पुलको दुवैतर्फ निर्माण हुने पोखरीको गाइडबण्ड र पहुँच मार्ग निर्माणको काम बाँकी छ । दुई वर्षअघि महाकालीको बाढीले बगाएको गाइडबण्डको डिजाइन परिवर्तनको विषय पनि अगाडि बढेको छ ।
What you should know
कञ्चनपुर — महाकाली नदीमा निर्माणाधीन पक्की पुलको काम ठप्प भएको दुई वर्षभन्दा बढी भयो । अहिले पनि पुलको काम सुचारु हुने कुनै तयारी पनि छैन ।
अहिले पनि पुलको दुवैतर्फ निर्माण हुने पोखरीको गाइडबण्ड र पहुँच मार्ग निर्माणको काम बाँकी छ । तर गाइडबण्डको परिवर्तित डिजाइनको भेरिएसन नभएका कारण निर्माण कम्पनीले काम गर्न नसकेको हो । भेरिएसन मात्रै होइन दुई वर्षअघि महाकालीको बाढीले बगाएपछि गाइडबण्डको डिजाइन परिवर्तनको विषय पनि अगाडि बढेको छ । ‘अझै पनि भौतिक रुपमा ७ प्रतिशत काम बाँकी छ, तर दुई वर्षदेखि अलपत्र अवस्थामा छ,’ महाकाली पुल योजनाका इन्जिनियर दुर्गा अवस्थीले भने, ‘लामो समयदेखि भेरिएसन हुन नसक्दा निर्माण कम्पनीले ठेक्का तोड्ने प्रक्रिया पनि अघि बढाएको छ ।’
निर्माण कम्पनीले विगतमा गरेको कामको भुक्तानी पनि ३६ करोड बढी पाउन बाँकी रहेको छ । ‘विगतमा काम गरेको भुक्तानी र भेरिएसनको नभई कसरी काम गर्ने ?’ पुल निर्माण कम्पनी श्रेष्ठ सिएफइसी जेभीका ईन्जिनियर किशोर पाण्डेयले भने, ‘हामीले ठेक्का तोड्ने प्रक्रिया अघि बढाइसकेका छौं, तर विभागले रोकेको छ ।’
इन्जिनियर पाण्डेयले तत्काल भेरिएसन भए पनि यो वर्ष काम गर्न सकिने अवस्था नरहेको बताए । उनका अनुसार महाकालीमा पानीको बहाव बढ्नु अगावै काम सकिने अवस्था नभएकाले अर्को आर्थिक वर्षमा मात्रै काम गर्न सकिने उनले बताए ।
दुई वर्षअघि महाकालीको बाढीले गाइडबण्ड भत्काएपछि उक्त क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा गरेर नेपाली सेनामार्फत काम गरिएको थियो । सेना मार्फत गाइडबण्ड मर्मत र महाकालीको धारलाई बिच भागमा बगाउन च्यानलाइजेसनको काम गरिएको थियो । त्यसबाहेक अन्य काम हुन सकेको छैन ।
अहिले आयोजना अन्तरगत केही खण्डमा पहुँच मार्ग कालोपत्रेको काम बाँकी छ । यसका साथै गाइडबण्ड निर्माणको काम पनि बाँकी छ । गड्डाचौकीदेखि दोधारा चाँदनी नगरपालिका–१ को मलेरिया नालासम्म ६ लेनको ८ किलोमिटर पहुँच मार्ग निर्माण गर्नुपर्ने हो ।
२०७४ भदौमा ३ वर्षभित्र काम सक्नेगरी ३ अर्ब २७ करोडमा कुमार क्षेष्ठ सिएफईसी जेभीसँग ठेक्का सम्झौता भएको थियो । कोरोना संक्रमणदेखि महाकाली नदीमा पानीको बहाव बढी भएका कारण नियमित काम हुन नसकेको हो । पछिल्लो समय दुई वर्षदेखि भेरिएसनमै अल्झेर निर्माण कार्यले गति लिन सकेको छैन ।
पुलको दुवैतर्फ ६ सय मिटर चौडा र २८ सय मिटर लम्बाईका दुई पोखरी निर्माण गर्नुपर्ने पुलको डिजाइनमा छ। उक्त पोखरीको गाइडबण्ड ठूला ढुंगाबाट निर्माण गर्नुपर्ने सुरुको डिजाइन थियो । तर निर्माण कम्पनीले ठूला ढुंगा नपाएपछि डिजाइन परिवर्तन गरेर ग्राभेल र कंक्रिटको गाइडबण्ड बनायो । पछिल्लो समय उक्त गाइडबण्ड पनि महाकालीको बाढीले भत्काएपछि अहिले फेरी डिजाइन परिवर्तन गरिएको आयोजनाले जनाएको छ ।
‘ठेकेदार कम्पनीले ठेक्का तोडने प्रक्रिया अघि बढाएको छ, त्यो विचाराधीन छ,’ सडक विभागको सडक सुधार तथा विकास आयोजना निर्देशनालयका आयोजना निर्देशक थानेश्वर खत्रीले भने, ‘रोकिएको काम कसरी अगाडि बढाउने भन्ने विषयमा अहिले नै कुनै निर्णय भइसकेको छैन ।’ उनले विगतमा सेनामार्फत काम गरेजस्तै यस पटक पनि बाढी अगावै काम गरिने जानकारी दिए । सेनामार्फत काम गराउँदा खक्री सत्रिय रुपमा खटिएका थिए ।
सेनाले त्यतिबेला गाइडबण्डका लागि खरिद गरेका ग्याबिन जालीलगायतका सामग्री अहिले निर्माण कम्पनीको क्याम्पमा राखिएका छन् । स्रोतका अनुसार एक करोड बढीका निर्माण सामग्री क्याम्पमा राखिएको छ । कुनै पनि आयोजनाले भेरिएसन गर्दा १५ प्रतिशतसम्म विभागबाटै हुन्छ । त्यसभन्दा माथि २५ प्रतिशतसम्म सम्बन्धि मन्त्रालयको सचिवले र २५ प्रतिशत भन्दा पनि बढीको भेरिएसन मन्त्रिपरिषद्बाटै गराउनुपर्ने हुन्छ ।
गाइडबण्डको भेरिएसन पनि २५ प्रतिशत भन्दा बढी भएकाले मन्त्रिपरिषद्बाट पास गराउन धेरै प्रयास भए पनि छोटोछोटो समयमा सरकार फेरिँदा हुन नसकेकाे प्राविधिकहरु बताउँछन् । ‘अहिले हामी पोहोरभन्दा राम्रो अवस्थामा छौं, अझै दुई महिना भन्दा बढी समय छ,’ उनले भने, ‘विगतमा विभिन्न कारणले भेरिएसन गर्न सकिएन, अब केही न केही ठोस निर्णय हुन्छ ।’ उनले अहिले पनि विभिन्न विकल्पमा छलफल चलिरहेको बताए ।
२०७४ मा ३ अर्ब २७ करोडमा ठेक्का सम्झौता भए पनि हालसम्म निर्माणमा मात्रै ३ अर्ब ७७ करोड खर्च भइसकेको छ । मुआब्जामा पनि ६८ करोड खर्च भइसकेको पुल आयोजनाले जनाएको छ । गत वर्ष सेनामार्फत बाढीबाट जोगाउनका लागि २९ करोड बढीको काम गरिएको थियो ।
