढीको हवाई भाडा एकै पटक ५ हजार ४ सय ८० रुपैयाँले बढेर ११ हजार पुगेको छ ।

चैत्र १८, २०८२

सुरज कुँवर

Domestic airfares see biggest ever hike due to West Asia tensions

What you should know

काठमाडौं — पश्चिम एसियामा जारी युद्धको प्रभावले नेपालमा बिक्री हुने हवाई इन्धन (एयर टर्बाइन फ्युल) को म्ल्यू ९८ प्रतिशतले बढेपछि बुधबारदेखि आन्तरिक उडानमा पनि हवाई भाडा झन्डै दोब्बरले वृद्धि भएको छ ।

हवाई इन्धनको मूल्य वृद्धि भएकै कारण हवाई भाडाअन्तर्गत फ्युल सरचार्ज बढ्दा सबैभन्दा धेरै हवाई भाडा धनगढीको बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । अब धनगढीको न्यूनतम भाडा १४ हजार ४ सय ५७ र अधिकतम २३ हजार ५९ रुपैयाँ हुनेछ ।

नयाँ दरअनुसार काठमाडौं–धनगढी रुटमा हवाई भाडा एकै पटक ५ हजार ४ सय ८० रुपैयाँले फ्युल सरचार्ज बढेको हो । मंगलबारसम्म वायुसेवा कम्पनीले यस रुटमा टिकटअन्तर्गत इन्धनमा लाग्ने शुल्क (फ्युल सरचार्ज) ५ हजार ६ सय १० रुपैयाँ मात्रै लाग्थ्यो । अब धनगढीको हवाई भाडामा फ्युल सरचार्ज मात्रै ११ हजार ९० पुगेको छ । यसमा २ हजार ५ सय ३८ रुपैयाँ एयर फेयर, ५ सय रुपैयाँ विमानस्थल सेवा शुल्क र ३ सय २९ रुपैयाँ मूल्य अभिवृद्धि कर अलग्गै तिर्नुपर्ने छ । यो न्यूनतम भाडा हो । यसलाई वायुसेवाले लोअर लिमिट भन्छन् ।

यसैबीच अब काठमाडौंबाट हुने पर्वतीय (माउन्टेन) उडानमा ४ हजार २ सय ५५ रुपैयाँले फ्युल सरचार्ज वृद्धि भई ८ हजार ६ सय १५ पुगेको छ । माउन्टेन उडानमा न्यूनतम भाडा ११ हजार ३ सय ४२ पुगेको छ ।

काठमाडौं–सुर्खेतमा ४ हजार २ सय ८५ ले फ्युल सरचार्ज वृद्धि भई ८ हजार ६ सय ५७ पुगेको छ । त्यस्तै काठमाडौं–नेपालगन्ज रुटमा ४ हजार ४५ ले वृद्धि भई ८ हजार १ सय ८५, काठमाडौं–भद्रपुर रुटमा ३ हजार ७ सय २५ ले वृद्धि भई ७ हजार ५ सय ४०, काठमाडौं–पोखरा रुटमा १ हजार ९ सय ७० ले वृद्धि भई ३ हजार ९ सय ८५, काठमाडौं–जनकपुर रुटमा १ हजार ६ सयले वृद्धि भई ३ हजार २ सय ३०, काठमाडौं–भरतपुर रुटमा १ हजार ३ सय ३० रुपैयाँले वृद्धि भई २ हजार ६ सय ९०, काठमाडौं–विराटनगर रुटमा २ हजार ९ सय ८० रुपैयाँले वृद्धि ६ हजार २०, काठमाडौं–भैरहवा रुटमा २ हजार ५ सय ५५ रुपैयाँले वृद्धि भई ५ हजार १ सय ७० र काठमाडौं–सिमरा रुटमा १ हजार १ सय २० रुपैयाँले वृद्धि भई २ हजार २ सय ६० रुपैयाँ फ्युल सरचार्ज मात्रै बढेको छ । यसमा एयर फेयर, विमानस्थल सेवा शुल्क र मूल्य अभिवृद्धि कर यात्रुले थप तिर्नुपर्छ । कुनै पनि आन्तरिक हवाई टिकटमा वायुसेवाले चार वटा शीर्षक जोडेर हवाई भाडा निर्धारण गर्छन् ।

