संघीय सरकारको शासकीय सुधार योजनाअन्तर्गत दोर्दी हिमाल ट्रेकिङ रुट कार्यान्वयनको तयारीले लमजुङमा वैकल्पिक पर्यटनको सम्भावना उजागर गरेको छ।
What you should know
लमजुङ — संघीय सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं. ७२ मा समेटिएको दोर्दी हिमाल ट्रेकिङ रुट कार्यान्वयनको तयारीले लमजुङको पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको छ ।
व्यवस्थित पर्यटन विकासका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयनयोग्य खाका तयार गर्ने सरकारको योजनासँगै दोर्दी क्षेत्र पुनः चर्चामा आएको हो ।
मनाङ–मुस्ताङ जोड्ने विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्ग सडक विस्तारसँगै छोटिँदै जाँदा यसको विकल्प खोज्ने प्रयास तीव्र बनेको छ । करिब २१ दिन लाग्ने पदयात्रा एक सातामा पूरा हुने भएपछि नयाँ पदमार्गको खोजी अपरिहार्य बनेको हो । यसै सन्दर्भमा कास्की, लमजुङ र मनाङ जोड्ने गुरुङ हेरिटेज ट्रेल सञ्चालनमा आइसकेको छ । दोर्दी गाउँपालिकाले आफ्नो उच्च हिमाली भेगमा पदमार्ग पहिचानलाई प्राथमिकता दिएको छ ।
दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका अनुसार ‘दोर्दी हिमाल ट्रेकिङ रुट’ यसअघि नै पहिचान भइसकेको सम्भावनायुक्त गन्तव्य हो । गाउँपालिका केन्द्र नौथर शेराबाट सुरू हुने यो पदमार्ग हिमालचुली हिमाल (७,८९३ मि.) को आधार क्षेत्रसम्म पुग्छ र गोरखासँग समेत जोडिन्छ । गाउँपालिकाभित्र मात्र करिब ९ दिनको यो ट्रेकिङ रुटलाई ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स ट्रेल’ नाम दिइएको छ ।
यो पदमार्गको पहिलो दिन नौथर शेराबाट इलमपोखरी (१,९०० मि.) वा दाम्राङ–जुमगढी (२,००५ मि.) पुगिन्छ । दोस्रो दिन लिपे (३,१०५ मि.), तेस्रो दिन नोटाचे (३,५०० मि.), चौथो दिन मोलोम्चे (३,३०० मि.), पाँचौँ दिन उखण्ड (३,५०० मि.), हुँदै छैटौँ दिन मेमेपोखरी (४,४५६ मि.) पुगिन्छ । मेमेपोखरीलाई दोर्दी क्षेत्रको ‘सिरान’ मानिन्छ, जहाँबाट हिमालचुली हिमालको आधार क्षेत्र पुगिन्छ ।
मेमेपोखरीबाट सातौँ दिन कोम्रोडाँडा (४,००० मि.), आठौं दिन बाह्रपोखरी (३,०८० मि.) हुँदै नवौँ दिन मर्स्याङ्दी गाउँपालिकाको भुलभुले, बेंसीसहर नगरपालिकाको पिसहिल वा दोर्दी गाउँपालिकाको टापगाउँ, हिलेटक्सार माझगाउँ क्षेत्र झर्दै बेंसीसहर तथा अन्य बजार क्षेत्र पुग्न सकिन्छ ।
यस पदमार्गमा पर्यटकको सुविधालाई मध्यनजर गर्दै गाउँपालिकाले विभिन्न स्थानमा धर्मशाला निर्माण गरेको छ । मेमेपोखरीमा १२ लाख रुपैयाँ लागतमा १५० जनासम्म अट्ने धर्मशाला निर्माण गरिएको छ । स्थानीय क्लबले थप ८० जनासम्म अट्ने अर्को संरचना बनाएको छ । कोम्रोडाँडामा ९ लाख रुपैयाँ खर्चेर १०० जनासम्म अट्ने, मोलोम्चेमा ९ लाखमा ८० जनासम्म अट्ने र लिपेमा ७ लाखमा ४० जनासम्म अट्ने धर्मशाला निर्माण गरिएका छन् । चालु आर्थिक वर्षमा नोटाचेमा पनि धर्मशाला निर्माण गर्ने तयारी गरिएको छ । बाह्रपोखरी क्षेत्रमा निजी तथा सामुदायिक पहलमा धर्मशाला निर्माण भइसकेका छन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि अधिकारी नेतृत्वको पहिलो गाउँसभाले पर्यटन पूर्वाधार विकासका लागि लिपे क्षेत्रलाई लक्षित गर्दै २६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । थप १२ लाख रुपैयाँ पूर्वाधार विस्तारमा खर्च गरिएको छ । पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेश मुख्यमन्त्री हुँदा बाह्रपोखरी–मेमेपोखरी पदमार्गका लागि ३५ लाख रुपैयाँ लगानी गरेको थियो । इलमपोखरी–लिपे खण्ड फराकिलो बनाउन १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को समन्वयमा दोर्दीसहित गोरखाका अजिरकोट र बारपाक सुलिकोट तथा लमजुङका दूधपोखरी र मर्स्याङ्दी गाउँपालिकाको सहकार्यमा यस पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र नक्सा तयार भइसकेको छ । गोरखाबाट नोटाचे हुँदै यो पदमार्गमा जोडिन करिब तीन दिनको पदयात्रा गर्न सकिन्छ ।
दोर्दी क्षेत्रमा अन्य वैकल्पिक पदमार्गहरू पनि सञ्चालनमा आएका छन् । ‘लिपे लेक चक्रीय पदमार्ग’ चार दिनमा पूरा गर्न सकिने छोटो ट्रेल हो । यसले नौथर शेरा–इलमपोखरी–लिपेलेक–दाम्राङ हुँदै पुनः नौथर शेरा फर्काउँछ । यस्तै, ‘मेमेपोखरी कल्चरल ट्रेल’ करिब ९ दिनको यात्रा हो, जसले प्राकृतिक सौन्दर्यसँगै स्थानीय संस्कृति, भेडीगोठ र ग्रामीण जीवनशैली अनुभव गराउँछ ।
यो पदमार्गका लागि संघीय राजधानी काठमाडौंबाट दोर्दी गाउँपालिका केन्द्र नौथर शेरा वा त्यसपछि हिलेबेंसी क्षेत्रसम्मको करिब १ सय ८० किलोमिटर सवारी यात्रा गर्नुपर्छ । त्यसपछि करिब डेढ घण्टाको पैदलपछि खिन्चोक पुगिन्छ ।
खिन्चोकबाट बाह्रपोखरी (३,०८० मि.), कोम्रो डाँडा (४,००० मि.) पुगिन्छ । यो पदमार्गमा चौथो दिन उक्त क्षेत्रमा अनुकूलताको लागि विश्राम लिइन्छ । पाँचौँ दिन मेमे पोखरी पुगिन्छ । छैटौं दिन मेमे पोखरी घुमिन्छ । सातौँ दिन मेमे पोखरीबाट फर्किएर पौलीडाँडा (२,५८५ मि.) आइपुगिन्छ । पौलीडाँडाबाट आठौँ दिन खुरुखर्क (३,११० मि.) आइपुगिन्छ । खुरुखर्कबाट नवौं दिन तोब्रोस्यो झरना हेर्दै खिन्चोक आइपुग्छ ।
यी पदमार्गबाट माछापुच्छ्रे, अन्नपूर्ण, हिमालचुली, मनास्लु र गणेश हिमालका आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ । मौसम खुला हुँदा काठमाडौंको शिवपुरी क्षेत्रसमेत देखिन्छ । पदमार्गमा लालीगुराँस, जडीबुटी, वन्यजन्तु तथा विभिन्न प्राकृतिक सम्पदाको आनन्द लिन सकिन्छ ।
गाउँपालिकाले पदमार्गका विभिन्न स्थानमा खानेपानी व्यवस्थापन गरेको छ । भेडीगोठ र स्थानीय बस्तीमा बसोबासको व्यवस्था मिलाइएको छ । गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेका अनुसार यो पदमार्ग आसपास गुरुङ, घले, तामाङ, मगर र ब्राह्मण–क्षेत्री समुदायको बसोबास रहेको छ । यहाँ लोपोन्मुख संस्कृतिको अनुभव गर्न सकिन्छ ।
लमजुङ सदरमुकाम बेंसीसहरमा चैत ९ गते आयोजित शासकीय सुधार संवाद कार्यक्रममा दोर्दी क्षेत्रको पर्यटन सम्भावनाबारे छलफल समेत भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव डा. भिष्मराज भुसाल नेतृत्वको टोलीले क्षेत्रीय सम्भावनाबारे जानकारी लिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले संघीय सरकारको सहयोगबिना यस्तो पदमार्ग प्रवर्द्धन सम्भव नहुने बताएका थिए ।
जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले पर्यटन प्रवर्द्धनले स्थानीय अर्थतन्त्र सुदृढ हुने बताए । ‘ग्रामीण भेगमा होमस्टे सञ्चालनले आयआर्जन बढाएको छ, अब उच्च हिमाली पदमार्गलाई व्यवस्थित गर्न आवश्यक छ,’ उनले भने ।
लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित धर्मराज केसी दोर्दी क्षेत्रलाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै साहसिक तथा मनोरञ्जनात्मक पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताउँछन् । ‘दोर्दी क्षेत्रको पर्यटन प्रवर्द्धनमा अहिले सरकारको नजर परेको छ । दोर्दी हिमाल ट्रेकिङ रुटको विकास गर्न सकिए यसले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्न सक्छ,’ उनले भने । यस क्षेत्रको इलमपोखरी–दूधपोखरी क्षेत्रसम्म पुग्न पदमार्गको पहिचान गरेर थप पर्यटन प्रवर्द्धन र विकास गर्ने योजनाअनुरूप अघि बढेको उनले बताए ।
हाल बेंसीसहरदेखि नौथर शेरासम्म कालोपत्र सडक पुगेको छ । त्यसभन्दा माथिल्लो मानवबस्तीसम्म कच्ची सडक निर्माण भइसकेका छन् । यसले पदमार्गसम्मको पहुँच बढाएको छ ।
संघीय सरकारको प्राथमिकतामा परेको दोर्दी हिमाल ट्रेकिङ रुट, प्रदेश र स्थानीय तहको सहकार्यमा अघि बढ्दै जाँदा चक्रीय अन्नपूर्ण पदमार्गको विकल्पका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
