सात महिनामा ४ खर्ब ३३ अर्बले निक्षेप बढ्दा साढे २ खर्ब मात्र ऋण प्रवाह
What you should know
काठमाडौँ — गएको सात महिना (साउनदेखि माघ)सम्म बैंक तथा वित्तीय संस्थामा अपेक्षित रुपमा कर्जा विस्तार हुन सकेको छैन । आर्थिक गतिविधि चलायमान नहुँदा अर्थतन्त्र स्थिर रहेकाले कर्जा माग नबढेको हो । आर्थिक वर्षको सुरूदेखि नै कर्जा विस्तारले गति लिन नसकेको अवस्थाबाट अहिले पनि सुधार नभएको बैंकरहरू बताउँछन् ।
चैत तेस्रो त्रैमासको अन्तिम महिना भएकाले बैंकहरूको ध्यान कर्जा असुलीमा गएको र कर्जा माग पनि अपेक्षित रूपमा बढ्न नसकेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए । ‘२/४ वटा कर्जा बढ्दैमा समग्र कर्जा माग बढेको भन्न सकिँदैन । किनकि अहिले तेस्रो त्रैमासको अन्तिम महिना भएकाले अधिकांश बैंकहरूको ध्यान कर्जा असुलीमा छ,’ उनले भने, ‘निक्षेप बढिरहेको छ । तर, कर्जा माग बढेको छैन ।’
इजरायल–इरान युद्धको असर नेपालको बजारमा देखिन थाले पनि वित्तीय प्रणालीमा अझै नदेखिएको कोइरालाले बताए । ‘छिमेकी राष्ट्रसहित अरू देशहरूको गतिविधि हेर्दा इजरायल–इरान युद्धको असरबाट नेपाली अर्थतन्त्र पनि मुक्त रहने देखिएको छैन,’ उनले भने, ‘यद्यपि तत्काल बैकिङ क्षेत्रमा असर देखिइसकेको छैन ।’
गएको सात महिना (साउनदेखि माघ) सम्म बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो ६ प्रतिशतको वृद्धि हो । यससँगै गत माघसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७६ खर्ब ९७ अर्ब ५९ करोड पुगेको छ । गत वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेप ३.८ प्रतिशत अर्थात २ खर्ब ४५ अर्ब ३४ करोड ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
यस्तै, २०८२ माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती खातको हिस्सा ६.५, बचतको ४२.८ र मुद्दती निक्षेपको ४१.६ प्रतिशत छ । गत वर्षको सात महिनामा यस्तो अंश क्रमशः ५.२, ३४.८ र ५२.४ प्रतिशत रहेको थियो । यस्तै, माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३४.३ प्रतिशत छ । २०८१ माघ मसान्तमा यस्तो निक्षेपको अंश ३५.३ प्रतिशत थियो ।
गएको सात महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो ४ प्रतिशतको वृद्धि हो । यससँगै गत माघसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सात महिनामा कर्जा प्रवाह ५.६ प्रतिशत अर्थात २ खर्ब ८३ अर्ब ४६ करोडले बढेको थियो । वार्षिक विन्दुगत गत माघसम्म कर्जा प्रवाह ६.८ प्रतिशतले बढेको छ । यस वर्ष राष्ट्र बैंकले १२ प्रतिशतले कर्जा विस्तारको लक्ष्य राखेको छ । आर्थिक वर्ष सकिन करिब चार महिना मात्र बाँकी रहेकाले बढीमा लक्ष्यको ६/७ प्रतिशतसम्म मात्र कर्जा विस्तार हुने जानकारहरू बताउँछन् ।
