कार्यकारी निर्देशक दिव्यराज पोखरेल यस्तो महत्वाकांक्षी योजना अघि सारेका हुन् ।
काठमाडौँ — नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले शैक्षिक प्रगति र संरचनात्मक सुधारलाई प्राथमिकता दिँदै आफूलाई नेपालको पहिलो डिम्ड विश्वविद्यालयका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।
५३ औँ वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक दिव्यराज पोखरेल यस्तो जानकारी दिएका हुन् । डिम्ड विश्वविद्यालय भन्नाले सरकारले विशेष मान्यता प्रदान गरेको त्यस्तो शैक्षिक संस्था हो, जसलाई विश्वविद्यालयसरह अधिकार दिइएको हुन्छ तर यो पूर्ण रूपमा स्थापित परम्परागत विश्वविद्यालय भने हुँदैन । यस्ता संस्थाहरू सामान्यतया कुनै विशेष क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका हुन्छन् । त्यसै आधारमा उनीहरूलाई उच्च शैक्षिक स्वतन्त्रता प्रदान गरिन्छ ।
डिम्ड विश्वविद्यालयको मुख्य विशेषता भनेको यसलाई आफ्नै पाठ्यक्रम निर्माण गर्ने, परीक्षा सञ्चालन गर्ने तथा डिग्री प्रदान गर्ने अधिकार हुनु हो । यसले गर्दा यस्तो संस्थाले समयानुकूल, बजारमुखी र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न सक्छ । परम्परागत विश्वविद्यालयसँग आबद्ध कलेजहरू प्रायः विश्वविद्यालयले निर्धारण गरेको पाठ्यक्रमअनुसार चल्नुपर्छ, तर डिम्ड विश्वविद्यालयले भने आफ्नै निर्णयअनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्छ ।
उनका अनुसार, हाल सञ्चालनमा रहेको मास्टर अफ हस्पिटालिटी कार्यक्रमलाई परिमार्जन गरी एमबीए इन टुरिजम एन्ड हसपिटालिटीमा रूपान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उक्त कार्यक्रम त्रिभुवन विश्वविद्यालय सँगको सहकार्यमा सञ्चालन हुनेछ, जसले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षा सुनिश्चित गर्ने विश्वास लिइएको छ ।
यससँगै, नयाँ पुस्ताको मागका आधारमा डिप्लोमा इन कलनरी आर्ट कार्यक्रम सुरु गर्ने तयारी गरिएको छ । जसले पर्यटन तथा आतिथ्य क्षेत्रमा सीपयुक्त जनशक्ति उत्पादनमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ । कार्यकारी निर्देशक पोखरेलले नाथमलाई पर्यटन तथा आतिथ्य शिक्षाको केन्द्रीय केन्द्र (सेन्टरल हब ) का रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको उल्लेख गरे । उनका अनुसार, संस्थालाई देशभर विस्तार गर्दै सातै प्रदेशमा शाखा स्थापना गर्ने र स्थानीय स्तरमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
साथै, डिजिटल नाथम अवधारणामार्फत सम्पूर्ण सेवा प्रणालीलाई डिजिटल बनाउने तथा हरित ऊर्जा प्रयोगलाई प्रवर्द्धन गर्ने योजनासमेत अघि बढाइएको छ । प्रतिष्ठानलाई पूर्ण रूपमा सौर्य ऊर्जाबाट सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइएको छ । अन्तर्राष्ट्रिय सहकार्यलाई पनि प्राथमिकतामा राख्दै एसियाली विकास बैंक, विश्व बैंक, जापान सहयोग नियोग, र कोइकासँग सहकार्य विस्तार गर्ने पहल भइरहेको जनाइएको छ ।
कलंकीस्थित रविभवनमा सन् १९७२ मा स्थापना भएको नाथमले हालसम्म ६६ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको जनाएको छ । संस्थाले अब युवालाई विदेश पलायन हुनबाट रोक्ने गरी नेपालमै गुणस्तरीय शिक्षा र रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।