Domestic airfares see biggest ever hike due to West Asia tensions

नयाँ हवाई भाडा मंगलबारदेखि नै वायुसेवा कम्पनीले लागू गरेका थिए । ‘हवाई इन्धनको मूल्यमा पहिले–पहिले सामान्य वृद्धि हुँदा दुई दिन कुरिन्थ्यो । यस पटक मंगलबार रातिबाट वृद्धि भएकाले बुधबारदेखि नै नयाँ वृद्धि भएको फ्युल सरचार्ज लागू भइसक्यो,’ वायुसेवा सञ्चालक संघका कोषाध्यक्ष तथा बुद्ध एयरका निर्देशक रूपेश जोशीले कान्तिपुरसँग भने ।

आन्तरिक उडानको हवाई भाडा (टिकट) मा फेयर, फ्युल सरचार्ज र विमानस्थल सेवा शुल्क समावेश हुन्छन् । पछिल्लो समय हवाई इन्धनको मूल्य करिब ९८ प्रतिशतले वृद्धि भएपछि नेपाल आयल निगमले प्रतिलिटर १ सय २७ मा बिक्री भइरहेको इन्धनलाई बढाएर मंगलबार रातिदेखि २ सय ५१ रुपैयाँ कायम गरेको हो । यससँगै हवाई सेवा प्रदायकहरूका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार नयाँ भाडा सूची सार्वजनिक गरेको हो ।

आन्तरिक उडानका कुनै पनि हवाई टिकटमा फेयर, ओभरहेड कस्ट (इन्धन), भ्याट र विमानस्थल सेवा शुल्क गरी चार वटा तत्त्व मिलेर हवाई भाडा बन्ने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन् । यीमध्ये इन्धनको शुल्क घटबढ हुँदा हवाई भाडा पनि फेरबदल हुन्छ । ‘हवाई टिकटमा इन्धनको हिस्सा झन्डै ४० प्रतिशतसम्म हुन्छ । तर नेपालमा कहिल्यै नबढेको दरमा प्रत्येक सेक्टरमा फ्युल सरचार्ज दोब्बर भएको छ,’ सहप्रवक्ता भुलले भने, ‘अहिलेको यो असामान्य अवस्था हो । अवस्था चाँडै सहज भए हवाई इन्धनको शुल्क पनि फेरबदल हुन्छ ।’

आयल निगमका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । यही कारण पछिल्लो १५ दिनमै करिब ५ अर्ब घाटा बेहोर्नुपरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मूल्य वृद्धिका कारण पछिल्लो १५ दिनमा करिब ५ अर्ब घाटा बेहोरिसकेको निगमले जनाएको छ । निगमका अनुसार, भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४१.६०, डिजेलमा ९४.९३, हवाई इन्धनमा १२३.८० र एलपी ग्यासमा प्रतिसिलिन्डर १ सय ९०.३६ रुपैयाँले मूल्य बढेको छ । तर निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य समायोजन नगरेको र यसले गर्दा पेट्रोलमा प्रतिलिटर ४७.१२, डिजेलमा १३३.४५ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ घाटा भइरहेको बताएको छ ।

मूल्य समायोजन गर्न नसक्दा १३ अर्ब २१ करोड घाटा भएको निगमको दाबी छ । आपूर्ति भने मागअनुसार भइरहे पनि भुक्तानी समयमै गर्न नसक्दा व्यवस्थापनमा चुनौती थपिएको पनि निगमको भनाइ छ । निगम सञ्चालक समितिको निर्णयअनुसार १७ चैत २०८२ राति १ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्यमा आन्तरिकतर्फ प्रतिलिटर १ सय २४ रुपैयाँले वृद्धि गरेर २ सय ५१ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर ८ सय १९ ले वृद्धि गरेर अमेरिकी डलर १७ सय ८५ पुर्‍याइएको छ । पोखरा र भैरहवामा बिक्री हुने हवाई इन्धन भने ब्रेकइभेन मूल्य कायम गरिएको निगमले बताएको छ ।

पेट्रोल, डिजेल/मट्टीतेल तथा एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् राखिएको छ । निगमले मूल्य स्थिरीकरण कोषको समेत उपयोग गर्दै उपभोक्तालाई राहत दिने प्रयास भइरहेको जनाएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully