बाढी पहिरोले कटान गरेको १० ठाउँमा रिटेनिङ वाल लगाउन सडक बन्द गरिने भएपछि रसुवा नाकाबाट सामान आयात पनि बन्द हुने भएको छ ।
What you should know
काठमाडौँ — चीन जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नतिका लागि बुधबारदेखि १५ दिन बन्द हुने भएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयले सार्वजनिक सूचना जारी गर्दै उक्त सडक खण्डमा पर्ने १० वटा अप्ठ्यारा ठाउँमा रिटेनिङ वाल लगाउन लागिएको हो । आयोजनाका अनुसार ३ महिनासम्म प्रत्येक अंग्रेजी महिनाको १ तारिखदेखि १५ तारिखसम्म सडक बन्द गरिने छ । जसअनुसार बुधबारदेखि यो सडक २ वैशाखसम्म बन्द रहने छ ।
भौगोलिक अवस्थाले गर्दा सडक बन्द गरेर काम गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालय विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले बताए । २४ असारमा आएको बाढीका कारण ठाउँ–ठाउँमा पहिरो खसेर क्षति पुगेको थियो । त्यस्ता ठाउँमा २.५ मिटरदेखि ३ मिटरसम्म मात्र ट्र्याक खोलेर जसोतसो सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । अधिकांश स्थानमा भोटेकोशीले तलबाट सडक कटान गर्दा पहाड कटिङ गरेर सामान्य रूपमा सडक चौडा पारिएको थियो ।
‘अब यो सडकलाई दुई लेनमा स्तरोन्नति गर्न लागिएको हो,’ प्रमुख ओझाले भने, ‘सुरुमा अप्ठ्यारो खण्डमा काम हुन्छ ।’ चिनियाँ टोलीकै आग्रहमा सडक बन्द गरेर काम गर्न लागिएको उनको भनाइ छ । ‘सवारीसाधन सञ्चालनका लागि खुल्ला गर्दा सजिलो ठाउँमा र अप्ठ्यारो ठाउँ आउँदा सडक बन्द गरेर काम गर्छौँ,’ उनले भने, ‘निर्माणमा प्रयोग हुने मेसिन चीनबाट आइरहेको छ, फेरि आवश्यक परेका सामानहरू उतैबाट आउँछ ।’ स्याफ्रुबेंसीको दक्षिण पुलदेखि चीन–नेपाल जोड्ने रसुवागढी खण्डसम्मको सडक बन्द हुने छ ।
नेपाल–चीन दुई देशका अधिकारीबीच सम्झौता भएको ७ वर्षपछि स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नतिको काम थालिएको हो । चीन सरकारको अनुदानमा स्तरोन्नति गर्ने गरी दुई देशका अधिकारीबीच सन् २०१९ मा कार्यान्वयन सम्झौता भएको थियो । तर, अहिलेसम्म स्तरोन्नतिको काम अघि बढ्न सकेको थिएन । काम सुरु गर्नै लाग्दा कोभिड–१९ देखिएपछि थप प्रगति यसमा हुन सकेको थिएन ।
स्याफ्रुबेंसी–रसुवागढीसम्मको दूरी १५ दशमलव ५ किलोमिटर छ । सडक स्तरोन्नतिका लागि उतै ठेक्का गरेर चिनियाँ कम्पनी सिचाङ थियान्लु नेपाल आएको हो । जसको ठेक्का रकम साढे ६ अर्ब रुपैयाँ छ । निर्माण अवधि ३९ महिना तोकिएको छ । बीचमा निर्माण सामग्री र चीनबाट ल्याउने सामानमा कर छुट गर्नुपर्ने कुराले काम अघि बढ्न सकेको थिएन । यो स्वीकृत गराउन अर्थ मन्त्रालयबाट ६ महिना लागेको र स्वीकृत भएपछि चिनियाँ टोली काम गर्न आएका हुन् । निर्माणमा प्रयोग हुने ढुंगा, गिट्टी, बालुवामा कर छुटको निर्णय भइसकेको छ । व्यापारिक नाकाका रूपमा चीनसँग जोड्ने यो सडक अहिले बाढीपहिरोले गर्दा साँघुरो भएकाले रसुवागढी नाकाबाट तयारी वस्तु बोकेका मालवाहक सवारीसाधन जोखिम मोलेर स्याफ्रुबेंसीसम्म आइपुग्ने गरेका छन् ।
सडक बन्द भएपनि भन्सार कार्यालय बन्द नहुने रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत तुलसीप्रसाद भट्टराईले बताए । ‘सडक बन्द गरेर काम गर्दा यता (नेपाल) बाट उता (चीन) मालवहाक सवारी साधन जान सक्दैनन्,’ उनले भने, ‘उताबाट सामान लिएर पनि भन्सार यार्डसम्म आइपुग्दैनन् ।’ नाकाबाट भन्सारसम्म आइपुग्ने करिब ४ किमि सडक अप्ठ्यारो भएको र तीन वटा ठूलो पहिरो रहेको उनको भनाइ छ ।
बर्खाअघि यस नाकाबाट दैनिक सय वटा मालबहाक सवारी साधन सामान लिएर नेपाल भित्रने र त्यति नै संख्यामा सामान लिन चीनतर्फ जाने गर्थे । अहिले दैनिक ३० देखि ३५ वटा मालवाहक सवारीसाधन चीन जाने र त्यति नै संख्यामा सामान लिएर नेपाल भित्रने गरेका छन् । यो नाकाबाट तयारी सामानसँगै विद्युतीय सवारीसाधन बढी मात्रमा आयात हुने गरेको छ । पछिल्लो समय जलविद्युत् आयोजनामा प्रयोग हुने मेसिन तथा सामाग्रीहरू भित्रिरहेका छन् । २४ असारमा ल्हेन्दे खोलामा आएको बाढीले पुल बगाएपछि नाका ठप्प बनेको थियो । करिब ६ महिनापछि १७ पुसबाट नाका सञ्चालनमा आएको हो ।
ल्हेन्दे खोलामा चीनले अस्थायी बेलिब्रिज निर्माण गरेपछि नाका सञ्चालनमा आएको थियो । साउनदेखि चैत १६ (सोमबारसम्म) ६ अर्ब ६ करोड ९० लाख रुपैयाँ मात्र राजश्व संकलन भएको प्रमुख भट्टराईले बताए । ‘लक्ष्य ४० अर्ब १६ करोड रुपैयाँ संकलन गर्ने थियो,’ उनले भने, ‘लामो समय नाका बन्द हुँदा र फेरि सडक बन्द हुने हुँदा लक्ष्य भेट्ने अवस्था छैन ।’ सडक बन्द हुने सूचनाले दुई दिन यता नाकाबाट मालवहाक सवारी साधन आउन–जान कम भएको उनले सुनाए । सडक बन्द भएपछि यो नाकाबाट सामान ल्याउन समस्या हुने भएपछि व्यवसायीहरूले विकल्पमा सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका प्रयोग गर्ने छन् ।
