नाका खुलेसँगै चीनतर्फ लिपिङ बजारमा रोकिएका ५० भन्दा बढी कन्टेनर नेपालतर्फ भित्रिन थालेका छन्।
सिन्धुपाल्चोक — कोदारी राजमार्गअन्तर्गत कोदारी (इको) क्षेत्रमा पहिरोका कारण शुक्रबार अवरुद्ध भएको सडक सोमबार खुलेसँगै उत्तरी नाका तातोपानी चार दिनपछि पुनः सञ्चालनमा आएको छ।
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका अनुसार इको क्षेत्रमा आएको अवरोधका कारण सडक पूर्ण रूपमा बन्द हुँदा नाका सञ्चालन नै ठप्प हुने अवस्थामा पुगेको थियो। सडक खुल्ने प्रतीक्षामा रहेका व्यवसायीका लागि सोमबार राहत भएको छ।
नाका खुलेसँगै चीनतर्फ लिपिङ बजारमा रोकिएका ५० भन्दा बढी कन्टेनर नेपालतर्फ भित्रिन थालेका छन्। ‘शुक्रबारदेखि नाका बन्द हुँदा कन्टेनर चीनतर्फै रोकिएका थिए, अहिले सडक खुलेसँगै धमाधम पठाउन थालिएको छ,’ तातोपानी भन्सार प्रमुख राजेन्द्रप्रसाद चुडालले भने ।
चार दिनको अवरोधपछि नाका सञ्चालनमा आए पनि जोखिम भने यथावत् रहेको छ। वर्षात् र पहिरोका कारण सडक पुनः अवरुद्ध हुने सम्भावना रहेकाले व्यवसायी चिन्तित छन्। अवरोधका कारण लाखौं रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको उनीहरूको गुनासो छ।
चीनतर्फ अझै सयौं कन्टेनर गोदाममा रोकिएका छन्। सडक पूर्ण रूपमा सहज नभएसम्म ढुवानी नियमित हुन नसक्ने व्यवसायी बताउँछन्। ‘बल्ल सडक खुलेसँगै नाका सञ्चालनमा आएको छ, रोकिएका कन्टेनर भित्रिन थालेका छन्। तर पुनः वर्षा भएर पहिरो खस्ने डर कायमै छ,’ भोटेकोसी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले भने।
कोदारी राजमार्गमा पटक–पटक हुने अवरोधले तातोपानी नाकाको नियमित सञ्चालनमा चुनौती थपिँदै आएको छ। इको पहिरो नियन्त्रणका लागि अर्थ मन्त्रालयबाट ४८ करोड ४९ लाख रुपैयाँको ठेक्का आह्वानसमेत भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
