मंगलबार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री वाग्ले नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने बनाउने बताएका हुन् ।
काठमाडौं — अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल गरिखाने मान्छेहरूको देश हो भनेर चिनाउने गरी अर्थतन्त्रको विकास गर्ने बताएका छन् । मंगलबार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन् ।
अर्थमन्त्री वाग्लेले चेम्बरका पदाधिकारीहरूलाई उड्ने, फैलने सुविधा राज्यले दिने बताए । 'देश बनाउने हुटहुटी बोकेर आएका छौँ । अर्थतन्त्र बलियो बनाउने हो । आउनुस् हातेमालो गरौँ,' उनले भने, 'इमान्दार उद्योगी व्यापारीहरू कानुनका कारण बदनाम बन्ने अवस्था आउन नदिन गरी काम गर्छौं । राज्यका कारण रोजगारी सृजना गर्नेले अब दुःख हैरानी पाउँदैन त्यसको ग्यारेन्टी गर्छु ।'
उनले उद्यम गर्न, अर्थतन्त्र बनाउन राज्यले सबै काम गर्ने तर यसका लागि उद्योगी व्यापारी पनि इमान्दार बनिदिन आग्रह गरेका थिए । अर्थतन्त्र बलियो बनाउन, मुलकको सर्वाङ्गीण विकास गर्ने सबैजना एक ठाउँमा उभिनु पर्ने बताएका थिए ।
'मैले पटक पटक भन्ने गरेको छु । निजी क्षेत्र इमान्दार भइदिनुस् । राज्यले दिलोज्यान दिएर तपाईंहरूलाई सहयोग गर्छ । म त्यसको जिम्मा लिन्छु तर नियोजित र प्रायोजित गल्ती र बेइमानीमा भने हामी निर्मम हुन्छौं,' उनले भने, 'नेपाल एलडीसीमा स्तरोन्नति गइहाल्छ कि भन्ने निजी क्षेत्रको पिरलाई मैले बुझेको छु । म यो तत्काल हुँदैन भन्ने मान्यता राख्छु ।'
