सस्तो मूल्यमै भए पनि हरेक वर्ष यहाँको पातारासी गाउँपालिकाबाट मात्रै ५ हजार ७ सय ५८ मेट्रिक टन आलु जिल्लाबाहिर जान्छ ।
What you should know
जुम्ला — यहाँको गुठीचौर गाउँपालिका–१ का गोरबहादुर बस्नेत वर्षमा ५० क्विन्टल आलु उत्पादन गर्छन् । केही आफ्नो र केही छिमेकीको आलु संकलन गरेर बजारसम्म लैजान्छन् । तर कहिले मौसमका कारण बाटो बिग्रिएर व्यापारी पुग्न सक्दैनन् त कहिले आलुको मूल्यसमेत निकै कम हुने गरेको छ । आफ्नो आठ जना परिवारको खर्च धान्ने स्रोतका रूपमा आफूले आलु उत्पादन गरिरहेको उनी बताउँछन् ।
‘दुर्गममा आलु धेरै उत्पादन भइरहेको छ । तर नजिकै बजार छैन,’ उनले भने, ‘त्यसैले गाउँको आलु कौडीको भाउमा बेच्न बाध्य छौं ।’ गाउँमा किसानले अधिकतम १५ देखि २० रुपैयाँ प्रतिकेजीमा आलु बेचिरहेको उनले सुनाए । खलंगासम्म आइपुग्दा प्रतिकेजी ३० रुपैयाँसम्म आलु आइपुग्ने गरेको छ । ‘घरमा हरेक वर्ष ५० क्विन्टल हाराहारीमा आलु उत्पादन हुन्छ, यसबाट कम्तीमा पनि डेढ लाख रुपैयाँ आम्दानी हुन्छ,’ उनले भने ।
कर्णालीमा सडक नपुग्दा आलु पशुबस्तुको दानाका रूपमा प्रयोग भइरहेको थियो । ‘अहिले १५/२० रुपैयाँ भए पनि गाउँमै मिलेको छ,’ उनले थपे, ‘मिहिनेत अनुसारको मूल्य त पाउन सकिरहेका छैनौं । केही नपाउनुभन्दा त थोरै भए पनि आम्दानीको स्रोत बनिरहेको छ ।’
जुम्ला पातारासी–६ की रूपा खड्का हरेक दिन आलु बेच्न खलंगा आइपुग्छिन् । आलु बोरामा बोकेर उनी खलंगा आउँदा पनि प्रतिकेजी ३० रुपैयाँमा बेचेर फर्किन्छिन् । आफूले सात रोपनीमा आलु खेती गरिरहेको उनले बताइन् । वर्षमा एक सय क्विन्टलसम्म आलु उत्पादन गरिरहेकी उनको परिवारको खर्चसमेत आलु बेचेरै चलिरहेको छ । ‘आलु उत्पादन धेरै हुने गर्छ तर नजिकै बजार नहुँदा महंगोमा बेच्न सकिएको छैन,’ उनले भनिन्, ‘आलुको बजार र किसानको आलु एकै ठाउँमा पाइने गरेर संकलन केन्द्र आवश्यक छ ।’ पहिले खाडलमा भण्डारण गरेको आलु खाडलमै कुहिन्थ्यो, अहिले केही नभए पनि बजारसम्म पुगिरहेको उनको भनाइ छ ।
पातारासी गाउँपालिकाको तथ्यांक अनुसार हरेक वर्ष ५ हजार ७ सय ५८ मेट्रिक टन आलु जिल्लाबाहिर जान्छ । यहाँबाट कालीकोट, मुगु, जाजरकोट, दैलेख, सुर्खेत, नेपालगन्जलगायतका सहरमा आलु जाने गरेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार गत वर्ष २ हजार २ सय ९२ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो । जसमा ३९ हजार ७ सय १५ मेट्रिक टन आलु उत्पादन भएको थियो । आलु बेचेर तीन करोड रुपैयाँ जुम्ला भित्रिएको कार्यालय प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । यहाँ जुम्ली लोकल, महत, खुमल सेतो, खुमल रातो, डेजिरे, जनकदेव र कुफ्रिज्योति नामको आलु उत्पादन हुने गरेको छ ।
जुम्लामा विशेष गरी दुई सिजने अर्थात् ३ महिन र ६ महिनामा फल्ने आलु रहेको छ । आलुको बजारीकरण वृद्धि गर्नका लागि कृषकलाई प्रोत्साहित गर्न कृषि प्रदर्शनी मेला लगायतका सचेतनामूलक कार्यक्रम भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा उत्पादित आलुमा विषादी प्रयोग नहुने भएकाले अर्गानिक आलुको रूपमा परिचित छ । खाँदा स्वादिलो र पोषिलो हुने भएकाले यहाँ उत्पादन हुने आलुको माग उच्च छ ।
प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेर आलु किसानका लागि कार्टुनको व्यवस्थापन गर्न माग गरेका छन् । उनले भने, ‘जुम्लाको आलु नेपालकै उत्कृष्ट आलुका रूपमा पर्छ । हिमाली जिल्लामा पाइने आलुको विशेषता नै फरक छ । आलुलाई नेपालको ठूला बजारसम्म पुर्याउन जिल्लालाई ‘आलु सुपर जोन’का रूपमा अघि बढाइदिन आग्रह छ ।’ आलु संकलन र बजारीकरणका लागि जुम्लाको पातारासी गाउँपालिकामा व्यापारिक केन्द्र स्थापना गर्न पनि उनले माग गरेका छन् ।
